ब्रिटिस काउन्सिलको सातौं एजुकेसन सिम्पोसियम कार्यक्रम

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले सातौँ ‘एजुकेसन सिम्पोसियम’ कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकको पेशागत विकास शीर्षकमा उक्त सिम्पोसियम आयोजना गरिएको थियो ।

काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको छ । समावेशी शिक्षा, कलामार्फत सिर्जनशील शिक्षाको मूल्याकंनका लागि शिक्षणका अभ्यासमा प्रविधिको समायोजनलगायतका विविध विषयमा सिम्पोसियममा परिचर्चा भएका थियो । यी छलफलहरूले नेपालको शैक्षिक क्षेत्रको दिशा तय गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

यो वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजनामा उल्लेख भए अनुरूपको ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकास’ मा केन्द्रित रहेको थियो । शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेशागत विकासका सम्बन्धी ब्रिटिस काउन्सिलको दृष्टिकोण ब्रिटिस काउन्सिलको यससम्बन्धी विश्वव्यापी बुझाइ तथा शिक्षण र शिक्षकको विकासमा रहेको विज्ञतामा आधारित रहेको पनि जनाइएको छ ।

कार्यक्रम उद्घाटनका क्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिक्षाका लागि विश्वव्यापी साझेदारीलगायत कार्यक्रममार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकांक हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको बताए । नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाडौँमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सघाउन प्रतिबद्ध रहेको पनि बताइएको छ ।

ब्रिटिस काउन्सिल नेपालको कन्ट्री निर्देशक शाहिदा म्याक्डोगलले सन् २०३० सम्ममा मध्य आय भएको देशमा स्तरोन्नति हुने लक्ष्य लिएको नेपालले शैक्षिक सुधारको महत्वलाई राम्ररी बुझेको बताए । बलियो शैक्षिक प्रणालीले मानिसलाई व्यक्तिगत सफलताका लागि आवश्यक सिप र ज्ञानयुक्त बनाउनुका साथै देशको आर्थिक वृद्धिदर र सामाजिक विकासको लागि उत्प्रेरकको रूपमा पनि काम गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया