काठमाडौँ । नेपालका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी र मेक्सिकोका कृषि तथा ग्रामीण विकास सचिवालय (मन्त्रालय) का मन्त्री जुलियो बर्डेगा बिच मकै र गहुँमा आधारित बाली प्रणाली सुधारका लागि छलफल भएको छ । नेपाली प्रतिनिधिमण्डलसहित मेक्सिकोमा रहेका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीच यस्तो छलफल भएको हो ।
समिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन गर्न र सिमिट र नेपाल सरकारबीच दिगो रूपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डल मेक्सिकोमा रहेको छ । भेटमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै २ देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरे ।
२ देशबीचको ४ दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मन्चहरूमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिविम्बित भएको छ भन्दै मन्त्री अधिकारीले नेपाल सरकारले गहुँ र मकैजस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्नेतर्फ काम गरिरहेको बताए ।
नेपाल सरकारद्वारा घोषणा गरिएको ‘कृषिमा लगानी दशक’ को घोषणा गरेको र यसका लागी द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट समग्र कृषि विकासमा लगानी खोजी गरिरहेको जानकारी गराए । भेटमा मन्त्री अधिकारीले नेपाल सरकारको तर्फबाट मेक्सिको सरकारलाई मेक्सिकोका पर्यटकका लागि नेपाललाई प्राथमिकताको भ्रमण गन्तव्यका रूपमा लिन र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउनसमेत अनुरोध गरे ।
त्यस्तै मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा.ब्राम गोभाएर्ट्सबीच पनि भेट्वार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग संयुक्त रूपमा परियोजना प्रस्ताव विकास गर्न, गतिविधि सुरु गर्न आग्रह गरे । सन् १९८५ बाट नेपाल सरकार र सिमिटबीच औपचारिक साझेदारी भएता पनि सन् १९६० देखि नै सहकार्य भइआएको छ । सिमिटबाट विकसित गहुँको नयाँ जातको प्रयोगबाट नेपाल पनि हरितक्रान्तिमा समाहित भएको थियो । समन्वयात्मक अनुसन्धानका प्रयासहरूले नेपालको तराई क्षेत्र र पहाडहरूमा मकै र गहुँको उत्पादकत्वलाई उल्लेखनीय रूपमा बढाएको छ ।
प्रतिक्रिया