सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरे ।
पाँच अर्ब लगानीमा निर्माण हुन लागेको केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबलकार दैनिक ६ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ । अध्यक्ष ढकालले प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लगानी गर्ने उद्देश्यले केबलकार निर्माण सुरु गरिएको बताए ।
कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुंगालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।
आठ वर्षको निरन्तर प्रयासपछि आयोजना निर्माण सुरु भएको जानकारी दिँदै अध्यक्ष ढकालले आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । रासस
प्रतिक्रिया