किन अशान्त भइरहन्छ मणिपुर ?

सन् १९४७ मा अंग्रेजले भारत छोड्ने बेला मणिपुर राज्यका राजा बोधचन्द्र सिंहलाई राज्य सुम्पिदिए । त्यहाँका जनता पनि स्वतन्त्र देशको रूपमा रहन चाहन्थे । तर, सन् १९४८ मा यसै विषयमा यहाँ चुनाव भयो । मणिपुरका अधिकांश वयस्कहरू स्वतन्त्र मणिपुरको पक्षमा उभिए । तर ‘रिपब्लिक अफ इन्डिया’का नेताहरूका दबाबले सन् १९४९ मा मणिपुरलाई भारतमा विलय भएको सन्धिमा राजा बोधचन्द्र सिंहले हस्ताक्षर गरिदिए । अहिलेको अशान्तिमा त्यो ‘स्वतन्त्र मणिपुर’को ऐतिहासिक मानसिकताको बाछिटा पनि कतै न कतै हुनुपर्छ ।

चमिना भट्टराई

भारतको मणिपुरमा १ वर्षअघि महिलामाथि भएको हिंसाले विश्वको ध्यान तानेको थियो । केही समय मत्थर भएको मणिपुर फेरि हिंसातर्फ फर्केको छ । त्यहाँ मान्छे मरेको, बेपत्ता भएका घटना दिनहुँ समाचारका विषय बन्ने गरेका छन् । सन् २०२३ को मेमा भएको हिंसाका कारण मणिपुरमा २०० जनाको ज्यान गएको थियो भने हजारौँ मानिस विस्थापित भएका थिए । त्यहाँका मुख्य २ जातीय समुदाय मध्ये मैतेई समुदायले आफूहरूलाई आधिकारिक रूपमा जातीय हैसियत दिनुपर्ने माग गरेपछि अर्को कुकी समुदाय प्रदर्शनमा उत्रेको थियो । २ जातीय समूहहरूबीचको घातक द्वन्द्वका कारण मणिपुरमा सयौँले ज्यान गुमाए, कतिपय माहिलालाई नांगै पारेर गाउँ घुमाइयो, महिलाको इज्जत छताछुल्ल बनाइयो, महिलाको इज्जत लुटियो । कैयौँ बालबालिकाले ज्यान गुमाए । मानवीय आँखाले हेर्दा मणीपुरमा भएको ज्यादतिपूर्ण क्रुर हिंसा सभ्य समाजको कलंक हो ।

कुनै पनि समाज र राष्ट्रका लागि कुनै पनि जाति, धर्म, लिंग वा कुनै पनि प्रकारको ज्यादती त्यो समाजको लागि हितकर हुँदैन । मणीपुरमा जसले जुन उद्देश्यले हिंसा गर्दैछन् त्यो सभ्य समाजका लागि शोभनीय हुँदैन । अझ महिलाको अस्मिता लुट्ने र सडकमा नांगै हिँडाएको घटनाले त्यो समाज र समाजमा बस्ने मान्छेको चेतना, नैतिकता र संस्कार कति तल्लो स्तरको रहेछ भन्ने देखाउँछ । कसैको लागि पनि उसको इज्जत प्रतिष्ठा र बाँच्न पाउने अधिकार हनन् हुन हुँदैन । जातीय नाममा जुन ढंगको कार्य हुँदै छ त्यो रोकिनुपर्छ ।

केही दिनअघि मणिपुरमा महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि त्यहाँ साम्प्रदायिक हिंसा फेरि मच्चिएको छ । स्थानीय अधिकारीका अनुसार शव भेटिएका मानिसहरू मैतेई समुदायका रहेका छन् । अल्पसंख्यक कुकी समूहका मानिसले अपहरणपछि आफ्ना समुदायका मानिसको हत्या गरेको गरेको भन्ने मैतेई समूहको आरोप छ । यसलाई प्रहरीले पुष्टि भने गरेको छैन । उक्त घटनासँगै धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् । त्यस क्रममा धेरै मानिस पक्राउ परेका छन्, हजारौँ मान्छे विस्थापित भएका छन् । को कति बेला मारिन्छ, बेपत्ता हुन्छ वा कसको अस्मिता लुटिन्छ भन्ने त्रासमा बाँचेको छ मणीपुर ।

