मधेस ब्यूरो । रौतहटको गुजरा नगरपालिका– ९ मा खानेपानीबाट धारामा पानी नआउँदा करिब आधा दर्जनभन्दा बढी गाउँका उपभोक्ता मारमा परेका छन् । अमतवा भवानीपुरमा रहेको पानीट्यांकीको धाराको पानी अवरुद्ध भएको छ ।
खानेपानीको विद्युत लाइन काटिएपछि पानी आउन छाडेको हो । खानेपानीको बक्यौता महसुल बुझाउन नसक्दा लाइन काटिएको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको करिब ६ लाखभन्दा बढी बक्यौता रहेको बुझिएको छ । बक्यौता महसुल तिर्न उपभोक्ता समितिले कुनै चासो नलिएको उपभोक्ताको आरोप छ ।
बिगत चार दिनदेखि धारामा पानी आउन छाडेपछि पानीको हाहाकार भएको छ । उक्त पानीट्यांकीबाट अमतवा, भवानीपुर, भंगहा, जयराजपुर, दयालपुर, पर्ति टोल अमतवा गाउँमा घरघरमा धारा जडान गरिएको छ । तर पानीट्यांकीबाट जडान गरिएको धारामा पानी आउन छाडेको छ ।
खानेपानीको धारामा पानी नआउँदा उपभोक्तालाई खानेपानीको निकै समस्या भएको छ । धारामा पानी आउनै छाडेपछि खानेपानीका सयौँ उपभोक्ता सास्ती खेप्न बाध्य छन् । स्वच्छ खानेपानीको अभावमा अमतवा भवानीपुर खानेपानीका उपभोक्ता कलको दुषित पानी पिउन बाध्य भएका छन् ।
समितिको हिसाव अपारदर्शिता, एउटै कर्मचारी खानेपानी र नपाको स्वास्थ्य शाखामा काम गर्नु,खानेपानी मिटर रिडिङ्ग, विल तथा रकम समयमा असुल हुन नसक्नु, खानेपानी दिँदा पनि पानीको प्रेसर नहुनु, खानेपानीबाट पनि सिचाई गरेको, कर्मचारीहरु तथा खानेपानी समितिको लपरवाही जस्ता जन समुदायको गुनासो रहेको छ ।
धाराको पानीको लागि आफूहरू प्रत्येक महिना शुल्क बुझाउन तयार भए पनि कर्मचारीहरु प्रत्येक महिना बिल काट्न आउनै छाडेको उपभोक्ताको गुनासो छ । खानेपानीका कर्मचारीहरुको चरम लापारवाही रहेको उनीहरुको भनाइ छ ।
धारामा पानी नआउँदा कलको दुषित पानी खाँदा विभिन्न किसिमको रोग लाग्न सक्ने भन्दै उपभोक्ताहरूले तत्काल धारामा पानी दिन समितिसँग माग गरेका छन् । यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनुठा धामीसँग बुझदा यसअघि प्राधिकरणलाई महसुल स्वरुप रु २ लाख बुझाएको जानकारी गराए ।
अझै अन्दाजी करिब ६ लाख विद्युत महसुल बुझाउन बाँकी रहेकाले प्राधिकरणले लाइन काटिदिएको उनले बताए । छिट्टै लाइन जोड्न लगाई उपभोक्ताको धारामा पानी पुर्याउन प्रयास गरिरहेको उनले बताए । उनले यो विषयलाई नगरपालिकामा पनि अवगत गराएको बताए । अध्यक्ष धामीले छिट्टै नै समस्या समाधान हुने आश्वासन दिए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया