कमजोर ब्याटिङसँगै नेपालले दियो हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपअन्तर्गत आज भएको खेलमा नेपालले खराब ब्याटिङ गर्दै हङकङलाई १४० रनको लक्ष्य दिएको छ । यसअघि टस जितेर हङकङविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर जम्मा १३९ रन बनाउँदै हङकङलाई जितका लागि १४० रनको लक्ष्य दिएको हो ।

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा आज नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो अन्त्य गरेपछि नेपालले त्यो रनसम्म बनाउन सकेको हो ।

दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।

शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन ।

लगातार तेस्रो खेलमा शून्यमा आउट हुनेक्रममा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा एज लागेर विकेटकिपर जिशान अलीबाट क्याच आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी ७ बलमा २ चौकासहित १२ रनमा शुक्लाकै बलमा क्याच आउट भए ।

आशिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै ५ रनमा निजकात खानबाट क्याच हुँदा नेपाल ३२–३ को अवस्थामा थियो । कप्तान रोहित पौडेल अतिक इकबालको आठौँ ओभरको पाँचौं बलमा २१ रनमा एलबीडब्लू आउट भए । रोहितले १९ बलमा २ चौका प्रहार गरे ।

कुशल मल्ल स्पिनर यासिम मुर्तजालाई १२औँ ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने क्रममा लङअनमा निजाकत खानबाट १३ रनमा क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो ।

१४औँ ओभरको तेस्रो बलमा सन्दीप जोरा र चौथो बलमा गुलशन झा ६ रनमा लगातार रन आउट भएपछि नेपाल ८७–७ को अवस्थामा पुगेको थियो । हिटर करण केसी स्पिनर एहसान खानको बलमा ३ रनमा एलबीडब्लू आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए । यस खेलको विजेताले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया