वीरगञ्ज क्षेत्रभित्र २ दिन मदिरा तथा माछामासु बिक्री वितरणमा रोक

वीरगञ्ज । गहवामाईको रथ यात्रालाई सुरक्षित तथा मर्यादित रूपमा सम्पन्न गर्न वीरगञ्जमा २ दिनसम्म मदिरा तथा माछामासु बिक्री वितरणमा रोक लगाइएको छ । गहवामाई मन्दिरको १२औँ वार्षिकोत्सवको अवसरमा आइतबार २३ गते वीरगञ्जमा भव्य रथ यात्रा निकालिने भएको छ ।

सोही अवसरमा रथ यात्रा र त्यसको भोलिपल्ट सोमबार आयोजना हुने महाप्रसाद वितरणका दिन गरी २ दिनका लागि महानगरक्षेत्रभित्र माछामासु बिक्री वितरण नगर्न नगराउन वीरगन्ज महानगरले सरोकारवाला सबैमा सूचनामार्फत जानकारी गराएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस अवधिमा महानगरक्षेत्रभित्र मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु विक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको बताए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू असार २३ गते बन्द रहने भएका छन् । गहवामाईको रथ यात्रा निकालिने भएकाले सो दिन महानगरपालिकाका सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो । वीरगञ्ज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यस कुराको जानकारी गराएको हो ।

असार १६ गते महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले ऐतिहासिक गहवामाईको भव्य रथ यात्रा असार २३ गते निस्किने भएकाले उक्त रथ यात्रामा बढीभन्दा बढी भक्तजनहरूको सहभागिता गराउनका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसअघि गत वर्ष असार ५ गते पहिलोपटक गहवामाईको रथ यात्रा निकालिएको थियो ।

प्रतिक्रिया