यो पनि भन्ने गरिन्छ, मातृभाषामा शिक्षा दिइन्छ र अन्य भाषामा तालिम । तालिम भनेको कुनै निश्चित उद्देश्य हासिल गराउन दिइने विशेष प्रशिक्षण हो । शिक्षा त जीवन पद्धति हो । यसलाई धारण गरिन्छ । कुनै एक वा एक भन्दा बढी विषय वा पक्ष वा क्षेत्रमा पोख्त बनाउन तालिम दिइन्छ, प्रशिक्षित पारिन्छ, तर जीवनको समग्र क्षेत्रलाई सकारात्मक परिवर्तन गर्ने माध्यमचाहिँ शिक्षा हो ।
अहिले बहुभाषी समाजको अवधारणामाथि धेरै किसिमले बहस चलिरहेको छ । बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देशको रूपमा रहेको नेपालमा जाति तथा संस्कृतिले जसरी पहिचान पाउन सफल भएको छ, त्यसरी भाषाले पहिचान बनाउन सकेको छैन । नेपालमा करिब सबा १०० मातृभाषाको अस्तित्व देखिएको छ । यो सन्दर्भका जसरी जातीय संगठनहरू सक्रिय रहेका छन् र जसरी विभिन्न संस्कृति मनाउने गरिएको छ, त्यसरी नै भाषाको क्षेत्रमा भने खासै काम हुन सकेको देखिँदैन ।
नेपाल प्रज्ञा प्रतिष्ठान (नेप्रप्र)ले देशभित्रका सबै भाषाका लागि काम गर्नुपर्नेमा मुख्य गरी नेपाली भाषाको लागि काम गरेको देखिन्छ । अन्य मातृभाषामध्ये केही भाषामा नेप्रप्रले वार्षिक पत्रिका प्रकाशनको सुरुआत गरेको देखिएको छ र मातृभाषामा गोष्ठीहरू पनि सञ्चालन गरेको देखिएको छ । यो राम्रो सुरुआत हो, तर अझ सबै मातृभाषासम्म प्रज्ञाको पत्रिका तथा कार्यक्रम पुग्न सकेको छैन । यसै गरी भाषा आयोगले पनि मातृभाषाको सन्दर्भका केही कामहरू गरेको छ । विभिन्न प्रदेशलाई मातृभाषामा सरकारी कामकाजका लागि सिफारिस गरेको अवस्था हो, तर भाषा आयोगले अझै धेरै काम गर्न बाँकी छ । भाषा आयोगले पनि सबै भाषामाथि न्याय गर्न नसकेको गुनासो रहेकै छ । अहिलेसम्म, निकै हदसम्म, गोरखापत्र दैनिकले धेरै मातृभाषालाई समान स्थान दिएर मातृभाषालाई सबल बनाउने क्षेत्रमा धेरै महत्वपूर्ण काम गरेको छ । धेरै मातृभाषालाई सम्मान गर्ने सरकारी प्रकाशन गोरखापत्रप्रति मातृभाषाको दृष्टिकोणले पनि अधिकांश नागरिकको उच्च सम्मान रहेको छ ।
शिक्षाको माध्यम कुन भाषालाई बनाउने भन्ने विषय व्यापक रूपमा बहसको मुद्दा हुने गरेको छ । शिक्षासित सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूको सल्लाह मान्ने हो भने शिक्षालाई प्रभावकारी बनाउन मातृभाषामा शिक्षा दिइनुपर्छ । अहिले विश्वव्यापीरूपमा मातृभाषा शिक्षाको अभियान चलाइएको छ । धेरै देशहरूले विभिन्न स्थानीय मातृभाषामा कम्तीमा प्राथमिक तहको शिक्षा दिन सुरुआत गरेका छन् । मातृभाषामा शिक्षा प्रभावकारी हुने भएको मानिएको तथा बालबालिकालाई भाषा सिकाउने कि ज्ञान ? भन्ने कुरा महत्वपूर्ण रहेकोले मातृभाषामा ज्ञान दिन सुरु गरिएको हो ।
पहिले मातृभाषामा वरपरका वस्तु तथा व्यवहारलाई चिन्दै तिनीहरूको महत्व बुझ्दै गएर देश र दुनियाँलाई बुझ्न सजिलो हुन्छ । प्राथमिक तहमा मातृभाषामा शिक्षा दिने हो भने घरका अभिभावकले पनि धेरै हदसम्म सहयोग गरिदिने हुन्छन् । आफ्नो परिवेशलाई बुझेपछि त्यससित प्रेम हुन्छ । परिवेशलाई बुझाउन स्थानीय शिक्षा वा मातृभाषाशिक्षाले महत्वपूर्ण योगदान दिन सक्छ । सामान्यतया बाहिरका कुराप्रति आकर्षण हुनु स्वाभाविक हो तर बालमस्तिष्कमा नै बाह्य कुराप्रति आकर्षित हुने वातावरण बन्ने परिवेश हुँदा आफ्नो परिवेश र आफ्नो मातृभाषाको कुरा त्यत्ति राम्रो लाग्दैन । यसको परिणाम कस्तो देखिन्छ भने मातृभाषा हराउन थाल्दछ ।
विदेश गएका धेरै परिवार यस्ता छन् जसले आफ्ना सन्तानले मातृभाषा बिर्सिइरहेको तथा घरमा पनि मातृभाषा बोल्न नसकेको वा परिवेशले नदिएको भन्ने गुनासाहरू आउँछन् । यसको अर्थ यो पनि हो कि अभिभावकमा मातृभाषाप्रति सचेत हुनुपर्छ भन्ने ज्ञान केही ढिलो प्राप्त भएको छ । पहिले मातृभाषाको महत्व खासै बुझिएन र अहिले बुझ्न थालेपछि समय घर्किइसकेको छ भन्ने अनुभूति विदेश गएका कतिपय अभिभावकमा हुने गरेको छ ।
भाषामा समाज र संस्कृति पनि हुन्छ । भाषाले भौगोलिक तथा सामाजिक अर्थ पनि बोकेको हुन्छ । एउटै शब्दको एउटै भाषामा संस्कृति र भूगोल अनुसार फरक अर्थ हुन्छ वा परिवेश अनुसार भावमा भिन्नता पनि हुन्छ । भाषाभित्र लोकगीत, लोककथा, विभिन्न गाथाहरू आदि पनि समाहित हुन्छ । भाषा लोप हुँदा पहिचानका विभिन्न कुराहरू पनि लोप हुने डर हुन्छ । यसैले भाषाको संरक्षण गर्नु राम्रो हो । भाषाको संरक्षण गर्न सकिएमा त्यस समाजको मौलिकतलाई जोगाइरहन सकिन्छ ।
देशविदेशको अनुभवले यही देखाएको छ कि भाषाले संस्कृति बचाउँछ र भाषाको विकास हुँदा त्यसमा साहित्य सिर्जना पनि हुन्छ । कुनै पनि भाषामा साहित्य सिर्जना भएर मात्र पुग्दैन । अझै पनि समाज यस्तो छ, साहित्यलाई मनोरञ्जनको माध्यम मान्दछ । भाषालाई प्रवाहशीलताको माध्यम मात्र मानेर पुग्दैन । यसैले मातृभाषा र आर्जित भाषामा भिन्नता हुन्छ । जुन प्रवाह वा स्वाभाविकता मातृभाषामा हुन्छ, त्यो आर्जित भाषामा नहुने भएकोले भाषाले संस्कृतिलाई पुस्तान्तरण गरिरहेको हुन्छ । हो, सचेत व्यक्तिले साहित्य सिर्जना गर्ने भएकाले यदि मातृभाषामा नै कोही सचेत भएको अवस्था हुन्छ भने निःसन्देह तिनले गर्ने साहित्य सिर्जना उच्चकोटिको हुन्छ र कुनै एक भाषामा शिक्षार्जन गरेको र आफ्नो मातृभाषामा साहित्य सिर्जना गर्दा शिक्षार्जन गरेको भाषाको प्रभाव तिनको मातृभाषाको साहित्य सिर्जनमा हुने हुन्छ । यसर्थ अन्य भाषाको शिक्षाले मातृभाषाको संस्कृतिलाई पनि केही मात्रामा भए पनि प्रभाव पार्ने हुन्छ ।
यो पनि भन्ने गरिन्छ, मातृभाषामा शिक्षा दिइन्छ र अन्य भाषामा तालिम । तालिम भनेको कुनै निश्चित उद्देश्य हासिल गराउन दिइने विशेष प्रशिक्षण हो । शिक्षा त जीवन पद्धति हो । यसलाई धारण गरिन्छ । कुनै एक वा एकभन्दा बढी विषय वा पक्ष वा क्षेत्रमा पोख्त बनाउन तालिम दिइन्छ, प्रशिक्षित पारिन्छ, तर जीवनको समग्र क्षेत्रलाई सकारात्मक परिवर्तन गर्ने माध्यमचाहिँ शिक्षा हो । हुन त यो जीवन पर्यन्त चलिरहन्छ, तर शिक्षाको लागि तोकिएको विशेष उमेर र निश्चित अवधि हुन्छ, जसलाई औपचारिक शिक्षा भनिन्छ । यसमा पनि बालबालिकाले प्रारम्भिक शिक्षा आर्जन सुरु गर्दा उनीहरूको सिक्ने क्षमता कम हुन्छ, शब्द भण्डार कम हुन्छ, अनि मातृभाषाको माध्यमबाट बिस्तारै शिक्षा प्रारम्भ गर्दा मातृभाषाका शब्दहरूसँगै सिक्नुपर्ने विषय पनि सिक्ने अवसर पाउँछन् ।
बाल मस्तिष्क र बाल मनोविज्ञानमा घरमा एक किसिमको र विद्यालयमा अर्को किसिमको सिकाइको वातावरण हुन गयो भने निःसन्देह विद्यालयमा सिकाइको भन्दा तालिमको वातावरण हुन पुग्दछ । अहिलेको समाजमा यही बढी देखिन्छ किसिकाइतिर कम र तालिमतिर बढी मानिस उन्मुख छन् । अनि यसको असर गाउँमा भन्दा सहरमा र सहरमा भन्दा विदेशमा गएर काम गर्ने प्रवृत्ति बढेको छ । वास्तवमा घरमा बोलेको तथा घरमा सिकेको कुरा सानैदेखि फरक पर्न थालेपछि बालबालिकालाई सामान्यतया घरको भन्दा बाहिरको राम्रो हो भन्ने पर्दै गएको हुन्छ । घरको भाषा र पहिरनभन्दा बाहिरको भाषा र पहिरन राम्रो भन्ने पर्दै गएपछि देशको भन्दा विदेशको अझ राम्रो पर्न जानु पनि स्वभाविक हो । अहिले विदेश पलायन हुनु र गाउँमा खेत बाँझो हुनुमा पनि केही प्रभाव मातृभाषामा शिक्षाको अभाव हुनु हो कि भन्ने आशंकालाई बल दिएको छ ।
कुनै पनि समाजका लागि मातृभाषामा शिक्षा दिनु भनेको समाजको अनुकूल शिक्षा हो । एक दृष्टिकोणले भन्ने हो भने मातृ भाषाशिक्षा राष्ट्रवादी शिक्षा पनि हो । आफ्नो गाउँ, परिवार र समाजको महत्वको बारेमा सिक्नु, समाजका असल कुराहरू बुझन् तथा संस्कृतिका सबल पक्षहरूबारे बुझ्नु निकै राम्रो कुरा हो । यसकारण सम्भव भएसम्म मातृभाषा शिक्षालाई झारा टार्नुभन्दा कसरी हुन्छ, पूर्ण रूपमा लागू गर्नु गराउनु उचित देखिन्छ । अहिले ३ तहको सरकार छ । केन्द्र सरकारले देशमा बोलिने कम्तीमा १० प्रमुख मातृभाषामा शिक्षाको लागि कम्तीमा पाठ्यक्रम र पाठ्यपुस्तक बनाउनका लागि अहमभूमिका निर्वाह गर्नुपर्छ । यसैगरी प्रदेश सरकारहरूले आफ्नो प्रदेशका कम्तीमा ५ मातृभाषा, (केन्द्र सरकारले निर्माण गरेका बाहेकका) पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिदिनुपर्छ र पालिका सरकारले आफ्नो पालिकाको अवस्था हेरी पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्नुपर्छ ।
अहिले गुनासो यो पनि रहेको छ कि मातृभाषा शिक्षाका लागि केन्द्र सरकार वा प्रदेश सरकार वा पालिका सरकार, कसैले पनि बजेट दिने गरेका छैनन् । यसले गर्दा मातृभाषा वा स्थानीय विषय भन्ने विषयको पठनपाठन निकै कम हुने गरेको छ । कतिपयले उत्साह वा भावुकतामा आएर लागू गरे पनि शिक्षकको समस्या र निरन्तरताको समस्याले प्रभावकारी हुन सकेको छैन । वास्तवमा मातृभाषा शिक्षा निकै कम प्रभावकारी रहेको छ । इच्छा, चाहना र आवश्यकता हुँदाहुँदै पनि स्पष्ट निर्देशन वा पाठ्यपुस्तक तथा शिक्षकको अभावमा मातृभाषा शिक्षा व्यवहारमा, मुख्य गरी तराई–मधेसमा, लागू हुन निकै समस्या देखिएको छ । केन्द्र सरकार यसमा गम्भीर हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया