सामान्यतः २५ देखि ५० वर्षसम्म पुरुषमा पुरुषत्व रहन्छ । यही उमेरमा स्त्रीहरू पनि कर्मकठोर हुने हुनाले यो उमेरलाई उत्तम उमेर भन्ने गरिन्छ । २७ वर्षदेखि ५० वर्षका बीचमा जसको सन्तान हुन्छ, त्यसलाई उत्तम उमेर भनिन्छ । (अर्थात् सन्तान जन्माउने उत्तम उमेर भनेको पुरुषका लागि २५–५० तथा स्त्रीका लागि २७–५० हो ।) अझ स्पष्ट पार्दै भनिएको छ, ‘२४ देखि ३७ वर्षसम्मकी मध्यम अवस्थाकी स्त्री पूर्ण अवस्थामा पुगेकी हुन्छे । यो नै स्त्रीको सन्तान जन्माउनका लागि उत्तम उमेर हो ।’
वैदिक सनातन संस्कृति होस् या अन्य धर्मावलम्बीहरूको संस्कृति होस् सबैमा विवाहका चालचलन रीतिरिवाज फरक फरक रहेको पाइन्छ । समाजमा हुनेगरेका कतिपय संस्कारहरू र अहिलेको कानुनले गर्न नदिने कतिपय कुराहरू त्यसबेला गर्नुका पछाडि धार्मिक कारण मात्र पाइन्छ । तर त्यसको पुष्टि हुने सामाजिक कारण भने प्रष्ट उल्लेख भएको देखिँदैन । अनुमानका भरमा गरिएका आधुनिक व्याख्याकारका भनाइ भने प्रशस्त रहेका छन् जुन शास्त्रमा भेटिएका छैनन् । यहाँ वैदिक सनातनीका प्राचीन ग्रन्थहरूमा विवाहका बारेमा भएका फरकफरक दृष्टिकोणको बारेमा चर्चा गर्न खोजिएको छ ।
विवाहको उमेर सम्बन्धमा :
स्मृतिग्रन्थका अनुसार उत्कृष्ट वर भेट्टिएको अवस्थामा कन्या पूर्ण युवती नहुँदा पनि विधिपूर्वक विवाह गर्नु अनुचित हुँदैन भनिएको छ । सतित्व जोगाउनुपर्ने जस्ता संकटमा २४ वा ३० वर्षको केटोलाई ८ वा १२ वर्षकी कन्या विवाह गरेर दिन पनि हिचकिचाउनु हुँदैन भनी व्याख्या गरिएको छ ।
त्यसैगरी संवत्र्तस्मृतिका अनुसार कन्याका मातापिता तथा जेठा दाजु कन्या रजस्वला भएको देखेर नरकमा पर्दछन् । यसकारण कन्या रजस्वला नहुँदै उनको विवाह गर्नू । आठ वर्षकी कन्याको विवाह श्रेष्ठ मानिएको छ । पराशरस्मृतिमा भने १२ वर्षकी हुँदा पनि कन्याको जसले विवाह गरी दिँदैन त्यसका पितृस्वयं प्रत्येक महिनाको त्यस कन्याको रज पिउन बाध्य हुन्छन् । माता, पिता र जेठो दाजुसमेत तीनै जना रजस्वला कन्यालाई देखेर नरकमा जान्छन् ।
अज्ञानताले असमञ्जसमा परेको जो ब्राह्मण ती कन्यालाई विवाह गर्दछ, शूद्राको पति मानिने ऊ न बोल्न योग्य हुन्छ न त ब्राह्मणका पंक्तिमा भोजन गर्न योग्य हुन्छ भनी व्याख्या गरिएको छ ।
