‘कारागारलाई सुधार गृह बनाउँछौँ’

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको उद्घाटन गर्दै बिहीबार गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे । ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ,’ उनले भने ।


कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनस्र्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको औँल्याए । ‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनुहुँदैन,’ उनले भने । अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए ।

गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए ।
‘आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ,’ उनले भने । गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे ।

प्रतिक्रिया