टी– २० आई सिरिज : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ । आजको खेल नेपाली समय अनुसार बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

घरेलु मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई दोस्रो खेलमा जित निकाल्न पर्ने दबाब छ । उता नेदरल्यान्डस भने नेपाललाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

सिरिजमा भोलि (बिहीबार) नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन् । यही फागनु १८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ भने १९ गते आफ्नो अन्तिम खेलमा नेदरलल्यान्ड्ससँग भिड्नेछ ।

सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ मा रहने टोलीले फाइनलमा पुग्नेछन् । फाइनल खेल २२ गते हुने तालिका छ ।

टी–२० खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा रहेका छन् ।

प्रतिक्रिया