रौतहट । महाशिवरात्रि पर्वको अवसरमा रौतहटको प्रसिद्ध शिवनगर महादेव मन्दिर दर्शन गर्न आएका वृद्धवृद्धा, अशक्त, अपांगता भएका व्यक्ति र महिला तथा बालबालिका दर्शन गर्न नपाई फर्किनुपरेको छ । शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म पुगेका उनीहरू दर्शन गर्न नपाउँदा निराश बनेर फर्केका छन् । मन्दिरको लाइन व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक मोहन कृष्णले वृद्धवृद्धा र अशक्तता भएकाहरूलाई छुट्टै लाइनको व्यवस्था नगरेका कारण टाढाटाढाबाट आएका भक्तजन यत्तिकै फर्किनुपरेको आरोप लागेको छ ।
मन्दिर प्रवेशका लागि ४ वटा द्वार भए पनि शिवरात्रिको दिनमा पनि एउटा गेटबाट मात्र प्रवेश गराएका कारण समस्या भएको हो । सामान्य व्यक्तिहरू र वृद्धवृद्धा, महिला, बालबालिका र अशक्तता भएकाहरूलाई एकै लाइनबाट प्रवेश गराउँदा दर्शन गर्न नसकेको एक वृद्धाले बताइन् । मन्दिरका ४ गेटमध्ये एउटाबाट प्रवेश गर्ने र ३ वटाबाट निस्किने व्यवस्था गरिएको थियो ।
भाकल पूरा गर्न आउने बिरामी, भोको बसेर व्रत गरेकाहरू तथा जमिनमा घिस्रिएर ‘दण्डवत्’ गर्न आउने श्रद्धालुहरूले धेरै दुःख बेहोर्नुपरेको बताएका छन् । प्रहरी निरीक्षक कृष्ण आफैँ मन्दिर परिसरमा छालाको जुत्ता लगाएर प्रवेश गरेको दर्शनार्थीहरू बताउँछन् । अपांगता भएका, अशक्त, २ दिनदेखि व्रत बसेका श्रद्धालु तथा वृद्धवृद्धाले दर्शनका लागि अनुनय विनय गर्दा पनि प्रनि कृष्णले ‘सबै नेपालीका लागि एउटै नियम भएको’ भन्दै हप्काइरहेका थिए ।
तराईका विभिन्न जिल्लाका साथै भारतबाट पनि आएका श्रद्धालु भक्तजनहरू प्रनि कृष्णको व्यवहारले दर्शन नगरी निराश भएर फर्किन बाध्य भएका हुन् । मन्दिर प्रवेशका लागि रहेको पूर्वतिरको मूलद्वारमा अधिक भिड भएर वृद्धवृद्धा, महिला, अपांगता भएका व्यक्ति, अशक्त तथा ‘दण्डवत्’ गर्नेलाई समस्या भएको थियो । मूल गेटबाहिर लाइन व्यवस्थापनका लागि कुनै प्रहरी नहुँदा ठेलमठेलको अवस्था सिर्जना भएको थियो ।
मुख्य मन्दिरमा दर्शनका लागि प्रवेश गर्दा महिला र पुरुषको पालो मिलाइएको भए पनि मूल गेटबाट प्रवेश गर्नुभन्दा पहिले महिला र पुरुषका साथै सबैलाई सोझै भिडमा छोडिदिँदा मन्दिरभित्र विशेष पूजा गराउन आउनेहरू, कपाल कटाउन आउनेहरू तथा डाँक बमहरू पीडित बनेका थिए ।
प्रनि कृष्णले व्यवस्थापनमा गरेको लापरबाहीका कारण अबदेखि शिवनगरमा मेला भर्न कहिल्यै नआउने ७१ वर्षीया बुढी आमालाई दर्शन गराउन ल्याएका सर्लाही सिसौटियाका एक दर्शनार्थीले प्रतिक्रिया दिए । भिडमा आमालाई किचिएर कुनै समस्यामा पार्नुभन्दा बाहिरबाटै ढोगेर निराश हुँदै फर्किएको उनले बताए ।
प्रनि कृष्णको व्यवहारले स्थानीय संस्कृतिमा नकारात्मक प्रभाव पर्ने स्थानीय बताउँछन् । बाहिरबाट आएका भक्तजनले यहाँको बारेमा नराम्रो सन्देश लिएर जाने भएकाले यसमा गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ ।
यस विषयमा सशस्त्र प्रहरी बल रौतहटका प्रमुख विक्रम हुमागाईसँग बुझ्दा उनले आफूहरूको काम व्यवस्थापन गर्ने नभई सुरक्षा दिने भएको बताए । ‘व्यवस्थापनका लागि मन्दिरले समिति बनाएको हुन्छ, हाम्रो काम सुरक्षा दिने हो,’ उनले भने, ‘त्यही पनि के भएको रहेछ, म बुझ्छु ।’
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया