बेलायततिर घुम्दैजाँदा नेपाल भेटियो

उहाँले भन्नुभयो, ‘यी सबै नेपालीकै घर हुन्, गोराहरूका त एकादुयक होलान् । यो देखिएजति सबै नेपाली समाज हो । नेपालीकै कलेज छ, नेपालीकै स्कुल छ, नेपालीहरू खेल्ने चौर, नेपालीहरू नै घुम्ने पार्क, नेपाली खाना पाइने रेस्टुरेन्ट र बजार सबै यतै छ । तीज, लोसार, उँधौलीउँभौली, दसौतिहार नेपालका सबै चाडपर्वहरू यहाँ मनाइन्छन्, झ्याइँझ्याइँ पञ्चेबाजा बजाएर विवाह हुन्छ, नेपाली कला, गीतसंगीत र संस्कृति यहीँ छ । खासमा नेपाल त यहीँ भेटिन्छ ।’

सरोजदिलु

ठ्याक्कै एक वर्षपछि, फेब्रुअरी २१, २०२४ मा बेलायतको यात्रा सुरु भयो । एअर ‘ट्राफिक’ समस्या आएपछि साँझ ५ बजे र ४० मा तय भएको उडान करिव ३५ मिनेट ढिलो गरी कतार एअरवेजको बढेमानको बोइङजेटले जमिन छाड्यो । जेटमा अधिकांश नेपालीहरू थिए । त्यसमध्ये आधाजति कतारमा श्रम गर्न र बाँकीहरू अन्य गन्तव्यका लागि हिँडेका थिए । त्यसमध्येमा म एउटा होश हराएको यात्री, जबकि बेलायत जानैपर्ने बाध्यताले ऋणपान गरेरै भए पनि अनौपचारिक कार्यक्रममा विदेश यात्रा गरिरहेको थिएँ ।

जहाजले उचाइ लिँदै गर्दा म किन हिँडेको ? किन यत्रो ऋणपान गरेर विदेश हिँड्ने मलाई मोह जागेको ? फर्केपछि कसरी पैसा तिर्ने ? लन्डन पुगेर कहाँ बस्ने, कसले खुवाउने ? भन्ने चिन्ताले मेरो प्रेसर घटिरहेको भान हुन्थ्यो । तर, पनि हिँड्नैपर्ने बाध्यता थियो र हिँडियो । जबकी भिसा लगाएर पनि नजानु भनेको सम्बन्धित देशको अपमान गर्नुहुन्थ्यो ।

बोइङ जति आकासिन्थ्यो त्यति नै माथितिर उज्यालो र जमिनमा अध्यारो छाउँदै थियो । अझ गोधुली किरणका रंगहरू बादलमा अनावरण हुँदा सिंगो आकाश सेता, नीला, पहेँला र हरिया, अन्ततः सुनौला भएर सप्तरंगी फूलहरूले ढकमक्क ढाकेझैँ लाग्थ्यो । अनि हामीले कल्पना गरेको स्वर्ग यही नै होला भन्ने भान कसलाई नहुन्थ्यो र ! अध्याँरो छिप्पिँदै जाँदा ती रंगहरू क्रमशः हराउँदै अध्याँरोमा परिणत भए, बाहिर चकमन्न । त्यही चकमन्नताका बीचमा हामी करिब साढे पाँच घन्टापछि कतारको दोहामा अवतरण भयौँ ।

दोहाबाट अब लन्डनको लागि अर्को जहाज समाउनु थियो । त्यसैले सी १९ नम्बरको गेटमा आएर म उही चिन्ताले छटपटिँदै थिएँ । दुईदिनको कार्यक्रममा त भेटघाट गरौँला, घुमौँला, हिँडौला तर त्यसपछिको बाँकी दिन कहाँ बस्ने, के खाने ? पैसा खोइ ? लन्डन आउनुस् भन्नेले के सहयोग गर्लान् त ? कोही त्यस्तो मानिस लन्डनमा भेटियोस्, जसले मेरो बसाईंको व्यवस्थापन गरोस् भनेर मनमनै कामना गरिरहेको थिएँ । चिन्तासँगै लन्डनका नेपालीप्रतिसमेत चिसो पोखिरहेको थिएँ ।

जबकी रेस्टुरेन्टमा दोहोरी गाउने एउटा गायक लन्डन पुग्दा भव्य स्वागत गर्ने, उसको दोहोरो टिकट, खानपानलगायत सवै व्यवस्थापन गरेर कम्तिमा ४–५ हजार पाउन्डसमेत खल्तीमा हालेर पठाउनेले हामीजस्ता लेखक, साहित्यकार, पत्रकारहरूलाई किन वास्ता गर्दैनन् ? त्यस्ता कलाकारहरू आएर एकक्षण स्टेज तताउँछन्, जान्छन्, नेपाल फर्केपछि न तिनीहरूको कुनै सामाजिक योगदान हुन्छ न त तिनले आप्रवसानमा बसेका यी नेपालीहरूका लागि नै कुनै काम गरिदिन्छन् । बरु हामी लेखक, साहित्यकार र पत्रकारहरू त कमसेकम यहाँ दुःख गर्ने नेपालीहरूको अध्ययन गर्छौं, दुई–चार अक्षर लेख्छौँ । सके एउटा ऐतिहासिक दस्तावेज सिर्जना गरेर उनीहरूका लागि सम्पत्ति जोडिदिन्छौँ ।

हाम्रा कुराहरू नेपालका पाठक, राजनीतिक नेता–कार्यकर्ता वा सरकारका प्रतिनिधिहरूले पढ्छन् । त्यसलाई पढेर ती निकायले विदेशमा बसेका नेपालीहरूप्रति केही न केही चिन्ता त पक्कै गर्नेछन् । तर, हामीहरू आउँदा–जाँदा न कुनै चासो हुन्छ, न कुनै सहयोग ! म यही चिन्तामा डुबिरहेको थिएँ । यसबखत एक नेपाली मेरो अगाडि टुप्लुक्क देखापरे । हेर्दा अति सामान्य, लुवाइखुवाइसमेत सरल देखिन्यो । बाँसुरी बोकेको देखेपछि मैले उनलाई नेपाली हुन् भनेर ठम्याईं हालेँ । उनी थिए, बेलायती सेनाबाट निवृत्तीभरण पाएका बाग्लुङका गणेश पुन । बेलायतसम्मको मसँगैको यात्रामा उनी सँगसँगै रहे । उनीसँग व्यक्तिगतदेखि राष्ट्रियताका विषयमा निकैबेर छलफल भयो ।

तुलनात्मकरूपमा जनजातिहरू अत्यन्त सरल मिजास र शालीन संस्कृतिका हुन्छन् । त्यसमा पनि मगर जातिहरू कसैलाई पाप नचिताउने सोझा चरित्रका हुन् । धेरै सोझो, शालीन र मिजासिलो भएकैले उनीहरूलाई कपटी वर्गले लिँडेमगर उपमा दिएका छन् । ढाँटेर, छलेर, लुटेर खान नजान्ने उनीहरूको सौन्दर्य हो । गणेश पुनको बोलाइ, तर्कहरूमा त्यो सुन्दरता प्रष्ट झल्कन्थ्यो ।

हामीले नेपाली समाज, देशको अर्थतन्त्रदेखि युवा पलायनताका विषयमा गम्भीर चिन्ता ग¥यौँ । बास्तवमै नेपालमा गाउँघरका घरआँगन र जमिनहरू मात्र होइन, सहरका ठूलाठूला बंगलाहरू पनि खाली हुन थालेका छन् । रोजगारीका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यताले हाम्रो गाउँघर युवाविहीन भएको छ । भर्खरै विवाह गरेको जोडी छुट्टिन बाध्य भएको, सम्बन्ध मोडिएको, तोडिएको छ । जमिनहरू बाँझो बस्न थालेका छन् भने अमेरिका, युरोप, अस्ट्रेलिया जानेहरू उतै बस्ने र बाबुआमालाई समेत उतै बोलाउने कारणले सहरका घरहरूसमेत रित्तिन थालेका छन् । यसबारेमा हामीले निक्कैबेर चिन्ता ग¥यौँ । यति मात्र होइन, देश किन बनेन त ? भनेर हामीले विभिन्न कोणमा छलफल ग¥यौँ । राज्य र नागरिकको चरित्र र दुवैको बीचमा रहेको कर्मचारीतन्त्रको बारेमा केलाएरै छलफल ग¥यौँ ।

अन्ततः हामी करिब–करिब निष्कर्षमा पुग्यौँ– विकसित मुलुकहरू पुँजीलाई स्टक राख्दैनन्, चलायमान बनाउँछन्, नागरिकहरू कर तिर्छन्, आफूलाई बढी भएको सम्पत्ति अरूको हितमा प्रयोग गर्दछन् तर हामी दक्षिण एसियाका मानिसहरू आफूलाई पुगिसकेपछि पनि लोभलालच गरिरहन्छौँ, जतिसक्दो अरूको खोसेर छोरा–नाती पुस्ताका लागि साँच्न खप्पिस छौँ । कर तिर्न मान्दैनौँ बरु कर छल्नका लागि अनेक प्रयत्न गरिरहेका हुन्छौँ, श्रम गर्नुलाई घृणा गर्छौं, श्रम नगर्नेहरूलाई बढो सम्मान दिइरहेका हुन्छौँ । अरूको थोरै होस् मेरो चै सबैभन्दा धेरै होस्, म अघाऊँ अरू भोकै मरेमरुन् भन्ने सोच पाल्छौँ ।

प्राविधिक शिक्षामा जोडदिँदा हाम्रो नैतिक शिक्षा मरिरहेको छ । नैतिकता नै नभएको शिक्षा प्रणालीको विकास गर्दा भ्रष्टाचारीहरू जन्मेका छन् । त्यस्तो नैतिकताविनाको ज्ञान हासिल गर्नेहरूले राज्यका संरचनाहरू चलाउँदा भ्रष्टाचार जताततै संस्थागत बन्दै छ । त्यसैले प्राविधिक शिक्षासँगै मानविकी नैतिक शिक्षा पनि अपरिहार्य रहेछ भन्ने निष्कर्षमा हामी पुग्यौँ । जातीयताको लडाइँले पनि कोहीकसैको भलाइ नहुने, यसो गर्दा बरु देश हार्ने हुनाले सबै जाति र सबैको संस्कृतिको अस्तित्वको स्वीकार, सम्मान र साझेदारी हुनुपर्ने भन्नेमा पुग्यौँ ।

दोहा ट्रान्जिट्पछि पनि ३५ मिनेट जहाज विलम्ब भयो । फेरी उही कतार एअरवेजको बिगबोइङ । अघिल्लोभन्दा अझ ठूलो । सहरहरू हिरामोतीको चहक छरेर बलिरहेका थिए, आकाशका ताराभन्दा अझ सुन्दर किरण छरेर । हामी जमिनका ती सुनौला ताराहरूलाई छाडेर आकाशमाथिका तारा टिप्न उचाइ लिँदै थियौँ । जति पश्चिततिर लागियो, उति रात ढिलो हुँदै थियो । समय फरक पर्ने हुनाले पूर्वतिर रात पर्दैजाँदा पश्मिमतिर क्रमशः उज्यालो हुँदै थियो । जसका कारणले हामी नेपालीको निन्द्रासमेत खलबलिएको थियो । र, करिब ७ घन्टा २० मिनेटको यात्रापछि दोहाबाट लन्डन पुग्यौँ ।

लन्डन इमिग्रेसन इक्जिटमा संसारका सबै रंग र कदका मानिसहरूको क्रमशः जमघट हुँदै गयो । काला–गोरा, सेता–पहेँला, अग्ला–होचा, आर्यन, इन्डोआर्यन, मंगोलियन, आस्ट्रिक एउटै थलोमा हुँदा संसार नै त्यहाँ उभिएको जस्तो लाग्थ्यो । तैपनि कोहीकसैलाई अरूको चासो र सोधीखोजी फिटिक्कै छैन । यसबेला मैले नेपाल र नेपाली संस्कृतिलाई सम्झेँ । जतिसुकै बिरानो भए पनि कहाँबाट आएको ? कहाँ जाने ? भनेर सोध्ने–बुझ्ने हाम्रो विशिष्ठ संस्कृतिलाई मैले यहाँ पनि खोजेँ, पाइनँ । यसो हुँदा मानिसका लागि मानिसहरू नै बिरानो बन्दै गएकोजस्तो अनुभूति भयो ।

