वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

मकवानपुर । वैदेशिक रोजगारको बहानामा ठगीका घटनाहरूले पछिल्ला दिनमा विकराल रूप लिएको छ । पछिल्ला आठ महिनामा वैदेशिक रोजगारीका नाममा ठगी भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मात्रै ४५ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा शाखाका नायब सुब्बा रामचन्द्र सापकोटाका अनुसार यीमध्ये अधिकांशमा विदेश पठाउँछु भनेर पैसा लिएर नपठाउने खालका घटना बढिरहेका छन् । कतिपयले एउटा प्रकृतिको कामका लागि भनेर कामदार पठाएर अर्कै जोखिमपूर्ण काममा लगाउने त कतिले भिजिट भिसामा उडाएर अलपत्र बनाएको पाइएको छ ।

पछिल्लो समय रुसबाट युद्धग्रस्त क्षेत्रमा पुगेका नेपालीहरूको मृत्युको खबर आउन थालेपछि झस्किएका ती युवाहरू अहिले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अधिकारीहरूमार्फत ठगीको उजुरी लिएर जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका छन् ।

गत साउनयता दर्ता भएकामध्ये मुद्दा फाँटबाट जम्मा पाँच वटाको मात्र किनारा लागेको छ । सापकोटा भन्छन्, ‘वैदेशिक रोजगारका सन्दर्भमा प्रशासनले मुद्दा चलाउन मिल्दैन । यो अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ । यहाँबाट प्रारम्भिक छलफलमा मेलमिलाप गराउनेसम्म मात्र हो ।’

सामी कार्यक्रमकी परामर्शकर्ता पार्वती विकका अनुसार जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कतिपय मानिसहरू ज्यादा कमाइको लोभमा ठगीको सिकार हुने र जोखिमपूर्ण श्रम गर्नुपर्ने बाध्यतामा छन् । ‘अझ डरलाग्दो कुरा के हो भने वास्तविक ठगीमा परेका निकै कम मानिसहरू मात्रै मुद्दामामिलाको तहसम्म आइपुग्छन्’, विक बताउँछिन् ।

सामी कार्यक्रम संयोजक अन्जिता थापामगर यसरी ठगिनेमा धेरैजसो शिक्षित यृुवा नै भएको बताउँछिन् । उनी भन्छिन्, ‘दलालहरू त ठगी गर्ने नयाँनयाँ तरिका निकालिरहन्छन्, कुनै पनि बहानामा गैह्रकानुनी बाटो अपनाउनु भएन’, मगरको भनाइ छ ।

प्रतिक्रिया