एक वर्षअघि भएको जातीय विभाजनको विषयले आक्रमणका घटनाहरू बढ्न थालेका हुन् । दुई समुदायबीच भएको हिंसामा परी सयौँ नागरिकले ज्यान गुमाए । उनीहरूबीच अधिकारका विषयमा लडाइँ भइरहेको भन्ने गरिएको छ । हिंसाले चर्को रूप लिने देखिएपछि स्थानीय सरकारले त्यहाँका विद्यालय बन्द गर्न आदेश दियो । त्यसले कति बालबालिकाको भविष्यमा असर प¥यो ? त्यसको लेखाजोखा कसले गर्ने ? कुनै पनि द्वन्द्वले महिला, बालबालिक र वृद्धालाई बढी असर पार्छ तर, त्यस्तो द्वन्द्वमा बालबालिका र वृद्धाको न रुची हुन्छ न सहभागिता नै । तर तिनै निर्बल र निहत्थाहरूको भविष्य र जीवनमाथि खेलवाड भएको हुन्छ । गत वर्ष २ महिलालाई निर्वस्त्र घुमाउँदै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा बाहिर आयो, तब त्यस इलाकामा भएका हत्या र अपराधबारे थप तथ्य बाहिर आएको हो । उक्त दृश्यले त्यहाँका नागरिकको जीवन कस्तो अवस्थामा रहेछ भन्ने देखायो र त्यसतर्फ विश्व समुदायको ध्यान आकृष्ट गरायो ।

विगतको अध्ययन गर्दा उक्त स्थानमा कुकी र मैतेई समुदायका अधिकांश आदिवासीहरू पहिले ‘प्राकृत धर्म’ मान्थे । यी समुदायहरूमा १९७० यता पश्चिमा क्रिस्चियन मिसनरीहरूले धर्म परिवर्तन गराउँदै लगे । मैतेई समुदायमा भने वैष्णव हिन्दू समुदायका समाजबाट समेत प्रतिनिधित्व गर्छन् । भारतको उत्तर पूर्वी भूभाग मणिपुरको जमिनको ९० प्रतिशत भाग पहाडले घेरिएको छ । १० प्रतिशत मात्रै समथर जमिन छ ।

सन् १९४७ मा अंग्रेजले भारत छोड्ने बेला मणिपुर राज्यका राजा बोधचन्द्र सिंहलाई राज्य सुम्पिदिए । त्यहाँका जनता पनि स्वतन्त्र देशको रूपमा रहन चाहन्थे । तर सन् १९४८ मा यसै विषयमा यहाँ चुनाव भयो । मणिपुरका अधिकांश वयस्कहरू स्वतन्त्र मणिपुरको पक्षमा उभिए । तर ‘रिपब्लिक अफ इन्डिया’का नेताहरूका दबाबले सन् १९४९ मा मणिपुरलाई भारतमा विलय भएको सन्धिमा राजा बोधचन्द्र सिंहले हस्ताक्षर गरिदिए । अहिलेको अशान्तिमा त्यो ‘स्वतन्त्र मणिपुर’को ऐतिहासिक मानसिकताको बाछिटा पनि कतै न कतै हुनुपर्छ ।

यहाँका अल्पसंख्यक कुकी समाजलाई पहिलेदेखि नै लाग्थ्यो कि बाहिरी समुदाय आएर आफ्ना वासस्थान तथा जंगलमा नोक्सान पु¥याइदिन्छन् । सन् १९४९ देखि १९७२ सम्म कुकी समुदायले आफ्नो अधिकारका लागि भन्दै सशस्त्र युद्ध लड्यो । उग्रवादी घटना बढिरहेको मणिपुरलाई भारत केन्द्र सरकारले राज्यको दर्जा दिएन । तर, भारतीय सेनाको मिसन २००८ अन्तर्गत केन्द्र सरकार, सेना र उग्रवादी कुकी समुदायबीच सन् २००८ मा सन्धिमा हस्ताक्षर भयो । त्यो सन्धि सशस्त्र बल विशेष अधिकार अधिनियमअन्तर्गत भएको थियो । तर, त्यस सन्धिबाट कुकी समुदाय पूर्णरूपमा सन्तुष्ट थिएनन् ।

कुकी समुदाय जंगल र पहाडी क्षेत्रमा बसोबास गर्छन् । जंगल, जमिन र सभ्यता बचाउने उद्घोष त्यस समाजको छ । मैतेई समाज पनि आफूलाई आदिवासी समुदाय भएको दाबी गर्छ । उनीहरू धेरैजसो सहरी र समथर क्षेत्रमा बसोबास गर्छन् । थोरै जमिनमा बस्दाबस्दै पनि उपलब्ध स्रोत साधन र सुविधाको धेरै उपभोग उनीहरूले नै गर्दै आएका छन् । जनसंख्याको हिसाबले धेरै ५३ प्रतिशत मैतेई समुदाय १० प्रतिशत जमिनमा बसोबास गर्दै आएको मानिन्छ । मैतेई समुदायले आफ्नो समुदायलाई पनि आदिवासी समुदायमा राख्न सन् २०१० यता आन्दोलन गर्दै आइरहेको छ । मैतेई समुदाय सहरमा व्यवसाय गर्न चाहन्छ र पहाडमा जमिन खरिद गर्न पाउनुपर्छ भन्ने उनीहरूको माग छ । कुकी समुदाय पहाडी जंगलको बीचमा बस्ने हुनाले सानो सानो समूहमा समुदायमा बस्छन् ।

गत ३ मेमा मैतेई समाजको भिडले ५६ वर्षका पुरुष र उनका २१ र १९ वर्षका छोरी र छोरासहित अन्य २ जना महिलालाई लछारपछार गरेर मारिदिए । भिडमा २ जना महिलालाई उनीहरूले आफ्नो कपडा खोल्न भने, जसको प्रतिवाद गर्दा २१ वर्षीय युवतीका भाइ र बाबुलाई गोली हानी हत्या गरियो । महिलाहरूलाई पनि कपडा खोलेर भिडमा लछार्दै बलात्कारपछि हत्या गरियो । यो घटनाको १५ दिनपछि मात्र प्रहरीमा घटनाबारे केस दर्ज भयो । त्यो घटनामा ३०० जति चर्च जलाइए । यस घटनापछि धेरै मान्छे तितरबितर भए । साम्प्रदायिकताले सिर्जना गरेको घृणाले मानिसलाई कतिसम्म क्रूर र निकृष्ट बनाउँदो रहेछ भन्ने कुरा मणिपुरका पछिल्ला घटनाले पुष्टि गर्छन् ।

यतिबेला मणीपुर शान्त पारेर नागरिकलाई सहज जीवन बनाउनुको सट्टा मणिपुर राज्य सरकारले ‘इन्टरनेट सटडाउन’ को घोषणा गर्दै त्यहाँका ७ जिल्लामा पूर्ण रूपमा इन्टरनेट सेवा बन्द गरिदिएको छ । ‘राष्ट्रविरोधी र समाजविरोधी तत्वका योजना र गतिविधि नियन्त्रण’ गर्न यो कदम चाल्नुपरेको भन्दै सरकारले विज्ञप्ति जारी गरेको छ । हिंसा सुरु भएसँगै सामाजिक सञ्जालमा भौतिक संरचनामाथि आगजनी र तोडफोड, गोलाबारी, पसलमा तोडफोड गरी हतियारबद्ध समूह बस्तीमा पसेर आतंक फैलाएको जस्ता भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए । अहिले पनि पूर्णरूपमा हिंसात्मक घटना रोकिएको छैन । सञ्चारकर्मीहरूसमेत निर्वाध कार्यक्षेत्रमा पुग्न सकेका छैनन्, जसका कारण हिंसाग्रस्त क्षेत्रको धेरै जानकारी आउन सकेको छैन । घाइते र मृतकको संख्या अहिलेसम्म अनुमानित मात्रै छ ।

मणिपुर हिंसाको मूल कारण त्यहाँ बसोबास गर्ने जातीय सुमदायबीच विशेषाधिकार पाउने आरक्षित सूचीमा बहुसंख्यक समुदाय मैतेईलाई राख्ने कि नराख्ने भन्ने हो । प्रदेशको करिब १० प्रतिशत भूभाग मैदानी छ, जहाँ मैतेई समुदायको दबादबा छ । करिब २८ लाख जनसंख्या रहेको मणिपुर राज्यमा मैतेईको जनसंख्या ६४ प्रतिशतभन्दा धेरै छ । मणिपुरका ६० विधायकमा ४० जना यो समुदायका छन् । मैतेई समुदायका मानिसहरूले आफूहरूलाई पनि अनुसूचित जनजाति वर्गमा राख्नुपर्ने भन्दै १० वर्षदेखि संघर्ष गरिरहेका छन् । अर्को जनजाति समुदाय कुकीले भने आफ्नो अधिकार कटौती हुने भन्दै विरोध गर्दै आएको छ ।

यो विषयमा मैतेई समुदायभित्रै पनि पक्ष र विपक्ष छ । केही मानिसहरूले आफूहरू मैदानी भू–भागमा बसोबास गर्न पाएको र जनजाति क्लस्टरमा रहनुपर्ने अवस्था नरहेको भन्दै कुकी जनजातिको अधिकारमा भाग खोज्न नहुने बताउँदै आएका छन् । तर, यसको विपक्षमा भन्दा पक्षमा रहेको मैतेई समुदायको संख्या ठूलो छ । जुन उद्देश्यले र कारणले भए पनि छिमेकी देशको मणीपुरमा भएका घटना मानवीय दृष्टिले गलत छ । यो रोकिनुपर्छ र सबैले इज्जत र प्रतिष्ठाका साथ बाँच्न पाउने अवस्था बन्नुपर्छ । मणीपुर मात्रै होइन, विश्वको कुनै पनि कुनामा हुने यस्ता निर्दयी घटना जायज छैनन् ।

प्रतिक्रिया