विद्यार्थी सिकाइ मूल्यांकन रिपोर्ट हस्तान्तरण

oplus_0

बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सिमरा कलेजले विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्ट उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेललाई विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्ट हस्तान्तरण गरेका हुन् ।

विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्टमा उपमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक अवस्था तथा भौतिक पूर्वाधारसम्बन्धी तथ्यांक उल्लेख गरिएको छ । उपमहानगरभित्र सञ्चालनमा रहेका ५८ वटा सामुदायिक विद्यालय र ४१ वटा संस्थागत विद्यालयमा सर्वेको बेला उपस्थित रहेको १६ हजार ८५० जना विद्यार्थीको सर्वे गरिएको रिपोर्ट सार्वजनिक कार्यक्रममा जानकारी गराइएको छ । विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्टमा सरकारी विद्यालय र संस्थागत विद्यालयमा कति विद्यार्थी अध्यनरत रहेको डाटासमेत समावेश गरिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाले विद्यार्थी सिकाइ मूल्यांकन सर्वे गर्ने जिम्मा सिमरा कलेजलाई दिएको थियो । १६ दिने सर्वेक्षणले शैक्षिक अवस्था कमजोर देखाएको छ । विद्यालयमा विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको टोली पुगेर तथ्यांक संकलन गरेका थिए । विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्टमा संस्थागत विद्यालयभन्दा बढी उपमहानगरको वडा–८ को सामुदायिक विद्यालयमा बढी विद्यार्थी पढ्ने गरेको र त्यस्तै फकिरा गिरि राजेश्वर गिरिमा समेत निजी विद्यालयमा भन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको विद्यार्थी सिकाइ मूल्यांकन सर्वे रिपोर्टमा देखाइएको छ ।

सिमरा कलेजले सार्वजनिक गरेको विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्टमा संस्थागत विद्यालयमा अध्यनरत ४७ प्रतिशत विद्यार्थी ट्युसन पढने गरेका छन् भने सामुदायिक विद्यालयका २७ प्रतिशत विद्यार्थीले ट्युसन पढने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाको २५ प्रतिशत दलित समुदायका विद्यार्थी संस्थागत विद्यालयमा पढ्न जाने गरेको छ भने ७५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेका छन् । यस्तै ब्राह्मण क्षेत्री समुदायको ८० प्रतिशत बालबालिका संस्थागत विद्यालयमा पढ्न जाने गरेको र २० प्रतिशत मात्र सामुदायिक विद्यालयमा पढने गरेको सो मूल्यांकन सर्वेको रिपोर्टमा उल्लेख गरिएको छ ।

उक्त रिपोर्टमा कुन विद्यालयको राम्रो रिपोर्ट रहेको त्यो जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वेबसाइटमा अपलोड गरेर सार्वजनिक गर्ने जनाएको छ ।

उपमहानगरपालिकाले गरेको विद्यार्थी सिकाइ मूल्यांकन सर्वेको रिपोर्टको अहिले चौतर्फी रूपमा प्रशंसा भइरहेको छ । नगरप्रमुखमा निर्वाचित भएदेखि नै नगरप्रमुख राजन पौडेलले शिक्षा क्षेत्रलाई माथि उकास्नमा लागि परेका छन् । उक्त विद्यार्थी सिकाई मूल्यांकन सर्वेको रिपोर्ट सार्वजनिक कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, उपमहानगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा–४ का वडाध्यक्ष भोजबहादुर खत्री, वडा–१५ का वडाध्यक्ष रामप्रसाद लामिछानेलगायत जीतपुरसिमरा उपमहानगरका निजी विद्यालय र सामुदायिक विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

प्रतिवेदनले कक्षा ५ मा अध्ययनरत विद्यार्थीले अक्षर र अंकसमेत नचिन्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसमा निजीभन्दा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या बढी छ । सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ६ दशमलव २० प्रतिशत विद्यार्थीले अंग्रेजी अक्षर र अंक चिन्दैनन् । यसमा निजी विद्यालयको प्रतिशत संख्या १ दशमलव ७८ छ ।

यस्तै सामुदायिक विद्यालयका ५ दशमलव ३० प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिन्दा निजी विद्यालयका शून्य दशमलव ५३ प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिनेको देखिन्छ । यसैगरी कक्षा ५ मा अध्ययनरतमध्ये कथा पढेर जवाफ दिन सक्ने र भाग (डिभिजन) सम्बन्धी समस्या समाधान गर्न सक्ने विद्यार्थीको संख्या ५० प्रतिशतभन्दा कम रहेको उल्लेख छ ।

प्रतिक्रिया