गौतमस्मृतिमा ३ रजोदर्शनभन्दा पहिला कन्यादान नगर्ने दोषी हुन्छ । कसैकसैको मतमा जसले कपडा लगाउन जान्नुभन्दा पहिले कन्याको विवाह गर्दैन ऊ दोषको भागी हुन्छ भनिएको छ । नारदस्मृतिमा कन्याले आफू रजस्वला भएको उपेक्षा नगरी कन्यादानका लागि बान्धवलाई भन्नुपर्दछ । यो कुरा थाहा भएर पनि यदि ती कन्यादान दिँदैनन् भने ती भ्रूणहत्यारा हुन्छन् । पतिबिना कन्याका जति ऋतु बित्दछन् त्यति नै भ्रूणहत्याको पाप उनको कन्यादान नगर्नेलाई हुन्छ । यसैले रजस्वला हुनुअघि नै पिताले कन्यादान गर्नू । अन्यथा गर्दा पितालाई महापाप हुन्छ ।
अब केही पुराणहरूका विवाहसम्बन्धी लेखिएका कुराको चर्चा गरौँ । प्रायः सबै पुराणहरूमा ब्रह्मचर्य आश्रम सकेपछि मात्र गृहस्थाश्रममा प्रवेशगरी विवाह गर्नुपर्ने विधि बताइएको छ ।
बृहन्नारदीयपुराणमा वेदको अध्ययन गर्दासम्म ब्रह्मचारी भई गुरुको सेवा गर्नू । त्यसपछि गुरुको आज्ञा लिई अग्निको आराधना गर्नू । द्विजले वेद, धर्मशास्त्र तथा वेदका अंगहरू अध्ययन गरी गुरुलाई दक्षिणा दिएपछि मात्र गृहस्थाश्रममा प्रवेश गर्नू । द्विजले रूप र सौन्दर्यले युक्त, गुणी, कुलीन, असल शीलस्वभावकी तथा धर्म अनुसारका आचरण गर्ने भएकी कन्यासँग विवाह गर्नू भनेर लेखिएको छ ।
अन्य पुराणहरूमा पनि विद्या आर्जन गरिसकेपछि विवाह गर्नुपर्ने कुरा उल्लेख गरिएका छन् । पढेर कहिल्यै सकिँदैन, कुन उमेरसम्मलाई पढ्ने उमेर मान्ने त भन्ने सम्बन्धमा पनि प्राचीन ग्रन्थमा लचकदार नियम बनाइएका छन् ।
वेदहरूको पद तथा अर्थ विधिवत् अध्ययन सकेर विद्या–स्नान गर्नू । अथवा ४८ वर्षसम्म ब्रह्मचर्यव्रतको पालना गर्नू । केही सूत्रकारले १२ वर्षपछि व्रत समाप्त गरी विद्या–स्नान गराउने निर्णय दिएका छन् । अथवा गुरुको आज्ञा लिएर जहिले पनि विद्या–स्नान गर्न सकिनेछ । विधि, मन्त्र तथा तर्कसहित वेद अध्ययन गर्नुपर्दछ । केही आचार्यले ६ अंगसहित वेद अध्ययन गरी विद्या–स्नान गर्नुपर्ने बताएका छन् । वेदका मन्त्र–ब्राह्मण भाग मात्र अध्ययन गरेर स्नान गर्नु । अथवा यज्ञविद्याको मात्र अध्ययन गरेर स्वेच्छाले विद्या–स्नान गर्न सकिन्छ ।
१ वा २ वा ३ वा ४ वेद पढिसकेपछि गृहस्थाश्रमममा प्रवेश गरी विवाह गर्ने कुरा अन्य स्मृति र पुराणहरूमा पनि बताइएको छ ।
वेद पाठगर्नु मात्र वेद पढ्नु होइन । यो कुरा पारस्कर गृह्यसूत्रमा व्याख्या गरिएको छ । अब एउटा वेद विधिपूर्वक पढ्न लाग्ने समय कति त भन्ने प्रश्न उठ्दछ । गौतमस्मृति अनुसार एउटा वेद राम्ररी पढ्न १२ वर्ष लाग्दछ भनिएको छ । त्यसमा भनिएको छ, ‘१–१ वेद पढ्न १२–१२ वर्ष लगाउनू र यो अवधिसम्म ब्रह्मचर्यको पालना गर्नू । अथवा जबसम्म सबै वेद ग्रहण हुँदैन तबसम्म ब्रह्मचर्यको पालना गर्दै पढिरहनू ।’ यसकारण ४ वेद पढ्न ४८ वर्ष लाग्ने भएकाले यो उमेरसम्म ब्रह्मचर्यको पालन गर्नु भनिएको छ ।
प्राचीन समयमा व्रतबन्ध गरेपछि व्रतबन्धस्थलबाटै गुरुले लगेर गुरुकुलमा वेद आदि पढाउने चलन थियो । व्रतबन्ध गर्ने उमेर वर्णअनुसार ७ वर्षदेखि बढीमा २४ वर्ष तोकिएको छ । व्रतबन्ध गर्ने उमेर सम्बन्धमा व्यासस्मृतिमा यसरी व्याख्या गरिएको छ । गर्भ रहेदेखि गनी ८ वर्षको हुँदा ब्राह्मणको, ११ वर्ष हुँदा क्षत्रियको र १२ वर्ष हुँदा वैश्यजातिको उपनयन संस्कार गर्नु उचित हुन्छ । समय बिती दोब्बर समय पुग्दा पनि उपनयन नगरे ऊ वेद–व्रतबाट पतित भई व्रात्य हुन्छ र उसले व्रात्यस्तोम यज्ञ गर्नु पर्दछ ।
पुराणमा अन्य केही थप कुरा पनि पाइन्छ । जस्तै : विष्णुपुराणअनुसार आफ्नो एकतिहाइ अवस्था (उमेर) की कन्यासँग विवाह गर्नू । विवाह गर्ने उमेरका सम्बन्धमा ज्योतिषग्रन्थहरूको वचन भने यस्ता रहेका छन् ।
मुहूर्तचिन्तामणिको विवाहप्रकरणमा कन्या जन्मेको ६ वर्षको उमेर पछिका ८–१०–१२ जोर वर्षमा रजस्वला हुनुभन्दा अगाडि बृहस्पतिको शुद्धि गरेर एवं वरको सूर्य शुद्धि गरेर विजोर वर्षमा तथा दुवैको चन्द्र शुद्धि गरी विवाह गर्नु उत्तम हुन्छ । नारदसंहितामा जन्मबाट जोर वर्षमा केटीको र विजोर वर्षमा पुरुषको विवाह शुभ हुन्छ । यसको उल्टो भए दुवैको नाश हुन्छ भनिएको छ ।
विवाह गर्ने उमेरका सम्बन्धमा प्राचीन आयुर्वेदका ग्रन्थहरूको भनाइ भने अलि फरक छ ।
जस्तै :
अष्टाङ्ग हृदयमा १६ वर्ष पुगेकी कन्याले २० वर्ष पुगेको पुरुषबाट शुद्ध गर्भाशयमा शुद्ध बाटो हुँदै शुद्ध रज र शुद्ध वीर्य धारण गर्दछे भने उसले वीर्यशाली पुत्र जन्माउँदछे । यसभन्दा कम उमेरमा सन्तान भए ती रोगी र अल्पायुका हुन्छन् अथवा सन्तान नै हुँदैनन् भनी व्याख्या गरिएको छ ।
त्यसैगरी राजवल्लभ निघण्टुमा लामो आयु चाहने स्त्री–पुरुषले १६ वर्षभन्दा कम तथा ७० वर्षभन्दा माथिको उमेरमा सहवासमा संलग्न हुन हुँदैन भनिएको छ ।
सुश्रुत संहितामा विद्याध्ययनपछि जब पुत्रको उमेर २५ वर्षको हुन्छ तब १६ वर्षकी कन्यासँग विवाह गराउनू । जसले गर्दा उसले पितृऋण, धर्म, अर्थ, काम र सन्तान प्राप्त गर्न सकोस् भनिएको छ । २५ वर्षभन्दा कम उमेरको पुरुष तथा १६ वर्षभन्दा कम उमेरकी कन्याको विवाह भई यदि गर्भाधान गरिन्छ भने त्यस्तो गर्भ पेटमा नै मर्दछ । केहीगरी जन्मिएछ भने पनि लामो समय बाँच्दैन । यदि बाँचिहालेछ भने पनि कमजोर इन्द्रियको हुनेछ । यसैले अति कम उमेरकी कन्यामा गर्भाधान नगर्नू । त्यसैगरी अति बूढी, दीर्घरोगी वा अरू कुनै कडा रोग लागेकी स्त्रीमा पनि गर्भाधान नगर्नू । यस्तै दोष वृद्ध र रोगी पुरुषमा पनि हुन्छ ।
हारीत संहितामा यस्तै कुरा लेखिएका छन् । सामान्यतः २५ देखि ५० वर्षसम्म पुरुषमा पुरुषत्व रहन्छ । यही उमेरमा स्त्रीहरू पनि कर्मकठोर हुने हुनाले यो उमेरलाई उत्तम उमेर भन्ने गरिन्छ । २७ वर्षदेखि ५० वर्षका बीचमा जसको सन्तान हुन्छ, त्यसलाई उत्तम उमेर भनिन्छ । (अर्थात् सन्तान जन्माउने उत्तम उमेर भनेको पुरुषका लागि २५–५० तथा स्त्रीका लागि २७–५० हो ।) अझ स्पष्ट पार्दै भनिएको छ, ‘२४ देखि ३७ वर्षसम्मकी मध्यम अवस्थाकी स्त्री पूर्ण अवस्थामा पुगेकी हुन्छे । यो नै स्त्रीको सन्तान जन्माउनका लागि उत्तम उमेर हो ।’
यस सम्बन्धमा कामशास्त्रको वचन पनि माथि बताइएका वचनहरूसँग नै करिब करिब मिल्दोजुल्दो पाइन्छ । युवावस्थामा ग्राम्यधर्मको आनन्द लिनू । विद्या आर्जन गर्ने उमेरमा ब्रह्मचर्यमा नै रहनु पर्दछ ।
अन्त्यमा
उल्लिखित शास्त्रीय वचनको आधारमा हेर्दा कम्तीमा १९ वर्षदेखि बढीमा ३५ वर्षसम्मलाई पुरुषको विवाह गर्ने उमेर मान्नुपर्ने देखिन्छ । स्त्रीका हकमा प्रायः शास्त्रमा सबैतिर रजस्वला हुनुपूर्व नै विवाह गर्नुपर्ने कुरा लेखिएका छन् । केही ग्रन्थका टीकामा रजोदर्शनको दोष नाश गर्न हरेक रजोदर्शन गणना गरी सोही अनुसारको कन्यादान गर्दा गोदान गर्नुपर्ने कुरा पनि उल्लेख भएको पाइन्छ ।
कुनै एउटा शास्त्रको एउटा श्लोक उद्धृत गरेर सनातन धर्मलाई गाली वा प्रशंसा गर्नु मेरो विचारमा कुवाको ब्याङ हुनु हो ।
कन्यादानका प्रसंग आउँदा मूलतः योग्य वरलाई नै कन्या दिनुपर्दछ भन्ने कुरा पाइन्छ । तर, वरले वधूको र वधूले वरको चयन गर्दा पहिले आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने हुन्छ ।
आजकल त अरू केही मतलब गरिँदैन धन मात्र हेरिन्छ । वरवधू चयन तथा विवाहसम्बन्धीका शास्त्रका आधारमा कुरा राख्दा विवादास्पद कुराहरू आउन पनि सक्छन् तर सत्यतथ्य जानकारी दिनु नै मेरो कर्तव्य हुनेछ, अन्यथा नलिनु होला ।
प्रतिक्रिया