यो वर्ष पनि जिब्रो छेड्दै छन् सुजन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएका छन् ।

नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।

चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए ।

यसअघि ९ पटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले ३ दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिए ।

जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चारदाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।

प्रतिक्रिया