टी– २० सिरिज : उपाधिको लागि नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज क्रिकेटअन्तर्गत फाइनल खेलमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल र नेदरल्याण्ड्स आज फाइनलमा उपाधिको लागि भिड्न लागेका हुन् ।

नेपालले आज आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

आजको फाइनल खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्याण्ड्सबीचको खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँड्दै नेदरल्याण्ड्स फाइनलमा पुगेको थियो ।

नामिबियासँग अंक बाँडेपछि नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । दोस्रो भएको नेपालको ४ अंक रहेको छ । नेपालको कप्तानी रोहित पौडेल र नेदरल्याण्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्याण्ड्स ४ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।

नेपाल नामिबियासँग २० रन र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।

प्रतिक्रिया