राजनीतिमा पुस्तान्तरण ‘माछो माछो भ्यागुतो !’

अरूलाई वृद्धभत्ता बाँड्नेहरू आफू भने बाँचुन्जेल सत्ताकै पेरिफेरीमा

काठमाडौँ । नेपाली राजनीतिमा पुस्तान्तरणमा ठुलो समस्या देखिएको छ । वर्षौंदेखि शासनसत्तामा रहेका प्रमुख भनिएका दलमा त सास रहुन्जेल नेतृत्व नछाड्ने प्रवृत्ति देखिएको छ । कतिपय दलका नेता त हाकाहाकी पुस्तान्तरणलाई चुनौती दिँदै आएका छन् ।

आमजनतालाई ७५ वर्ष पुगेपछि काम गर्न नसक्ने, परिवारबाट अगलथलग हुने भन्दै जीविकोपार्जनमा सहयोग पुर्याउन जेष्ठ नागरिक भत्ताको व्यवस्था गरिएको छ । तर, प्रमुख दलको शीर्ष नेतृत्वमा रहेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् वा केपी शर्मा ओली वृद्ध भत्ता खाएर कुनामा बस्नुभन्दा राज्य कोषको डाडुपुन्यु हत्याउन प्रतिस्पर्धा गरिरहेका छन् । बुढाहरूले नेतृत्व मोह नत्याग्दा ६० वर्षभन्दा तलका नेताहरूमा निराशा पैदा भएको छ ।

तुलनात्मक रूपमा नेपाली कांग्रेसमा पुस्तान्तरणको कुरा जोडतोडले उठ्ने गरेको छ । अन्य दुई कम्युनिस्ट पार्टीभन्दा दोस्रो वा तेस्रो पुस्ताले देउवालाई चुनौती पनि दिएको देखिन्छ । तर, फेरि उही दोस्रो पुस्ताले एकले अर्कालाई स्वीकार नगर्ने प्रवृत्तिले मातृसत्तामा समूहकी सबैभन्दा बुढी आमा समूहको मूली हुने कथाजस्तै सबैभन्दा वृद्धमा नेतृत्व पुग्ने गरेको छ । शेखर कोइराला, सशांक कोइराला, प्रकाशमानसिंह, विमलेन्द्र निधिलगायतले गगन थापा विश्वप्रकाशलाई नेता मान्नु त परको कुरा एकले अर्कालाई नेता नस्वीकार्दा नेतृत्व देउवा कहाँ पुगेको विगत महाधिवेशन साक्षी छ ।

नेकपा माओवादीको विषय उठान नै नगरे हुन्छ । प्रचण्डलाई चुनौती दिने आँट हालसम्म कसैमा देखिएको छैन । यसले प्रचण्डलाई हाइसन्चो मात्र होइन, दोस्रो तहका आपसमा नमिल्दा उनीहरूलाई पद बाँड्ने जिम्मा पनि उनैले पाउने गरेका छन् । एमालेमा माधव नेपाललगायत नेताहरू रहुन्जेल नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने गरेको थियो ।

उनीहरूले पार्टी फुटाएर गएपछि पनि भीम रावललगायतले ओलीलाई झिनो भने पनि चुनौती दिएकै हुन् । रावललाई जिम्मेवारीविहीन बनाएकाले अहिले पार्टीभित्र ओलीको एकलौटी हालीमुहाली छ । ओलीको कार्यशैलीसँग विमति राखेर केही समय माधव नेपालसँगै लागेकाहरू पछि १० बुँदे सहमति गर्दै फर्कने योगेश भट्टराई, गोकर्ण विष्टलगायत ओलीका पाउमा ‘त्वं शरणम्’ छन् ।

त्यसैले त ओली पार्टीमा अझ शक्तिशाली भएर निस्केका छन् । उनीसँग आँखा जुधाएर विमति राख्न सक्ने कोही नभएपछि उनी झन् हौसिएको शुक्रबार पोखरामा दिएकै मन्तव्यले स्पष्ट हुन्छ । ओलीले ‘पार्टीमा अबको २० वर्ष अरू कसैले आस नगरे हुने’ हाकाहाकी घोषणा गरे । पार्टीभित्र सहमतिभन्दा असहमति निर्माणमा जोड दिने गरेको पाइएको बताउँदै ओलीले अब आफू झनै स्वस्थ भएकाले २० वर्षजति कसैले पनि आस नगर्न चुनौती दिए ।

पोखरामा शुक्रबार आयोजित नेकपा एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा ओलीले भने, ‘पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’

केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला ! भन्दै उनले पोहोरपरार भनेको सम्झिँदै भने, ‘जुँगा कालाकाला भएका छन् । अहिले मेरो कपाल पलाउन थालेको छ । मेरो सबै कपाल झरेको थियो । अहिले पलाउन थालेको छ । रोपेको होइन आफैँ पलाउन थालेको छ । अस्ति नै मैले भनेँ– २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’

अहिलेको सत्ता नेतृत्वकर्ता दल माओवादीमा प्रचण्डको प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । ओलीले पनि हाकाहाकी चुनौती दिए । देउवाले उनीहरूको जस्तो मुख नखोले पनि उही लयमा छन् । यसले राजनीतिमा पुस्तान्तरणको माग गर्नेहरू ‘माछो माछो भ्यागुतो’ को खेलजस्तोमा परेका छन् । यसले युवा पुस्तामा राजनीतिप्रति वितृष्णा जगाएर पलायनको अवस्थामा पु¥याएको मात्र छैन, लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया