नेपालको गौरव र स्वाभिमान सगरमाथा

पर्यटन विभागका अनुसार यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ४५ समूहका ४२१ आरोहीले अनुमति लिएका थिए । जसमा ७६ महिला र ३४५ पुरुष छन् । यस वर्षको सगरमाथा आरोहणको अन्तिम दिन मे २९ सम्म हो । यो दिनसम्ममा अधिकांश आरोहीले सफल आरोहण गरिसक्नेछन् । सगरमाथा आरोहण अनुमति शुल्कबापत यस वर्ष सरकारले ६० करोड २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

मनोहर कार्की

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला टेकिएको दिन मे २९ तारिख हो । सगरमाथको शिखरमा मानवजातीले पाइला टेकेको ऐतिहासिक दिन सन् १९५३ मे २९ तारिखको सम्झनामा सगरमाथा दिवस जोडिएर आउँछ । नेपालको हिमाल आरोहण तथा साहसिक पर्यटनको प्रबर्धनमा ठोस तथा सम्मरणीय कार्यक्रमको रुपमा मनाउन सकिएमा सगरमाथा दिवसको सार्थकता रहन जाला । नेपालमा हिमाल आरोहणको सफलताको थालनीका सन्दर्भमा उठान गर्दा मोरिस हर्जोगको अन्नपूर्ण हिमालको (८०९१ मिटर अग्लो विश्वको दसौंं उच्च हिमशिखर) सफल आरोहणसँगै जोडिएर आउँछ ।

नेपालका तेन्जिङ्ग नोर्गे शेर्पा तथा न्युजिलैण्डका नागरिक सर एडमण्ड हिलारीले विश्व पर्यटनको इतिहासमा साहसिक र गौरवशाली हिमाल आरोहीका रुपमा पहिलो पटक सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे । यस भन्दा पहिला पनि निकै पटक सगरमाथा आरोहणका असफल प्रयास भए । सन् १९२४ जुन ८ मा ब्रिटिस पर्वतारोही जर्ज मेलोरी र एन्ड्रयु इर्भिङ्गको टोलीले सगरमाथा आरोहणको प्रयास गरेको थियो , तर कहिले फर्किएनन् ।

सगरमाथा र नेपाल पर्यायका रुपमा उभिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बैभवता र गरिमासँग दाँजिने प्राकृतिक धरोहर छैनन्, जुन समतुल्य होस् । त्यसैले त होला इतिहासकार बाबुराम आचार्यले माउण्ट एभरेष्टका नेपाली नामाकरण सगरमाथा जुराउनु भयो । नेपाली मौलिक पहिचानलाई विश्वजगतमा चिनाउने एकै प्राकृतिक धरोहर काफी छ सगरमाथा । जुन चीरकाल उच्च हिमशैल भई अटल छ । विश्वका जुनै भूगोलमा बसोवास गरी आएका नेपालीले गर्वका साथ आफ्नो परिचय दिलाउन सक्ने नाम सगरमाथाको देश हो । तसर्थ नेपाली राष्ट्रियताको पर्याय, संसारको जुनै कुनामा राष्ट्रियता र भूगोलभन्दा विशाल नाम सगरमाथाको देश हो । त्यसैले त होला सगरमाथा आरोहण साहसिक पर्वतारोहीको उच्च आकर्षणको केन्द रहन सकेको । त्यसैले त साहस र किर्तिमानको प्रतिक र विम्बको रुपमा सगरमाथा आरोहण जोहिएकोछ । अनि संसारभरका साहसिक आरोहीको पहिलो गन्तव्य सगरमाथा हिमाल आरोहण रहन गएको छ । प्रत्येक वर्ष सयौंका संख्यामा साहसिक आरोही सगरमाथाको आरोहणका लागि लालायित रहेका छन् ।

मे २९ प्रथम सगरमाथा आरोहणको संस्मरणमा मात्र सीमित छैन । विश्वमाझ सगरमाथाको देश चिनाउने र नेपाली पर्यटनक्षेत्रलाई उच्चकोटीका रुपमा पहिचान दिने अभियानको कोशेढुंगा भएको छ । नेपाली जातिको गौरवशाली पहिचान बोकेको आभाष विश्वमंचमा दिने पाटो पनि हो । पर्वतारोहण र साहसिक पर्यटनको विकाससँग यदि सगरमाथालाई अलग गरिएमा सबैका लागि निकै प्रत्युत्पादक हुनेछ । हाम्रो पर्वतारोहण तथा साहसिक पर्यटनको विकासको मियोका रुपमा सगरमाथा र हिमशिखर आरोहणलाई लिन सकिन्छ ।

२४ औं पटकको सरगरमाथा आरोहपश्चात पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा हिमाल आरोही कामीरिता शेर्पाले भनेका थिए –‘सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु,, यो मेरो प्यासन हो’ र यसै वसन्तयाममा किर्तिमानी आरोही कामीरिता शेर्पाले ३० र्औ पटक सगरमाथाको सफल आरोहण गरे । एकै याममा २ पटक सगरमाथाको आरोहण समेत गरी साहसिक आरोहीको पर्यायका रुपमा आफुलाई विश्व सामु चिनाए । उनको किर्तिमानी पदचापलाई चुनौती र्दिदै अर्का विख्यात आरोही पासाङ् दावा शेर्पाले (पादावा) गत वर्षको सिजनमा एकै याममा दुई पटक (२६ औंर २७ औं पटक) सगरमाथाको सफल आरोह गरे ।

एकै याममा फोटो पत्रकार तथा साहसिक पर्वतारोही गोरखाकी पूर्णिमा श्रेष्ठले तीन पटक सगरमाथा आरोहण गरी महिला पर्वतारोहीतर्फ अभूतपूर्व किर्तिमानी कायम गरिन् । गैर—शेर्पा जाति र आदिवासी महिलाका रुपमा उनको पर्वतारोहण अभियान रहेकोछ । गत विहिवारनै गोरखाकै फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा आरोहण गरिन । आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुगेर महिलातर्फको किर्तिमान बनाउनु बनाइन् । यसै याममा आरोही दावा फिन्जो शेर्पाले सबैभन्दा छोटो समय ८ दिन १३ घण्टा ३५ मिनेट समयावधीमा तीन पटक शिखर आरोहण गरेर किर्तिमान कायम गरे । उनले सेभेन समिट टेक्समार्फत सहयोगी शेर्पाका रुपमा आरोहण गरेका हुन् ।

लाग्छ,, सगरमाथा आरोहण किर्तिमान र साहसको प्रतिक नै हो । सोलुखुम्बु थामेमा सन् १९७० मा जन्मेका कामीरिता शेर्पाले पहिलो पटक सन् १९९४ मे १३ मा सर्बोच्च शिखर सगरमाथाको पहिलो पटक आरोहण गरेका थिए । पर्यटन विभागका अनुसार यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ४५ आरोही समूहका ४२१ आरोहीले अनुमति लिएका थिए । जसमा ७६ महिला र ३४५ पुरुष आरोही छन् । यस वर्षको सगरमाथा आरोहणको अन्तिम दिन मे २९ सम्म हो । यो दिनसम्मा अधिकांश आरोहीले सफल आरोहण गरी सक्नेछन् । सगरमाथा आरोहण अनुमती शुल्क बापत यस वर्ष सरकारले ६० करोड २५ लाख रुपैंया भन्दा बढि दस्तुर रकम आम्दानी गरेको छ ।

सगरमाथामा गौरवशाली आरोहणमा किर्तिमान कायम गर्ने ती साहसिक पर्वतारोही पर्वतारोहणका इतिहासमा अध्याय थप्ने सबै अविष्मरणीय रहेका छन् । पर्वतारोहणको इतिहासमा नाम लेखिएका प्रेरणादायी पर्वतारोहीहरुको नाम लिँदा सर एडमण्ड हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पाको नाम अग्रपंक्तीमा आँउछ । साथै सगरमाथामा पहिलो पाइला टेक्ने साहसिक महिला पर्वतारोही जापानी जुन्को तावेई तथा साहसिक नेपाली नारी पासाङल्हामु शेर्पाको नाम अविश्मरणीय छ । पासाङ्ग ल्हामु , जसले प्रथम नेपाली महिलाका रुपमा आरोहण गर्नुभयो । नेपाली नागरिकमा सबैभन्दा बढि उमेरमा सगरमाथा आरोहण गर्ने साहसिक पर्वतारोही मीन बहादुर शेरचनको नाम पनि पर्वतारोहणको इतिहासमा अविष्मरणीय रहनेछ । चार नेपाली पत्रकारले सगरमाथाको सफल आरोहण गरे । छिटो सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी आरोहीमा पुरुषतर्फ नेपाली आरोही निङ्मा दोर्जी शेर्पाको नाममा ६ घण्टा १ मिनेट र महिलातर्फ गोरखाकी फुन्जो झाङ्वु लामाले यसै सिजनमा १४ घण्टा ३१ मिनेटको सफल आरोहण गरे । सगरमाथा आरोहण नयाँ इतिहास कोर्ने अवसर र चुनौतीका रुपमा रहँदै आएकोछ ।

पर्वतारोहण र सर्वोच्च शिखर सगरमाथासंग जोडिएर आउने अनगीन्ति नामहरु छन् । ती साहसिक तथा संस्मरणयोग्य नामका पंङ्क्तीले सगरमाथाको भौगोलिक उचाईभन्दा पनि सगरमाथाको उचाईलाई निकै माथि उठाउन सकेका छन् । आङ्रिता शेर्पा, बाबुछिरि शेर्पा, आप्पा शेर्पा लगायत कयौं नामहरु उल्लेखनीय छन , जसले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणमा किर्तिमान कायम गर्न सफलता प्राप्त गरे ।

