हाल कुल लगानी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । वार्षिक ३ अर्ब ६८ करोड व्यापार हुन्छ ।
जब तिहार आउँछ अनि नेपालमा फूल तथा फूलखेतीको बहस चल्छ । तिहार नै फूलको कारोबार हुने मुख्य समय भएकोले पनि यो बेला फूल तथा फूलको कारोबारले चर्चा पाउनु पनि स्वभाविकै हो । यो वर्ष तिहारमा नेपाली पुष्प व्यवसायीले ४० करोड रुपैयाँ बराबरको फूल तथा माला बिक्री गरेको तथ्यांक छ । यो तथ्यांक कारोबार गर्नेहरूको मात्र हो । देशभर धेरै माला प्रयोग हुन्छन, आफ्नै बारीको फूल प्रयोग गरी माला बनाउनेको तथ्यांक भने यसमा छैन ।
व्यवसायिक फूल खेतीको सुरुआत
२०११ सालमा लाजिम्पाटमा एउटा नर्सरीको स्थापना भएको रहेछ । त्यहाँबाट फूल खेतीको व्यावसायिक सुरुआत भएको देखिन्छ । बिस्तारै बढदै जाँदा २०४९ सालसम्म आइपुग्दा पनि काठमाडौँमा १०–१२ वटा जति मात्र नर्सरी खुलेका रहेछन । २०४९ सालमा नेपालमा फ्लोरिकल्चर एसोसिएसन नेपालको स्थापना हुँदा संस्थामा कार्यसमितिको लागि व्यवसायी नपुगेर अन्य किसानहरू जस्तै गाईपाल्ने तथा खेती गर्नेलाई समेत ल्याएर सदस्य बनाइएको इतिहास छ । हाम्रो विधानमा फ्लोरिकल्चर एसोसिएसन नेपालको संरक्षक राजपरिवार हुनेछ भनेर लेखिएको रहेछ । नेपालमा फूल खेती बिस्तारमा राजपरिवारको पनि महत्वपूर्ण योगदान छ । अलि सौखिन हुने भएकाले होला राजपरिवारको चासो फूलमा धेरै नै हुन्थ्यो । अहिले भने भूपू अध्यक्ष र संस्थापक सदस्य रहेको सभापति परिषद्लाई संस्थाको संरक्षक बनाइएको छ ।
२०५३ सालेदेखि गोदावरी फूलको प्रदर्शनीमा राजपरिवारले सहयोग गर्दै आएको थियो । यस्ता प्रदर्शनीमा राजदरबारले सिधै आर्थिक सहयोग गर्दै आएको थियो । २०५३ देखि २०६२ सालसम्म लगातार राजदरबारकै सहयोगमा गोदावरी फूलको प्रदर्शनी भएको थियो ।
२०५१ सालदेखि नै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले राष्ट्रिय स्तरको पुष्प प्रदर्शनी गर्दै आएको थियो । प्रदर्शनी सुरुआत भएदेखि नै बजारले फड्को मार्दै गएको देखिन्छ । ६० को दशकमा आउँदासम्म लगभग २०० को हाराहारीमा व्यवसायीको संख्या पुगेको देखिन्छ । सबैभन्दा बढी ६० देखि ८० को २० वर्षमा व्यवसायीको संख्या र बजार बढेको देखिन्छ ।
हाल यो संस्थाको सदस्य ६८२ जना पुगेका छन् । देशभर सदस्य नभएका पनि हेर्दा करिब १ हजार १७४ जनाले पुष्प व्यवसाय तथा फूल खेती गरेको पाइन्छ । गत वर्ष संकलन गरेको तथ्यांकअनुसार ५२ जिल्लामा फूल खेती भइरहेको छ । देशभर हाल २६० हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ । यो पहिलाको तुलनामा बढेको हो । आव २०७९/०८० सम्म २२१ हेक्टर क्षेत्रफल मात्रै थियो ।
२०७७/०७८ मा ४४ जिल्लामा ७५३ व्यवसायी थिए भने, त्यो संख्या बढेर आर्थिक वर्ष २०८०/०८१ मा ५२ जिल्ला खेती बिस्तार भएको छ । व्यवसायीको संख्या १ हजार १७४ पुगेको छ । हाल कुल लगानी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । वार्षिक ३ अर्व ६८ करोड व्यापार हुन्छ भन्ने आधिकारिक तथ्यांक छ । तर, अनौपचारिक (अवैध भित्रिएको समेत) कारोबार हेर्ने हो भने १० अर्बको कारोबार हुन्छ भन्ने हाम्रो अनुमान छ । यस क्षेत्रमा ५१ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
फूल पनि बिक्री हुन्छ ?
पुष्प व्यवसायमा नर्सरी क्षेत्र, कट फ्लावर, कट फ्लावर बिक्री केन्द्र, ल्यान्डस्केप, इनपुट सप्लायर्सहरू गरी विभिन्न विधाहरू छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको संस्थापक राजेन्द्र राईले कटफ्लावर ग्याडलसको फूल फूलाएर बिक्रीको लागि राख्दा फूल पनि बिक्री हुन्छ र भनेर अचम्म मानेको अनुभव सुनाउनुहुन्छ । त्यो २०४९ सालतिरको कुरा हो । त्यो भन्दा अगाडिको समयमा खासै फूल बिक्री भएको देखिँदैन । विशिष्ठ परिवार तथा राजपरिवारका सदस्य विदेश घुम्न जाँदा, विदेशमा राम्रो देखेर फूलका विरुवाहरू खरिद गरेर नेपाल भित्र्याएको पनि पाइन्छ । दीप नरसिंह राणाले जापानबाट ल्याएर गोदावरीमा रोपेको कारण त्यो फूलको नाम नै गोदावरी रहन गएको इतिहास पनि छ ।
अहिलेको अवस्थामा पनि विश्व बजारलाई हेर्दा नेपालमा फूलको बजार तथा खेती त एकदमै सानो छ । सर्वसाधारणले फूल किन्न थालेको २०६० सालदेखि मात्रै हो । यो बीचमा फ्लोरिकल्चर एसोसिएसन नेपालले पनि धेरै काम गरेको छ । बजारीकरणको लागि, फूल उत्पादनका लागि तालिम तथा अनुदानको कार्यक्रम राखेर सरकारले पनि सहयोग गरेको छ । यो सँगै उत्पादन पनि बढ्याे , बजार पनि बढ्यो । अहिले पनि पूर्ण रूपमा आत्मनिर्भर हुन सकिएको छैन । झण्डै १० प्रतिशत पुष्पजन्य बस्तु अपुग छ ।
फूलको विश्व बजार
विश्व बजारमा नेदरल्यान्डले वार्षिक करिब ७ खर्ब नेपाली रुपैयाँ बराबरको कारोबार गर्ने रहेछ । फूलको सबैभन्दा ठुलो बजार नेदरल्यान्ड हो । उसले संसारभरबाट फूल किन्छ र अरूलाई बेच्छ । त्यहाँको आन्तरिक खपत भने कम छ । उसले गर्ने व्यापारको १० प्रतिशत मात्र आन्तरिक खपत हुन्छ, भने ९० प्रतिशत निर्यात गर्ने गरेको छ । तर हाम्रोमा उत्पादन भएको सबै फूल आन्तरिक नै खपत हुन्छ । सबैभन्दा बढी बिरुवा तथा फूलको प्रयोग गर्नेहरू मध्यपूर्वका देशसहित अमेरिका, भारत तथा चीन लगायतका देश छन् । अर्थतन्त्रमा फूलबाटै ठुलो योगदान गरेका देशहरूमा नेदरल्यान्ड, साउथ कोरिया, भारत र चीन रहेका छन् ।
स्थानीय तह र फूल खेती
२०७४ सालमा देश संघीयतामा गएपछि कृषिका सबै कार्यक्रमहरू तथा अधिकार प्रदेश सरकार र स्थानीय तहमा गए । बढी मुनाफा आउने बाली कुन हो त भनेर स्थानीय तहले अध्ययन गर्दा फूलखेती देखिएपछि नयाँ पुस्ता पनि आकर्षित भएको छ । १ बिघामा फूल खेती गर्दा अन्य खेतीको तुलनामा सयगुणासम्म फाइदा छ भनेर १ जना यसै क्षेत्रका विज्ञले लेखेका पनि छन् । अहिले फूलको बजार रहेछ, भनेर स्थानीय तहले पनि बुझ्न थालेका छन् ।
फूलखेतीमा सबैभन्दा अगाडि धनगढी उपमहानगरपालिका देखिएको छ । अघिल्लो कार्यकालमा खासै काम नभए पनि नयाँ मेयर गोपाल हमाल आएपछि हालसम्म ३ वटा तालिम नै सञ्चालन गरिसकेका छन्, भने धनगढीलाई फूलमा आत्मनिर्भर बनाएका छन् । धनगढीमा बिक्री नभएको स्थानीय फूल काठमाडौँसम्म आएको थियो । धनगढीका मेयर हमालले जहाजमार्फत काठमाडौँमा फूल पठाएको उदाहरण पनि छ ।
त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिकाले फ्लोरिकल्चर एसोसिएनसँग सहकार्य गरेर सयपत्री फूल खेती तालिम गराएको थियो । यस वर्षको तिहारमा बढैयातालमा एकदमै राम्रो सयपत्री फूल उत्पादन भयो । अरू स्थानीय तहहरूले पनि यसमा काम गरिरहेका छन् । मुख्य मुख्य भन्नुपर्दा भरतपुर महानगर, इलाम नगरपालिका, तिलोत्तमा नगरपालिकालगायत छन् । स्थानीय सरकारले फूल खेती तथा बजारलाई ध्यान दिन थालेसँगै व्यवसायी तथा किसानमा पनि मनोबल बढेको छ । स्थानीय सरकारहरूको सहयोग र राम्रो प्रतिफल आउने भएपछि युवापुस्ता पनि आकर्षित भएका छन् ।
स्थानीय सरकारहरूले माटो सुहाउँदो फूल खेती गर्नका लागि आवश्यक अनुसन्धान गर्न आवश्यक छ । त्यस्तै, जनताको उत्पादन बजारसम्म पुर्याउने तथा बजारको लागि पहल गर्ने कामदखि कृषि तथा फूलखेतीमा लागेकाहरूलाई प्रोत्साहन गर्ने काम स्थानीय सरकारले गर्न सक्दछन् । बिउवीजन तथा फूलको व्यावसायिक तालिम सञ्चालन गरिदिए युवायुवती जागिर खोज्दै भाैतारिनु पर्दैन ।
संघीयतापछि फस्टाउँदै फूल खेती
संघीय सरकारले २०७४ सालभन्दा अगाडि कृषिसँगै फूलसँग सम्बन्धित विषय हेर्ने गरेको थियो । त्यतिबेला पुष्प हेर्ने देशभरमा एउटा मात्र निकाय थियो पुष्प विकास केन्द्र । जो १ जना उपसचिवको नेतृत्वमा थियो । त्यो दरबन्दी पनि पछि थप भएको थियो । त्यो भन्दा अगाडि त शाखा अधिकृतको भरमा देशभरको पुष्प व्यवसाय तथा खेतीको काम भइरहेको थियो । हरेक जिल्लामा कृषि विकास कार्यालय भए पनि फूलको क्षेत्रमा खासै काम हुन सकेको थिएन । त्यतिबेला संरचना पनि सानो, बजेट अभाव लगायतका समस्या थिए ।
देश संघीयतामा गइसकेपछि केन्द्रीय सरकारले खासै बजेट विनियोजन नगरे पनि ७ वटै प्रदेश सरकारले विनियोजन गरेको बजेट बढी छ । त्यसको सही सदुपयोग हुनुपर्यो । देशका कुनाकुनासम्म फूल खेती व्यावसायिक बन्दै गएको छ ।
एसोसिएसनको तर्फबाट हाल हामीले धेरै सहकार्य वागमती प्रदेश सरकारसँग गरिरहेका छौँ । हामीले २०७४ सालदेखि नै सहकार्य गरिरहेको छौँ । वागमती सरकारले हरेक वर्ष यो क्षेत्रमा १ करोडभन्दा बढी बजेट विनियोजन गर्ने गरेको छ, तर कार्यान्वयनको पाटो एकदमै फितलो छ । प्रदेश सरकारले सरोकारवालासँग छलफल नै नगरी कार्यक्रम तय गर्दा बजेट विनियोजनको तुलनामा उपब्धि कम छ ।
हामीले विगतदेखि यस क्षेत्रमा काम गर्दै आएका छौँ तर हामीसँग छलफल नै नगरी आफैँ कार्यविधि बनाएकाले खासै प्रतिफल आएको देखिँदैन । गत वर्ष पनि ९० लाख रुपैयाँ बराबरको सयपत्री फूल खेतीको कार्यक्रम थियो । त्यो त्यति प्रभावकारी भएन । आवश्यकताको पहिचान गरेर काम गरेको भए राम्रो प्रतिफल आउँथ्यो । यसवर्ष बागमती सरकारअन्तर्गत मात्रै साढे २ करोडको प्रस्ताव आव्हान भएको छ । त्यस्तै अरू प्रदेशहरूले पनि गर्दा ५ करोडसम्मको कार्यक्रम देशभर होला । यसरी हेर्दा देश संघीयतामा गएसँगै गाउँगाउँमा फूल खेती बढेको छ । व्यवसायी पनि बढेका छन्, बजार पनि बढेको छ ।
५ वर्षे अनुदान कार्यक्रमले ल्याएको परिवर्तन
त्यतिबेला कहाँ के गर्ने भन्ने दोधार नै थियो । यसकै बीच फ्लोरिकल्चर एसोसिएसन आफैँ लागेर २०७१ देखि ०७४ सालसम्म संघीय सरकारसँगको सहकार्यमा ५ वर्षे कार्ययोजना निर्माण गरेर अनुदानको कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यो कार्यक्रमले देशभरका फूल किसानहरू लाभान्वित भए ।
त्यतिबेला विदेशबाट विभिन्न देशबाट विशेषज्ञहरू झिकाएर नेपालमा फूलखेती बिस्तार हुन नसक्नुको कारण खोजी गर्दा भौतिक संरचनाको अभाव देखियो । भौतिक संरचना सुधार गरे राम्रो प्रतिफल दिने सुझाव उनीहरूले दिए । त्यो भन्दाअगाडि सानो सानो बाँसको टनेलाहरूमा खेती हुँदै आएको थियो । संघीय सरकारको सहयोगमा त्यतिबेला देशका लगभग धेरै ठाउँमा टनेलहरूको सुधार गर्याे । त्यसपछि मात्र नेपालको फूल खेतीले गति लिएको हो । त्यो ४ वर्षको समयमा हामीले विभिन्न तालिम पनि लियौँ । फूलखेती सुधारमा सरकारले पनि राम्रो सहयोग गर्यो ।
कुन प्रदेशमा कस्तो फूलखेती ?
७ प्रदेशमध्ये कोसी र मधेस प्रदेशमा फूलखेतीमा खासै काम हुन सकेको छैन । यसको मुख्यकारण भारतसँगको खुला सिमाना हो । हाम्रो उत्पादन लागत अलि बढी हुने भारतको उत्पादन लागत कम हुने भएपछि उताबाट आएको फूल स्वभाविकै सस्तो हुन्छ । यस्तो अवस्थामा खुला सिमानाबाट अबैध रूपमा आएको फूल तथा मालाका कारण यी २ प्रदेशमा चुनौती छ । मधेस प्रदेशमा फूलको काम गर्न सरकार इच्छुक भए पनि काम गर्ने किसान नै पाइएन । यता काम गर्नुभन्दा उता(भारत)बाट ल्याएर बेच्दा फाइदा देखेर कोही पनि खेती गर्ने जोखिम उठाउन तयार छैनन् ।
कोसी प्रदेशमा भने बिस्तारै फूल खेती बढ्दै गएको छ । म अध्यक्ष भएर आएपछि सबै प्रदेशसँग समन्वय गर्ने मौका पाएको थिएँ । कोसी र मधेस बाहेकका प्रदेशमा बिस्तारै कार्यक्रम तथा बजेट बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशको कुरा गर्दा एकदमै राम्रो बनेको छ । त्यहाँको धनगढी उपमहानगरले त धेरै नै ध्यान दिएको छ । १ जना मेयरले मात्रै पहल गर्दा पनि धनगढीले फूल खेतीमा क्रान्ति नै गरेको छ ।
समस्या र चुनौती
सहरमा जग्गा छैन, गाउँमा उत्पादन गरेर सहरमा ल्याउन ठुलो समस्या छ । पुष्प व्यवसायमा ठुलो समस्या भनेको बजारको हो । महँगो भाडा तिरेर ४ आना जग्गामा फूल खेती गरेर आउटलेट सञ्चालन गर्नुपरिरहेको छ । आनाको करोड पर्ने जग्गा हामीलाई खेती गर्न तथा आउटलेट राख्न सस्तोमा दिनुहोस् भन्न पनि मिल्दैन । महँगो भाडा तिरेर काम गर्न सकिँदैन । सहर साह्रै महँगो भएको छ । अब सहरभन्दा बाहिर जानुपर्ने अवस्था छ ।
उत्पादन त जता गरे पनि भयो तर बेच्ने ठाउँको समस्या छ । महँगो भाडा तिरेर बेच्ने ठाउँ लिन पनि सकिँदैन । सबैभन्दा पहिला हाललाई फूलको एउटा फ्लोरिकल्चर बजार आवश्यक छ । देशभर उत्पादन भएका फूल ल्याएर बिक्री गर्ने गरी एकीकृत बजार चाहिन्छ । उपभोक्तालाई पनि फूल कहाँ पाइन्छ भनेर खोज्दै हिँड्नु नि परेन । व्यवसायी चर्को भाडा तिर्न नसकेरपलायन हुने अवस्थामा छन् । गाउँमा उत्पादन गरेर सहरसम्म ल्याउन यातायात र प्याकिङको पनि समस्या छ ।
नीतिगत समस्या पनि छ । पुष्प प्रवद्र्धन नीति २०६९ मा जारी भएको थियो तर २०७४ सालमा देश संघीयतामा गयो । त्यो नीति कार्यान्वयनमा छैन । त्यो नीतिलाई सातै प्रदेश, ७५३ वटा स्थानीय सरकारले लागू गर्नसक्ने गरी समयसापेक्ष पुनर्लेखन गर्नुपर्दछ ।
फूल आयात, निर्यात र सम्भावना
आर्थिक वर्ष २०८०/०८१ मा २७ करोड रुपैयाँभन्दा बढीको पुष्प तथा पुष्पजन्य बस्तु आयात भएको छ भने, १ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आव २०७७/०७८ मा ४० करोड रुपैयाँ बराबरको बस्तु आयात भएको थियो भने ५३ लाखको निर्यात भएको थियो । कोभिड–१९ को माहामारीभन्दा अगाडि नेपालबाट वार्षिक १९ करोडसम्मको फूल निर्यात गरेको तथ्यांक छ । कोभिड–१९ पछिको अवस्थामा निर्यात एकदमै घट्दो अवस्थामा थियो, हाल बिस्तारै बढ्दै गएको छ ।
कोभिड–१९ को माहामारीभन्दा अगाडि नेपालबाट गुलाब जापान निर्यात हुन्थ्यो । त्यतिबेला गुलाबसहित १९ करोडको फूल निर्यात भएको थियो । फूलको गानोहरू अहिले पनि युरोप जाने गर्छ । अघिल्लो वर्ष लिली फूल उत्पादन गरेर कतार पठाएका थियौँ । अहिले सम्भावना भएको चाहिँ ‘युकालिप्टस’ हो । त्यसलाई सिल्भर डलर पनि भन्ने गरिन्छ । यसको माग विश्व बजारमा अधिक छ, कुल मागको ३० प्रतिशत मात्र उत्पादन विश्वमा छ । यसको खेती नेपालमा पनि गरेर निर्यात गर्न सकिने ठुलो सम्भावना छ । सिल्भर डलरको पात सजावटमा प्रयोग हुने रहेछ । यो मसलाजातको विरुवा हो । त्यसको एउटा भेराइटी सिल्भर डलर हो । त्यसको खेती नेपालमा पनि सुरु भइसकेको छ । अध्ययन गरेरै मकवापुर जिल्लामा यसको खेती सुरु गरिएको छ । एकपटक रोपेको विरुवाले ५० वर्षसम्म आम्दानी दिने गर्छ । सुकेपछि पनि त्यसको पात बिक्री हुने गर्छ । यसको पात ड्राइफ्लावरमा काम लाग्ने रहेछ ।
खेर गइरहेको फूलको सदुपयोग
तिहारको समयमा एकैपल्ट ठुलो मात्रामा फूल उत्पादन हुने र बिक्री नभएपछि फाल्नुपर्ने अवस्था छ । यो समस्या समाधान गर्न खेर गइरहेको फूलको सदुपयोग गर्न अहिले हामीसँग पूर्वाधार छैन् । गत वर्ष सयपत्री फूल बेस्सरी फालियो । त्यसपछि बनस्पति विभाग, नार्क लगायतका निकायले चासो देखाएका थिए । सयपत्री फूलबाट ल्युटिन निकालेर सौन्दर्यको सामग्री र बहुउपयोगी तेल निकाल्न सकिने रहेछ । त्यो तेलको निर्यात गर्न सकिने भनेर तालिम पनि सञ्चालन गरिएको थियो । तर कति प्रभावकारी भयो त्यो विषय मलाई जानकारी छैन ।
करिब १० वर्षअगाडि हामीले सयपत्री फूलको ‘पिगमेन्ट’ निकालेर युरोप निर्यात गर्न सकिने अध्ययन गरेका थियौँ । पिगमेन्टको प्रयोग युरोपमा कुखुराको दानामा प्रयोग हुँदो रहेछ । त्यस्तै, यसवर्ष मात्र खेर गएको सयपत्री फूलबाट धूप बनाउने काम पनि भइरहेको छ ।
फूलको बिउवीजन
नेपालमा खेती हुने लगभग सबै फूलको बिउवीजन विदेशबाटै आयात हुन्छ । बिउवीजनमा वार्षिक राम्रै रकम बाहिर गइरहेको छ । हामी ९० प्रतिशत आत्मनिर्भर भएको र १० प्रतिशत आयात भनिरहेका छौँ । त्यो आयात भनेकै बिउवीजन र साना टिस्युकल्चरको बिरुवा हो । हाइब्रिट बिउ संसारका केही मुलुकले मात्र उत्पादन गरिरहेका छन् । जसमा मुख्य मुख्य अमेरिका, जापान, थाइल्यान्ड, नेदरल्यान्ड लगायतका छन् ।
प्रतिक्रिया