सम्बन्ध विच्छेद

मैले २०३० सालमा विणु अर्थात नागरिकताको नाम फूलमायासँग विवाह गरेँ । त्यसपछि मात्र त्यो दुःखान्त कथा सुनँे । मेरो जीवनमा अनेकन पश्चत्तापको आगोले डामेको छ । सहेरै हिँडेको छु । यो मेरो धैर्यता आवेग र विवेकहीनताको परिणाम पनि हुन सक्छ । मधुमल्लामा मलाई राजनीतिक पर्टीमा संलग्न गराउने कामरेडहरू लब प्रधान जेबी टुहुरे र अन्य कामरडेहरू विराटनगर जेलमा बन्दी हुनुहुन्थ्यो र उहाँहरूलाई भेटने क्रममा भाञ्जी मीठुद्वारा विणु अर्थात फुलमायासँग मेरो वैवाहिक सम्बन्ध गाँसिन पुग्यो ।

मानधोज मोक्तान

मानिसको सम्बन्ध कसरी जोडिन्छ र चुँडिन्छ अर्थात विच्छेद हुन्छ ? भन्ने प्रश्न आफ्नो ठाउँमा छ, तर यो एउटा दर्दनाक घटना हो मान्छेको जिन्दगीमा । ३९ वर्षसम्म घामपानी सहेर एकअर्काको मुटुको धड्कन सुन्दै एउटै ओछ्यानमा सुतेका मनहरू कसरी टुटेर अन्तमा सम्बन्ध नै चुँडिन पुग्छ, त्यो कस्तो हो मान्छेको मन ? म आफैँलाई केलाउन थालेँ ।

बाल्य अवस्थादेखि उनीसँग भेट हुँदाको समयलाई कोट्याएर हेरेँ । घरको कमजोर आर्थिक अवस्थाका कारण पढ्ने इच्छा भएर पनि स्कुल जान नसकी बाध्यताले भौँतारिएर हिँडेको एउटा ठिटो म । काम गर्दै पेट पाल्दै मुस्किलले बिए पास गरी एउटा सानो जागिरमा लागेको, कम्युनिस्ट राजनीतिमा संलग्न भई २६–२७ वर्ष बिताइसकेको, समाजले चिन्ने लक्का जवान, प्रफुल्ल भनेर चिनिने भइसकेको थिएँ म ।

विराटनगर देवकोटा चोकबाट अलि उत्तरतिर रहेको जेलमा लब प्रधान, जेबी टुहुरे र अन्य साथीहरू भेट्न जाने गर्थें । जेलको दक्षिण पूर्वपट्टि परिवार नियोजनको सरकारी कार्यालय र क्वार्टर एकै ठाउँ थियो । म जेलबाट साथीहरू भेटेर फर्किंदै गर्दा त्यो क्वार्टरको छतबाट मामा… मामा… भनेर बोलाएको सुनेँ । उभिएर हेरेँ मिठु भाञ्जी रहिछन् । म त्यहाँ गएँ । उनकी फुपू त्यही क्वार्टरमा नर्स रहिछिन् । मलाई भाञ्जीले परिचय गराइन् उनको नाम विणु रहेछ । त्यसदिन त्यहाँ चिया खाएर हिँडँे ।

एक हप्तापछि फेरि साथीहरू भेट्न जेल जाँदा पनि भाञ्जी त्यही रहिछिन् । त्यस दिन पनि भाञ्जीले बोलाइन् । भाञ्जीकी फुपूले खाना खाएर जान जोड गरिन् । त्यो दिन म खाना खाएर निस्किँदा बेलुकीको आठ बजिसकेको थियो । देवकोटा चोकबाट रिक्सा लिएर आफ्नो कोठा बरगाछीतिर लागेँ । जेलमा साथीहरू भेटन जाने दिनबाहेक पनि म त्यहाँ जान थाले । यसरी हाम्रो सम्बन्ध स्थापित हुँदै गयो । यो २०३० सालको कुरो हो । त्यही सम्बन्धले बैवाहिक बन्धनमा बाँधियौँ । भाञ्जीकी आमा र मेरो थर एउटै भएकाले मैले दिदी मानेको थिएँ । उनैकी कान्छी नन्द थिइन्, भाञ्जीकी फुपू अर्थात विणु ।

म २०२८ सालमा विश्व स्वास्थ्य संगठनअन्तर्गत औलो उन्मूलन संघमा इन्स्पेक्टर भएर मधुमल्ला जाँदा नै थाहा थियो भारतको मध्य प्रदेश ग्वालियरको इन्दौरमा नर्स पढ्दै थिइन् उनी । दिदी भेना अर्थात उनको माइला दाज्यूको घरमा मैले भरतबाट आउँदा एकपटक देखेको थिएँ । त्यस बेला विवाह बन्धनमा बाँधिएला भन्ने सोच तथा कल्पना केही थिएन । उनको नर्सको तालिमको दौरान यहाँ मेरो मन कसैसँग जोडिएको थियो । सौहाद्र्ध सम्बन्धको विकाश भइरहेको थियो । क्रमशः हाम्रो भेटघाट र पत्रद्वारा पनि आफ्ना विचार र भावनाहरू साट्ने गथ्र्यौं । यसै क्रममा उनले लेखेकी थिइन्, ‘तपाईंसँग यदि यो संसारमा भेट्न नसके माथि नीलो आकाशमा भेट्नेछु ।’ उनले लेखेकी ती शब्दहरू अझै मेरो छातीमा अंकित छन् ।
बुधबारको दिन मलाई यसरी पत्र पठाइन् तर शुक्रबारको दिन उनी जमिन्दारको नातीको गाडीमा चढेर उसको घर गइन् । यो खबरले म मुच्र्छित भएको थिएँ । मेरो अघिल्तिरको संसार अन्धकार भएको थियो । मेरो स्वर्णिम सपनाको संसार भताभुंग भएको थियो । म सोचविहीन अवस्थामा पुगेको थिएँ । मानिसको सान्त्वनाको बस्तु आँशु हो । रातभरि रुँदै मैले कुसुमलाई आठ पन्नाको चिठी लेखेँ । त्यो चिठीमा मेरो आँशुका छिटाहरू पनि परेका छन् । त्यो ठाउँ नै छोड्ने निर्णय गरेँ । मेरो अफिसकै फोर म्यान लालबहादुर श्रेष्ठलाई यो चिठी कुसुमलाई दिनु भनेर बिहानै बोेलाएर दिएँ । अनि सुनसरी खोलामा नुहाएर फर्किंदा सधँै चिया खाने पसलमा हल्लीखल्ली भइरहेको थियो । बेलुका उर्लाबारीकी मेजरकी छोरी मण्डलले ल्याएको रे, उर्लाबारी र कुलझोडाको लाहुरेहरू डन्डा खुकुरी लिएर आएर राती नै फर्काएर लग्यो रे ! यो हल्ला सुनेर मन केही शान्त भएजस्तो भए पनि अशान्ति र छटपट भइरह्योे । विराटनगरबाट राजविराज हुँदै निर्मलीको बाटो भएर पर्सीपल्ट म काठमाडौं पुगेँ ।

मधुमल्लामा सानोतिनो व्यापार गर्ने सिलसिलामा मेरो मित मामा अन्तरे लिम्बु पनि आउनुभएको थियो । आलुको होलसेल व्यापार गरेर फारविसगञ्ज लानुहुन्थ्यो । त्यही क्रममा मेरो र कुसुमको सम्बन्ध मामाले थाहा पाउनु भएकोले घरमा मेरी आमालाई भन्नुभएछ, ‘हुनेवाला माइली बुहारी घरानकी र राम्री छ ।’ आमा खुसीले फुरुंग भएर मामाहरूसँग सल्लाह गरी माघ महिनामा मेरो विवाह गर्ने भनेर जाँड पकाउन र अन्य तयारीमा लाग्नुभएको खबर मलाई आयो । यता हाम्रो सम्बन्ध पनि प्रगाढ छँदै थियो ।

तर, दुर्भाग्य भनौँ या भाग्यमा नजुरेको भनौँ २०२८ माघ महिनामै अप्रत्याशित भयंकर हुरी बतास र आँधी आयो । जसले मलाई जीवनको भावशून्य अवस्थामा पु¥याइदियो । त्यही हुरीले मेरो माघ महिनामा घुमघामसँग विवाह गरीदिने आमाको सपना पनि उडाइदियो र मलाई काठमाडौं पु¥यायो । त्यहाँ चिनजान आफन्त इष्टमित्र साथीभाइ कोही थिएनन् । म एक्लो थिएँ । मनभरी पीडा थियो । पुसको ठण्डीमा कैयौँ रातहरू रोएर काटेँ । फक्रिँदै गरेको भरभराउँदो जवानीमा जीवनका धेरै सपनाहरू बुन्ने प्रारम्भीक अवस्थामै स्वच्छन्द मायाको चोटले मेरो मन साह्रै दुःखेको थियो मन बिसाउने ठाउँ कतै थिएन ।

जिन्दगी जिउने, अघि बढ्ने भित्री आत्मबल र प्रेरणा त्यही मायाले दियो । फराकिलो ठूलो सहरमा थिएँ । धरान धनकुटा ताप्लेजुङतिरका आत्मीय साथीहरू बन्न पुगे र मेरो यथार्थ अवस्थाको परिचयले उनीहरूमा म प्रति माया र सहानुभूति पलायो । तीन महिना उनीहरूसँगै राखे । त्यसमध्ये एक जना पद्मसुन्दर लावतीको दाइ हुनुहुन्थ्यो । उहाँले मन्त्री पद्मसुन्दर लावतीकहाँ लागेर जागिर लगाइदिनुभयो । त्यसबेला लावती वाणिज्य मन्त्री हुनुहुन्थ्यो । उहाँले भर्खरै स्थापना भएको जुट विकास तथा व्यापार संस्थान विराटनगरमा मलाई जागिर लाइदिनुभयो । दाइको नाम बिर्सें तर म उहाँ र स्वर्गीय पद्मसुन्दर लावतीज्यूलाई सधँै श्रद्धाले सम्झिने गरेको छु । यसरी म तीन महिनापछि विराटनगर आइपुगेँ ।

मेरो पुरानो अफिस मधुमल्ला गई राजीनामा दिएँ र मैले पाउनुपर्ने पैसा पनि लिएँ । लालबहादुरलाई भेटने उत्कट इच्छाले उसको कोठामा गएँ । गाउँतिर भिजिटमा गएका रहेछन् । दुई दिनपछि आउनासाथ उनी आफैँ मलाई भेटन आए र चिठी दिएपछि के भयो भन्ने वृत्तान्त सुनाए । मेरो चिठी पढ्दै कुसुमले आँशुको ढिका झार्दै रोएको र केही दिनपछि लडेर हात भाँचिएको अनि उनकी आमाले मैले नै धोका दिएको भन्ने गुनासो गरेको सुन्दा म भक्कानिएँ । मेरो कोमल हृदयमा उर्लिएका स्नेहका छाल आँखामा छचल्कियो । मलाई पश्चात्तापले पोल्नुसम्म पोल्यो । किन एकदिन पर्खेर यथार्थ बुझ्ने मेरो बुद्धि आएन ? आफ्नै आावेगको भुमरीमा पिल्सिएँ । धैर्यता र विवेक नपु¥याउनु जीवनमा दुःखान्त कथाहरूको एउटा पात्र हुनुरहेछ भन्ने महसुस गरेँ ।

मैले २०३० सालमा विणु अर्थात नागरिकताको नाम फूलमायासँग विवाह गरेँ । त्यसपछि मात्र त्यो दुःखान्त कथा सुनँे । मेरो जीवनमा अनेकन पश्चात्तापको आगोले डामेको छ । सहेरै हिँडेको छु । यो मेरो धैर्यता आवेग र विवेकहीनताको परिणाम पनि हुन सक्छ । मधुमल्लामा मलाई राजनीतिक पार्टीमा संलग्न गराउने कामरेडहरू लव प्रधान, जेबी टुहुरे र अन्य कामरडेहरू विराटनगर जेलमा बन्दी हुनुहुन्थ्यो र उहाँहरूलाई भेटने क्रममा भाञ्जी मीठुद्वारा विणु अर्थात फुलमायासँग मेरो वैवाहिक सम्बन्ध गाँसिन पुग्यो । दुई छोराहरू सुशील र सुलभ भए । राम्रै स्कुल र कलेज पढाइयो । पढाइमा दुवै राम्रै थिए । पढेर शिक्षित र बौद्धिक मानिस बनुन् भन्ने मेरो ईच्छा थियो । सुलभ खेलकुदमा ध्यान दिन थाल्यो । सुशील संगीततर्फ भए पनि होटल मेनेजमेन्टतिर ढल्कियो र ऊ सन् १९९७ मा युके गयो । उतै काम गर्दै पढ्दै गरेर होटल मेनेज्मेन्टमा उच्च शिक्षा हासिल ग¥यो । विवाह गरी एक नातीसहित छोरा र बुहारी ममता लन्डनमै किन्समा आफ्नै घर किनेर बसेका छन् । सुलभ पनि नेपालमा पढेर काम छैन भन्न थाल्यो र पढ्दै काम गर्ने हिसाबले सन् १९९९ मा लन्डन नै गयो । काम गर्दै पढ्दै थियो । एसिसिएको कोर्ष पूरा गर्न १५ महिना बाँकी हुँदा उसको गर्लफ्रेन्डले नेपाल बोलाइछन् । त्यसबेला म अमेरिकामा थिएँ । सुलभले विवाह गरेको भिडियो क्यासेट अमेरिकामै हेरेँ खुसीले गदगद भएँ । बुहारी रजनीले पनि एमबिए डिग्री प्रथम श्रेणीमा पास गरिछन् । थप खुसी थियो ।

विवाहपश्चात सुलभ आफ्नो कोर्ष पूरा गर्न लन्डन फर्किन आलटाल गर्न थाल्यो । निकै मुस्किलले कोर्ष पूरा गर्न लन्डन पठाइयो, तर सात महिनापछि नै नेपाल फर्कियो । उसका सबै साथीहरू चार्टर एकाउन्टेन्ट भएर लन्डनतिरै सेटल भए । सुलभचाहिँ नेपालमा ताइकन्डोतिर लागेपछि लिटल एन्जल स्कुलमा काम गर्न थाल्यो । मैले २०५० सालमा काठमाडौंं कोटेश्वरमा फोहोरमैला व्यवस्थापनको काम थालनी गरेको थिएँ । त्यो मेरो भाइ दशरथ र कान्छा भाइको छोरा सुधीरको सहयोगमा राम्रै भइरहेको थियो । म सन् २००७ साल अर्थात २०६४ सालमा ६ वर्षपछि अमेरिकाबाट नेपाल फर्कें ।
सन् १९९३ अर्थात २०४९ सालमा जापानको साढे चार वर्ष बसाईंपछि नेपाल फर्किंदा आफ्नो पसिनाको कमाइद्वारा निर्मित सानो घरको छतमुनि त्यस रात आनन्दपूर्वक निधाएको छु । म आफूलाई सर्वहारा ठान्थेँ । श्रीमतीको प्रयासले आफ्नै घर हुँदा त्यो बेग्लै आनन्दको क्षण हुने रहेछ । मेरो कल्पनाको आदर्श परिवार यथार्थतामै सावित हुनेमा म विस्वस्त थिएँ किनभने बुहारी रजनीले पनि पूर्णरूपमा मेरो ख्याल गर्थिन् बाथरुममा सेम्पो सकिन लाग्दा अर्काे तयार हुन्थ्यो । त्यसैगरी पेस्ट अर्को नयाँ तयार हुन्थो ।

यही माहोलमा सुलभले अंशबन्डा माग गरेर वकिलको कार्यालय डिल्लीबजारमा कागजपत्र तयार गरिसकेको रहेछ । म बुटवलबाट कठमाडौं घरमा आउँदा उसको ममीले पनि सुलभले अंशबन्डाको लागि कागजपत्र तयार गरेको होला गएर सही गरिदिनु भनिन् । सोचेँ किन यस्तो भयो होला । म पूर्वको एक गाउँबाट आएर काठमाडौंमा एउटा शीर ओत लाग्ने ठाउँ त छ । के को अंशको माग, भन्ने लाग्यो । त्यही आवेग र भावुकतामा जहाँ भने त्यहीँ दस्तखत गरिदिएँ । त्यही दस्तखतले म उजाड भएको म आफैँलाई थाहा भएन । त्यसैबाट सबै सम्बन्ध विच्छेद भए ।

आफ्नी श्रीमती, छोरा, बुहारीबाट यस्तो होला भन्ने कसरी कल्पना गर्नु । तर मेरो जीवनमा भयो । ठीकै छ श्रीमती छोराबुहारीलाई धन्यवाद सिवाय अरू के भनौँ । तर, तिमीहरू तीनै जनाले याद राख । तिमीहरूले ममाथि ठूलो अपराध ग¥यौँ । मेरो सह्रृदयता र उदारतालाई कमजोरी ठान्यौँ । मैले जीवनमा अनवरत संघर्ष गरेर काठमाडौंमा एउटा बासको व्यवस्था गरेँ । तिमीहरूलाई अगाडि बढ्न एउटा पूर्वाधार बनाइदिएँ । तिमीहरूलाई कम्पनीको मालिक बनाएँ । जुन तिमीहरूले कल्पनासमेत गरेका थिएनौँ ।

रजनी बुहारी, जसलाई मैले हाम्रो घरकी आभुषण हाँै भनेको थिएँ । श्रीमती जसको आश्रयमा म स्वतन्त्र थिएँ । र कहिलेकाहीँ मबाट गल्ती हुँदा मनमा खटकेको तिमीप्रति सम्मान र मायाका भावना अभिव्यक्तिहरू डायरीमा साँचेको थिएँ । जुन रजनी र सुलभले किञ्चित नठानी फोहोरमा फालीदिए । त्यहाँ दैनिक जीवनमा मैले भोगेका अनेकौँ दुःख र पीडाका क्षणहरू संगालेको थिएँ । तिमीलाई सामुन्नेमा व्यक्त गर्न नसकेका कतिपय भावना र विचारहरू डायरीका ती पन्नाहरूमा उल्लेख गरेको थिएँ । अमेरिकी जनरल नर्मन स्वर्चकफले इराक युद्ध हुन एक दिनअघि साउदी अरबको ७० फिट जमिनमुनिको बंकरमा बसेर रातको १२ बजे आफ्नो श्रीमती र छोराछोरीलाई लेखेको पत्रमा मेरो जस्तै भावनाहरू व्यक्त गरेको पत्र पढ्दा म तिमीलाई संझेर रोएको छु ।

निर्मल बर्माको बे दिन पढ्दा तिमीलाई सम्झेको छु । फिल्महरू हेर्दा किताबहरू पढ्दा तिमीलाई देखेकोे छु । यसरी तिमीलाई मनभित्र बोकेर हिँडे । छोरा, बुहारी र नातिको सुखद् भविष्यको कल्पना गरँे । अन्त्यमा मेरो पसिनाले बनाएको घरसमेत बिक्री गरेर मलाई ठेगानाविहीन नागरिकताविहीन उजाड बनायौँ । यो निर्दयता र क्रूरता समाजले बुझ्नेछ । ममाथि गरेको यो पापको अदृष्य पीडाले छट्पटिएर कहीँ तिमीहरू तीन जनाको आँखाबाट रगतको आँशु झार्न नपरोस् ।

प्रतिक्रिया