संसद गतिरोध अन्त्यका लागि शीर्ष दल र कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसद बैठकको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दल र कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने विषयमा शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरे पनि बैठक निष्कर्षविहीन भएको हो ।

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुंग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच भएको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुंगिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने ।

छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारले बताए । ‘गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ, नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो, नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ,’ उनले भने, ‘नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ ।’

आजको बैठकमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायत सहभागी थिए ।

बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी थिए ।

आगामी मंगलबार संघीय संसदमार्फत् आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री दाहालले सहमतिको प्रयास जारी राखेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लामो समयदेखि संघीय संसदको दुवै सदन अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया