बारा । सबैले सुनेको र देखेको होला केही व्यक्तिले सार्वजनिक जग्गा हडपेर किर्ते गरेर निजी जग्गा हो भनेर प्रमाण पेस गर्छ तर पर्सामा ठिक त्यसको विपरीत भएको देखिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–११ मा निजी जग्गालाई केही व्यक्तिहरूले सार्वजनिक जग्गा हो भनेर कब्जा गरेर मन्दिर बनाउन लागेको घटना बाहिरिएको छ । वीरगञ्ज महानगरपालिका रानीघाटस्थित रहेको श्रीराम जानकी मठ मन्दिरको छेउमा रहेको जग्गालाई मठकै जग्गा हो भनेर अहिले कब्जा गरेर धमाधाम मन्दिर निर्माणको कार्य भइरहेको भेटिएको छ ।
वीरगञ्जको रानीघाटस्थित श्रीराम जानकी मठ मन्दिरको छेउमा रहेको ७ कट्ठा १५ धुर जग्गा केही व्यक्तिहरूले सार्वजनिक जग्गा हो भनेर कब्जा गरेपछि अहिले पीडित परिवार न्यायको खोजीमा भौतारीरहेको छ । वीरगञ्ज महानगरपालिका–१० बस्ने प्रदीप रौनियारको नाममा रहेको ७ कट्ठा १५ धुर जग्गाको लालपूर्जालगायत अन्य कागजात रहे पनि केही अराजक व्यक्तिहरूले उक्त जग्गाको मठको जग्गा रहेको र आफूहरूले कुनै पनि हालतमा कुनै व्यक्ति विशेषलाई दिने अडान लिएपछि अहिले पीडित परिवार न्यायको खोजीको माग गर्दै भौतारीरहेको छ । आफू तीन भाइ रहेको र अंश भागमा आफूलाई बुबाले ७ कट्ठा १५ धुर जग्गा दिएको र आफूसँग लालपूर्जा, मालपोतमा कर तिरेको रसिद हुँदासमेत केही व्यक्तिहरू मिलेर आफ्नो निजी जग्गा हडपेको जग्गाधनी प्रदीप रौनियारले बताए ।
यता वीरगञ्ज महानगरपालिका–११ को कार्यालयले नक्सा पासको लागि सिफारिस दिएको भए पनि महानगरले नक्सा पास नगरेपछि पीडित परिवार विचलित बनेको थियो । प्रदीप रौनियारले आफ्नो निजी ७ कट्ठा १५ धुर जग्गामा बनाएको टहरासमेत केही व्यक्तिहरूको समूहले भत्काएको थियो भने पछि महानगरले बाँकी रहेको टहरामाथिसमेत डोजर चलाएर भत्काएको थियो । निजी जग्गामा रहेको घरटहरा भत्काउने कसैलाई छुट हुँदैन तर निजी जग्गामा रहेको घर र टहरा भत्काए पनि प्रहरी प्रशासन मूकदर्शक बनेपछि पीडित परिवारले अहिले नेपालबाट न्याय नै हराएको अनुभूति भएको बताए ।
यता वीरगञ्ज महानगरपालिका–११ को वडाध्यक्ष अजय चौरासियाले प्रदीप रौनियारले वडामा सिफारिसका लागि पेस गरेको कागजातको आधारमा प्रदीप रौनियारको निजी जग्गा रहेको बताए । उनले प्रदीप रौनियारले वडामा नक्सा पासका लागि सिफारिस लिन आएको बेला पेस गरेको कागजातले उक्त जग्गा रौनियारकै भएकोले गर्दा आफूले वडाबाट नक्सापासको सिफारिस गरेको तर केही व्यक्तिहरूले पछि त्यो मठको जग्गा हो भनेर त्यहाँ निर्माण भएको टहरा भत्काएको बताए । धर्मको नाममा कसैको निजी जग्गा हडपेर मन्दिर बनाउने कानुन विपरीत भए पनि प्रहरीले केही खास कदम उचाल्न सकेको छैन ।
२०४६ सालमै उक्त जग्गा प्रदीप रौनियारको नाममा रहेको मालपोत कार्यालयको रेकर्डमा देखिए पनि कसरी निजी जग्गा सार्वजनिक भयो भनेर प्रश्नसमेत उठन थालेको छ । प्रदीप रौनियारसँग सक्कल लालपूर्जा र जग्गाको मालपोतमा कर तिरेको रसिद हँुदा पनि केही व्यक्तिहरूले धर्मको नाममा राजनीति गरेर जग्गा हडपेर अहिले मन्दिर निर्माणको काम अगाडि बढाएको कुरा प्रहरीलाई खबर गर्दासमेत प्रहरीले निर्माणाधीन कार्य रोक्न सकेको छैन । अहिले उक्त जग्गाको मुद्दा उच्च अदालत वीरगञ्जको अस्थायी इजलास जनकपुरमा विचाराधीन रहेको छ । पीडित परिवार न्यायको माग गर्दै भौतारिरहेको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले १८ पुस २०८० मा निषेधाज्ञा आदेश जारी गरेको थियो । प्रदीपकुमार रौनियारले ताराचन्द्र प्रसाद कुर्मीसमेत १२ जनालाई विपक्षी बनाई निषेधाज्ञाको मुद्दा दर्ता गरेका थिए । जसमा न्यायाधीश अर्जुन महर्जनको इजलासले निवेदक रौनियारको तर्फबाट अधिवक्ता हरिकृष्ण अधिकारीको एकपक्षीय बहसका आधारमा अन्तरिम आदेश जारी गरिएको थियो ।
जसमा भनिएको थियो, ‘कित्ता नम्बर ५५ को जग्गा मिसिल संलग्न नक्सा पास, लिइएको सिफारिस समेतबाट निवेदककै हक भोगको देखिएको अवस्था हुँदा भोगचलनमा बाधा विरोध गर्ने, मूर्ति राख्ने, कब्जा गर्ने कुनै भौतिक संरचना निर्माण गर्नेजस्ता कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । तर, पछि अदालतले निषेधाज्ञा हटाएपछि पीडित परिवार झन् न्याय नपाउने हो कि भनेर विचलित बनेको छ ।
४ साउन २०४४ मा रजिस्टे«सन नम्बर २५ बाट उक्त ७ कट्ठा १५ धुर जग्गा प्रदीप रौनियारको नाममा पास भएको थियो । वीरगञ्ज महानगरपालिका–११ (साविक–१४) स्थित साविक कित्ता नम्बर ३७ हो । २०५९ चैत १४ मा उक्त जग्गा फिल्ड बुकमा प्रदीप रौनियारको नाम कायम भएको छ ।
बारा
प्रतिक्रिया