हिमाल आरोहण साहस, धैर्यता तथा कला सम्मिश्रण पक्षको त्रिवेणी नै हो । अझ सगरमाथा आरोहण त पर्वतारोहीका लागि गर्व र चुनौतीका पहाडको उच्च उडानको पर्याय झैं छ । आजका दिनसम्म दर्जनौं पर्वतारोही शिखर आरोहणका दौरानमा साहसिक मृत्युवरण गर्न पुगेका छन् । यस्ता साहसिक पर्वतारोहीमा प्रथम नेपाली महिला पर्वतारोही पासाङल्हामु शेर्पा र बाबुछिरि शेर्पालाई लिन सकिन्छ । साथै स्वदेश तथा विदेशका कयौं पर्वतारोहीले कुनै न कुनै किर्तिमान कायम गर्न सकेका छन् । त्यसैले त सगरमाथा आरोहण किर्तिमान र साहसिक पर्यटनको पर्याय रहनसक्यो । सन् २०२४ मे सम्मको तथ्यांकका आधारमा ३४० पर्वतारोहीको मृत्यु भएको छ । अझै २०० आरोहीको शब मौसमी प्रतिकुलताले सगरमाथाबाट हटाउन नसकिएको अवस्था छ ।

जलवायु परिवर्तन र हिमालीक्षेत्रको पर्यावरणीय स्वच्छता कायम गर्ने दिशामा सबैको चासो र सरोकार आवश्यक छ । जलवायु परिवर्तनको प्रत्यक्ष तथा गम्भीर असर हिमालीक्षेत्र, हिमाली जनजीवन र त्यस क्षेत्रको प्राकृतिक पर्यावरणमा परेको छ । केही समय अघि संयुक्त राष्ट्र संघका महसचिव एन्टोनियो गुट्रेसको नेपाल भ्रमणका सन्दर्भमा उहाँले मनाङ्गको भ्रमण गरी जलवायु परिवर्तनको नेपालका हिमालीक्षेत्रमा परेका गम्भीर नकारात्मक असरबारेमा विश्वको ध्यान आकृष्ट गर्नुभयो । साथै जलवायु अनुकूलन र हिमाली जैविक विविधता पर्यावरणको संरक्षणका दिशामा नीतिगत कार्यक्रमलाई सम्बन्धित निकायले दृढताकासाथ कार्यान्वयनका ल्याउन पहल गर्नुपर्ने सुझाव दिनु भयो ।

हाम्रा हिमालले मानवीय उपस्थिति र अतिक्रमण व्यापकरुपमा भोगी आएका छन् । आरोहणका क्रममा आरोहीहरुले थुपारेका फोहर वातावरणीय प्रदुषणको असरको कारण बनेको छ । फलस्वरुप हिमाली सुन्दरता, सालिनता र प्राकृतिक सौन्दर्र्य कायम राख्नु पहाडझैं चुनौती भएको छ । आरोहणका दौरानमा फोहर र थुपारेका काम नलाग्ने सामानहरुको यथोचित व्यवस्थापन गर्न नसकिंदा सगरमाथालाई फोहरको डुङ्गुरले कुरुप बनाउने सम्भाव्यता प्रति सरोकारवाला सचेत हुनुपर्छ । बेला बेलामा पर्वतारोही, पथप्रदर्शक टोली तथा सरकारी प्रयासमा सगरमाथा सरसफाई तथा वातावरण संरक्षण प्रयास नभएका होइनन् तर पर्याप्त र परिणाममुखी भएनन् ।
सरकारको यस वर्षको नीति तथा कार्यक्रममा पर्यटनक्षेत्रको विकास र प्रबर्धनका लागि केही उल्लेख्य र मननयोग्य कार्यक्रम ल्याइए पनि त्यसको कार्यान्वय पक्ष जुझारु र परिणाममुखी हुनुपर्दछ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदास्थलको संरक्षण, विकास र प्रवर्धनमा हाम्रो सम्पदा राम्रो सम्पदाको पहिचानलाई जीवन्त राख्नुछ । राष्ट्रिय मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धन र सूचिकृत पर्यटकीय गन्तव्यको प्रचार प्रसार तथा पर्यटन ऐनमा समयानुकूल परिमार्जन आवश्यक छ । यस दिशामा सबैको चासो र सरोकार हुनुपर्दछ ।

सन् २०८० को दशकलाई नेपाल भ्रमण दशक र सन् २०२५ लाई विशेष पर्यटन बर्षका रुपमा मनाउने कुरा सरकारको नीति तथा कार्यक्रम उल्लेख हुनु जति सान्दर्भिक छ त्यसको कार्यान्वयन पक्षको आजैदेखी प्रयास रहनु सान्दर्भिक रहला । नेपाली मौलिक पर्यटकीय धरोहरहरुको संरक्षण र प्रबर्धनमा नीतिगत कार्य योजनाको दरिलो कार्यान्वयन हुनुपर्दछ ।

प्रतिक्रिया