त्यो देश कस्तो छ ? भनेर चिनारी उसको संस्कृतिले बताउँछ । त्यस्तै घर कस्तो छ भन्ने चिनारी आँगनले दिन्छ । बेलायत प्रवेश गर्नैलाग्दा वृद्धवृद्धा र बालबच्चा काखमा बोकेका आमाहरूलाई गरेको सम्मानले बेलायतको संस्कृति उच्च रहेको मैले ठम्याएँ । इमिग्रेसनका अफिसरहरूले बुढाबुढीहरूलाई सिधै अग्रपंक्तिमा लगेर र ती आमाहरूलाई अगाडि बोलाएर उनीहरूका काम तुरुन्तै गरिहाल्थे ।

गणेश पुनको सहयोग यतिमै मात्र सीमित रहेन । नेपाली पैसा लन्डन पुग्दा हात्तीको मुखमा जिराजस्तै हो । पैसा कम थियो, अझ एक महिनाको बसाईंका लागि लगेको पैसा चिमोटीचिमोटी चलाउनु थियो । अतः एअरपोर्टबाट सम्बन्धित गन्तव्यमा म ट्रेनमा जाउँ कि बसमा ? भनेर अलमल परिरहेको बेला पुनजीलाई फेरी भेटियो । मेरो गन्तव्यमा म पुग्ने कुराको चिन्ता मलाईभन्दा उहाँमा ज्यादा देखियो । र, उहाँले चारैतिरै फोन घुमाएर मलाई सहयोग गर्न खोज्नुभयो । अन्ततः उहाँलाई लिन आउनुभएकी उहाँकी धर्मपत्नी आशा पुनले शेरबहादुर सुनारको नाम लिनासाथ मलाई कतै नअलमल्याई आफ्नै कारमा राखेर करिब डेडघन्टा ड्राइभिङपछि गन्तव्यमा लगि छाडिदिनुभयो, जहाँ समाजसेवी शेरबहादुर दाई मेरो पर्खाइमा आइसक्नुभएको रहेछ ।

त्यहाँ शेरबहादुर दाई मात्र भेटिएनन्, प्रशस्त नेपालीहरू भेटिँदै गए, नेपाली मन र संस्कारहरू पनि भेटिँदै गए । थमेल रेस्टुरेन्ट, थकाली भान्सा घर अनि नेपाली कलाकार, नेता, विज्ञहरू जमघट भई कार्यक्रमहरू हुने सभाकक्षहरू, नेपालको बारेमा सोधखोज र चिन्ता गर्ने नेपाली भावनाहरू थपिँदै गए । त्योभन्दा ठूलो नेपालीको इतिहास र वीर गोर्खाली पहिचान झल्काउने गरी एक गोर्खाली सेनाले अर्को घाइते सेनालाई काँधमा बोकेर शत्रुविरुद्ध लड्दै गरेको प्रतिमूर्तिसमेत भेटियो । वीरगोर्खालीहरूको प्रतिनिधिमूलक तयो मूर्तिलाई सामुन्ने उभिएको पाउँदा गर्वले छाती फूल्यो । अनि एक स्यालुट हानेर मैले आफ्ना पुर्खाहरूलाई सम्झेँ ।

हामी एल्डरसटबाट अगाडि बढ्दै जाँदा नेपालीका घर प्रशस्त भेटिए । सिमसिम पानी परेको बेला सडकका पेटीमा छाता ओडेर नेपालीहरू निस्किँदै थिए । यता नेपालीहरू प्रशस्त छन् भनेर मोटामोटी त गणेश पुनले बताइसकेका थिए । तथापि थप बुझ्नका लागि शेरबहादुर दाइलाई सोधेँ, ‘यता पनि नेपालकै जस्तै घर हुँदारहेछन् त !’ उहाँले भन्नुभयो, ‘यी सबै नेपालीकै घर हुन्, गोराहरूका त एकादुयक होलान् । यो देखिएजति सबै नेपाली समाज हो । नेपालीकै कलेज छ, नेपालीकै स्कुल छ, नेपालीहरू खेल्ने चौर, नेपालीहरू नै घुम्ने पार्क, नेपाली खाना पाइने रेस्टुरेन्ट र बजार सबै यतै छ । तीज, लोसार, उँधौलीउँभौली, दसँैतिहार नेपालका सबै चाडपर्वहरू यहाँ मनाइन्छन्, झ्याइँझ्याइँ पञ्चेबाजा बजाएर विवाह हुन्छ, नेपाली कला, गीतसंगीत र संस्कृति यहीँ छ । खासमा नेपाल त यहीँ भेटिन्छ ।’

प्रतिक्रिया