तेस्रोलिंगीको माग : ‘हामीलाई हेला होइन, माया गरीदिनुस्’

पर्सा । केही वर्ष यता तेस्रोलिंगी तथा समलिंगीहरू खुल्न थालेका छन् । तुलनात्मक रूपमा हालका वर्षहरूमा उनीहरूलाई हेर्ने समाजको नजर पनि केही परिवर्तन नभएको होइन । तर, अझै पनि आफूहरूलाई समाजले स्वीकार्न नसकेको र अनेक लाञ्छना लगाएर अपहेलना गर्ने गरेको गुनासो उनीहरूको रहँदै आएको छ । साँझपख वीरगन्जको घण्टाघरमा तेस्रोलिंगी तथा समलिंगी कलाकारहरूले प्रस्तुत गरेको जनचेतनामूलक नाटकले दर्शकको मन छोयो । उनीहरूले आफ्नो पीडा र मनको वह नाटकमार्फत निर्धक्क पोखे ।

जारी जुन महिनालाई गौरवमय महिनाको रूपमा मनाउन उनीहरू विभिन्न गतिविधि गरिरहेका छन् । समाज मात्र नभई परिवारबाटै अपहेलित हुँदाको पीडा उनीहरूलाई झनै कष्टकर भइरहेको छ । आफूहरू पनि अन्य महिला पुरुषजस्तै आमाकै कोखबाट जन्मेको तर आफूहरूसँग परिवार र समाजले गर्ने दुव्र्यवहारका कारण आफूहरू पीडित बन्न पुगेको तेस्रोलिंगी तथा समलिंगीहरूको हकहितका लागि वकालत गर्ने संस्था सहयात्री समाजका सदस्यहरू बताउँछन् ।

परिवार तथा समाजबाट अपहेलित आफूहरूलाई अन्य महिला तथा पुरुषजस्तो सहजै रोजगारी नपाइएको गुनासो पर्साकी तेस्रो लिंगी सन्जु महतोले गरिन् । ‘समाजमा बाँच्ने सहज वातारण नबइदिँदा आफूहरूलाई झन् समस्या भएको छ’, उनले भनिन्, ‘अन्य महिला पुरुषजस्तो खुलेर घुमफिर गर्न पाएका छैनौँ ।’ यदी बाहिरी निस्कियो भने छक्का, मौगा भनेर आफूहरूलाई जिस्काउने गरिएको उनले गुनासो गरिन् ।

दुःखैदुःखको चाङबीच हातमुख जोर्नकै लागि निक्कै संघर्ष गर्नु्परेको पीडा सहयात्री समाज वीरगन्जमा आबद्ध ममता भट्टले पोखिन् । समलिंगी तथा तेस्रो लिंगीलाई समाजले मात्रै नभई आफ्नै घरपरिवारले पनि बहिष्कृत गरेको कारण आफूहरूको जीवन थप कष्टकर बनेको उनी बताउँछिन् ।
‘बाहिरको त कुरै छोडौँ घरकै मान्छेले फरक व्यवहार देखेर गाली गर्छन्’, उनले भनिन्, ‘आफू तेस्रोलिंगी भएकै कारण घरबाट बहिष्कृत भए ।’ घरबाट निकालिएका र समाजमा स्थान पाउन नसकेका तेस्रोलिंगी तथा समलिंगीहरूलाई संघसंस्थाले आश्रय दिएर बाँच्ने वातावरण बनाइदिएको उनले बताइन् ।

समलिंगी तथा तेस्रो लिंगीलाई अध्ययन र रोजगारीको सहज वातावरण नहुँदा यिनलाई निर्वाध रूपले बाँच्न, घुमफिर गर्न पनि समस्या रहेको सहयात्री समाज वीरगन्जका प्रमुख सुरज लिम्बुले बताए । ‘सरकारले पनि समलिंगी तथा तेस्रो लिंगीका लागि कानुन नबनाउँदा उनीहरू अन्य महिला पुरुषजस्तो अधिकार पाउनबाट वञ्चित हुनुपरेको छ’, उनले भने, ‘उनीहरू आफू जन्मेकै देशमा अनागरिकसरह बाँच्नु परेको छ ।’ सरकारले पनि तेस्रोलिंगी तथा समलिंगीहरूलाई वास्ता नगरेको उनले गुनासो गरे ।

उनका अनुसार, पर्सा जिल्लामा मात्रै ४० देखि ४५ हजारको हाराहारीमा तेस्रोलिंगी तथा समलिंगीहरूको तथ्यांक छ । तर, उनीहरू सबै खुलेर बाहिर आउन सकेका छैनन् । ती मध्ये १ हजार ४०० जना एचआइभी संक्रमित भई जीवनमरणसँग जुझिरहेको उनले बताए ।

आफूलाई समाजमा स्थापित गर्न समलिंगी तथा तेस्रो लिंगीहरूले विभिन्न संघसंस्थाको सहयोगमा सांस्कृतिक कार्यक्रम गर्दै संघर्ष गरिरहेका छन् । उनीहरू आफ्ना पीडा र भोगाइलाई नाटकमार्फत मञ्चन गरेर सरोकारवालाहरूर्ला सचेत गराउन लागिपरेका छन् । आजीवन अनागरिक भएर बाँच्नका लागि संघर्ष गरिरहेका समलिंगी तथा तेस्रो लिंगीलाई सम्मानपूर्वक बाँच्न र जीवन निर्वाह गर्ने वातावरण बनाउनुमा सरोकारवालाले जोड दिएका छन् ।

प्रतिक्रिया