मधेश ब्युरो । सशस्त्र प्रहरी परिवार महिला संघद्वारा शनिवार रौतहटमा आयोजना गरिएको एक दिवसीय निशुल्क स्वास्थ्य परीक्षण शिविरमा एक हजार चार सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउनेमा महिला, वृद्धवृद्धा र बालबालिकाको संख्या बढी रहेको सशस्त्र प्रहरीका डिएसपी अमर लामाले जानकारी दिए । रौतहटको परोहा नगरपालिका–४ लौकाहास्थित माध्यमिक विद्यालयमा शनिवार बिहान शिविर सञ्चालन भएको थियो ।
शिविरलाई सशस्त्र प्रहरी परिवार महिला संघको अध्यक्ष सुनिता लामिछाने अर्यालले शिविरको उद्घाटन गर्दै सर्वसाधारणको स्वास्थ्य क्षेत्रको समस्यालाई समाधानमा मद्दत गर्ने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघले शिविरको आयोजना गरेको बताएकी थिइन् । स्वास्थ्य समस्यामा परेकाले शिविरबाट लाभ उठाउने आशा रहेको उनले बताइन् ।
परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरी रौतहटका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाको कर्णेल गंगाबहादुर विष्ट, सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनयकुमार सिहसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।
नेपाल एपिएफ अस्पतालका चिकित्सकहरुद्वारा गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा स्थानीयको पनि सहयोगपूर्ण उपस्थिति रहेको थियो । ‘सशस्त्र प्रहरी बल नेपालको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत’ नेपाल एपिएफ अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा निशुल्क स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
शिविरमा साधारण स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको समेत परीक्षण गरिएको थियो ।
प्रतिक्रिया