प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

काठमाडौं । कवि विप्लव प्रतीकद्वारा लिखित हाइकुसंग्रह ‘शाडेनफ्रोएडा’ बजारमा आएको छ । संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर शनिबार लेखकले उक्त कृति सार्वजनिक गरे । विप्लवले हाइकुसंग्रह पहिलोपटक पाठकमाझ ल्याएका हुन् । उनले सन् २००६ तिर हाइकुसँग नजिकिएको बताए । उनले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाई यहाँसम्मको यात्रा गराएको हो ।’

यस संग्रहका अक्षर कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट छापिएका छन् । उनले हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर आफूले निजी संग्रहमै सीमित राखेको सुनाउँदै भने, ‘बजारलाई हेरेर नभइ कृतिको आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेशन्स नेपालयका सम्पादक तथा प्रकाशकहरुले तत्परता देखाएकोमा म आभार प्रकट गर्दछु ।’ संग्रहमा अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकु समावेश गरिएको छ । नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले लेखनका अन्य विधाहरुसँगै काव्य विधालाई पनि फैलाउन आफूहरु प्रयत्नशील रहेको बताइन् । उनले भनिन्, ‘पहिलोपटक हाइकुहरुको संग्रह प्रकाशन गर्न पाउँदा खुसी लागेको छ ।’ संग्रहको चार सय ९५ रुपैयाँ मूल्य राखिएको छ साथै ई–बुकका रुपमा समेत उपलब्ध छ ।

प्रतिक्रिया