संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । बिहीबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा उनले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेका छन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

त्यस्तै, सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णयसमेत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी, जापानी परराष्ट्रमन्त्री कामिकावा योकोको आइतबार हुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी अख्तियारी दिने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त द्विपक्षीय वार्ताका लागि कार्यसूचीसमेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया