काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको पाँचौं खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।
मंगलबार युएईको अजमानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल योगफल तयार गरेको हो । नेपालकी कप्तान पुजा महतोको कीर्तिमानी शतकमा नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको हो ।
नेपालका लागि प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पुजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको छ । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिइन् । पुजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।
पुजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिइन् । यू १९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।
पुजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो । रुबिनाले सोहि खेलमा ५९ बलमा ११८ रन बनाएकी थिइन् । सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् ।
कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए । छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया