मधानी अनुष्ठान : हिजो र आज

कामरनाथुहरूको समूहलाई गफला भनिन्छ । गफलाको प्रमुख जमदार हुन्छन् । जमदारपछि खजान्ची अनि सिपाही पनि हुन्छन् । सिपाही हरेक गाउँमा र जमदार तथा खजान्ची एक जना मात्र हुन्छन् । गफलामा कम्तीमा १० भन्दा बढी गाउँ समेटिएको हुन्छ । गाउँमा कसैले लखराँव वा मधानी वा दुवै गर्ने भाकल गरेका छन् भने तिनी पहिलेदेखि नै सिपाहीको सम्पर्कमा हुन्छन् । सिपाहीलाई श्रीपञ्चमी वा महाशिवरात्रीको समयमा कहिले यज्ञ गर्नु छ भनेपछि सिपाहीले गफलाका सबै सिपाही तथा जमदार र खचान्जीसहितको बैठक बसेर कार्ययोजना बनाउँछन् ।

आरके श्रीवास्तव

नारायणी पूर्व र कोशी पश्चिमको चुरेभन्दा दक्षिणको गंगासम्मको क्षेत्र शिवपूजाको विशेष क्षेत्र हो । यस क्षेत्रमा महादेवलाई पूजा गर्ने सांस्कृतिक परम्परा आफ्नै किसिमको रहेको छ । यस क्षेत्रमा शास्त्रीय तथा लोकपरम्परा दुवै पद्धतिले देवाधिदेव महादेवको पूजा अर्चना गर्ने चलन रहेकोमा मधानी महायज्ञ शिवपूजनको लोकविधि हो ।

शिवलाई विशेष पूजा गर्ने एउटा लोकपरम्परा कामरनाथुहरूको रहेको छ । कामरनाथु भनेका विशिष्ट बोलबमहरू हुन् । कामरनाथुलाई कमरथुआ पनि भनिन्छ । कमरथुआहरूले नै मधानी महायज्ञ गराउने गर्दछन् ।

बोलबम कामरनाथुहरूले शिवको यज्ञ गर्दै शिवको विवाह गराउँछन् । शिवको विवाहमा सबै कलाकारहरू कामरनाथु नै हुन्छन् । विवाह सांगीतिक पद्धतिले हुन्छ । शिवको प्रचलित भेष हुन्छ भने शिवका गणहरू आफ्नै भेषभूषा र पहिरनमा हुन्छन् । पार्वतीको भेषमा पनि कामरनाथु नै हुन्छन् । शिवको विवाहको गीति नृत्य नै मधानी महायज्ञको मुख्य आकर्षण हुन्छ ।

मधानी महायज्ञमा कुनै पनि पण्डित वा पूजारीको आवश्यकता पर्दैन । सबै विधि तथा पद्धतिहरू कामरनाथुले नै सम्पन्न गर्ने गर्दछन् । कुनै पण्डित पुरोहितको आवश्यकता नपर्ने तथा लोकरीतिअनुसार शिव र पार्वतीको विवाह गराइने भएकोले यस अनुष्ठानलाई वैदिक कालभन्दा पूर्वको मानिएको छ । लोकगीतमै विवाहको विधि सम्पन्न हुने, गीत गाएर विवाहको कथा अगाडि बढाइने तथा अन्य व्यवहारहरू नितान्त गाउँघरको परम्पराअनुसार हुने भएकोले पनि यस अनुष्ठानलाई पूर्ववैदिक मानिएको हो ।

बाराको पूर्वी क्षेत्र, सम्पूर्ण रौतहट र सर्लाही तथा महोत्तरीसम्म पहिले मधानी हुने गरिएको भए पनि अन्यत्रबाट लोप हुँदै जाँदा रौतहटमा भने यो परम्परा जीवन्त रहेको छ । मधानी कसले गराउने भन्ने कुराको निर्णय कम्तीमा एक महिना पहिले नै गरिएको हुन्छ ।

कामरनाथुहरूको समूहलाई गफला भनिन्छ । गफलाको प्रमुख जमदार हुन्छन् । जमदारपछि खजान्ची अनि सिपाही पनि हुन्छन् । सिपाही हरेक गाउँमा र जमदार तथा खजान्ची एक जना मात्र हुन्छन् । गफलामा कम्तीमा १० भन्दा बढी गाउँ समेटिएको हुन्छ । गाउँमा कसैले लखराँव वा मधानी वा दुवै गर्ने भाकल गरेका छन् भने तिनी पहिलेदेखि नै सिपाहीको सम्पर्कमा हुन्छन् । सिपाहीलाई श्रीपञ्चमी वा महाशिवरात्रीको समयमा कहिले यज्ञ गर्नु छ भनेपछि सिपाहीले गफलाका सबै सिपाही तथा जमदार र खचान्जीसहितको बैठक बसेर कार्ययोजना बनाउँछन् । कुन कुन गाउँमा लखराँव र मधानी यज्ञ गर्नु छ भन्ने यकिन भएपछि कम्तीमा एक दिन सबैको यज्ञकर्ताको घरमा दिने गरी गफलाका कामरनाथुहरू घरबाट पूर्णतया साधुको भेषमा कामर बोकेर निस्कन्छन् । अनि यज्ञ गराउँदै अन्तिम दिन सधैँ हरेक वर्ष पुग्ने गरेको शिवालयमा पुगेर यज्ञसहित जलाभिषेक गरी अबिर उडाउँदै घर फर्कन्छन् ।

लखराँवमा काँचो माटोको कम्तीमा सबा एक लाख शिवलिंग बनाइन्छन् । शिवलिंगचाहिँ बाह्मणले मात्र बनाउने चलन छ । बढीमा नौ वा ११ लाखसम्म शिवलिंग बनाउँछन् भाकलअनुसार । हरेक शिवलिंगमा बेलपत्र अनिवार्य चढाउनै पर्छ । यसै गरी विभिन्न फूल, धतुरो, भाङ आदि शिवलाई चढाइने सामग्रीहरू अर्पण गरिन्छ । साँझपख विधिपूर्वक पूजा हुन्छ । यज्ञ जसले गराएको भए पनि गाउँका अधिकांश नरनारीचाहिँ व्रत बसेका हुन्छन् । प्रायः सूर्यास्तसँगै लखराँव पूजा सम्पन्न हुन्छ र राति खाना खाएपछि मधानी सुरु हुन्छ । मधानी रातभर गर्नै पर्ने चलन रहेको छ । मधानी अनुष्ठानमा राति सुत्नु हुँदैन । बिहान सूर्याेदय भएर घाम झुल्किइसकेपछि मात्र यो अनुष्ठान पूरा भएको मानिन्छ ।

मधानी सकिएपछि सरभङ र कलैया लगायतका जातका मानिसहरू यज्ञ गर्नेको घरमा आएर भिक्षा माग्दछन् । भिक्षामा अन्न, वस्त्र, द्रव्य आदि माग गर्ने गर्दछन् । यी जातका मानिसहरू आफूलाई भगवान् शिवका नन्दी तथा गणका अन्य दूतका सन्तान मान्ने गर्दछन् र जहाँ भगवान् शिवको अनुष्ठान हुन्छ त्यहाँ आफ्नो हक लाग्ने गरेको बताउँछन् । अचम्म त यो छ कि यी जातिका मानिसहरू बारा र रौतहटमा मात्र पाइन्छन् भनिन्छ ।


मधानी अनुष्ठानमा कुनै जातीय बन्धन छैन । जुनसुकै जातिकाले पनि गर्ने तथा गराउने गरेको पाइन्छ तर मधेसमा मुख्यतया थारू जातिले कलाकारितामा आफ्नो अब्बलता र वर्चस्व दुवै कायम गरेकाले कामरमा पुगेका थारू जातिका कामरनाथुहरूले भने मधानी अनुष्ठानमा निर्वाह गरेको भूमिका जीवन्त हुने गरेको छ । कलाको प्रस्तुतिको दृष्टिकोणले मधानी यज्ञको संरक्षणमा थारू जातिको विशेष योगदान रहेको छ ।

शिवलाई देवताहरूको पनि देवता मानिएको छ । शास्त्रअनुसार सृष्टिको उत्पत्ति महाशिवरात्रीको दिन भएको तथा देवताहरूले पनि शिवलाई देवता अर्थात् महादेव वा देवाधिदेव मानेको दिन पनि यही हो । यसैले यस दिनको सम्झनामा गरिने लखराँव पर्वलाई शिवको राज्याभिषेकको प्रतीकको रूपमा लिइन्छ भने मधानी अनुष्ठानलाई विवाहोत्सवको प्रतीकको रूपमा मानिन्छ । स्मरणीय छ, शिवको विवाह पनि महाशिवरात्रीकै दिन भएको थियो । सामान्यतया राज्याभिषेक दिउँसो र विवाह राती गरिने चलन रहेको मधेसमा लखराँव दिउँसो र मधानी राती मनाइने चलन रहेको छ ।

परम्परादेखि चल्दै आएको मधानी महायज्ञ ह्रासोन्मुख अवस्थामा रहेकोमा केही वर्षदेखि रौतहट मौलापुर नगरपालिकाले वडा–५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञको आयोजन गर्न थालेको छ । इतिहास, संस्कृति र मौलिकताको संरक्षणमा विशेष ध्यान दिएको मौलापुर नगरपालिकाले देशका विशिष्ट र सम्मानित व्यक्तित्वहरूलाई हरेक वर्ष निम्त्याउने गरेको छ । यसै गरी हिन्दी, भोजपुरी तथा नेपाली सिनेमाका गायक, प्रसिद्ध कलाकारहरूलाई बोलाएर मधानीलाई प्रबद्र्धन गरिरहेको छ । यहाँ रहेको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, यस क्षेत्रको पुरातात्विक उत्खनन तथा अन्वेषण गराउने र सुन्दर शिवधामको रूपमा यस नगरीलाई चिनाउने उद्देश्यले नगरपालिकाले प्रसंशनीय सुरुआत गरेको छ ।

करिब लोपोन्मुख अवस्थामा भइसकेको मधानी अनुष्ठानलाई मौलापुर नगरपालिकाले सार्वजनिक कार्यक्रमको रूपमा आयोजना गर्न थालेपछि यस अनुष्ठानले पुनरुद्धार पाएको छ भने यस लोकअनुष्ठानको चर्चा विश्वव्यापी हुन थालेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया