पुरा हुन सकेन संगीत सम्राट अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

काठमाडौं । संगीत सम्राटका रुपमा सम्झिने गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए । उक्त सपना अहिलेसम्म पुरा हुन सकेन ।

उनको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा संगीत साधकहरुले त्यही कुरालाई घच्घच्याइरहेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको योगदानको सम्ममानमा वरिष्ठ संगीतकर्मी बीच काठमाडौंमा अन्तरक्रिया गरी स्मरण गरेको छ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका संगीतकार हुन् अम्बर गुरुङ । उनको अर्केस्ट्रा बनाउने सपना पुरा हुन नसकेकोमा सहभागीहरुले चिन्ता प्रकट गरेका छन् ।

गुरुङसँग १५ वर्ष काम गरेका दीपक जंगम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पुरा गर्न सके त्यो भन्दा ठूलो उपलब्धि अरु केही नहुने र उहाँको सच्चा सम्मान हुने बताउँछन् ।

उनले गुरुङ नेपाली गीत, संगीत र नाट्य विधालाई अन्तराष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहने व्यक्तिका रुपमा सम्झिए । ‘नेपालमा पनि गीत, संगीताका धेरै विज्ञहरु हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाईको सोच केही प्रतिशत पुरा हुन्छ’, उनले भने ।

विसं १९९४ फागुन १४ गते आजैका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो । उनका हजुरबुवा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए । उनका बुवा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए ।

उनको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका संगीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे ।

उनले स्मरण गरे, ‘अमबर दाईको आफ्नै गायन, शब्द र संगीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला… ले सम्वेदनामै हिर्काएको महसुस हुन्छ, अर्को उहाँकै शब्द र संगीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाईको बिम्व मेरा अगाडि आउँछ ।’

अम्बर गुरुङलाई संगीतको ऋणिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु संगीत भर्न अनुरोधका लागि भन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए ।

गुरुङलाई सम्झँदा नेपाल प्रवेश अघिको ‘नौ लाखे तारा…’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रुपमा बुझ्नुपर्ने उनले उल्लेख गरे । उनले गुरुङलाई संगीताकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गरे ।

‘त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन्, तर अम्बर दाई एउटा गीत होइन जुनसुकै गीत, संगीत हेर्नुहोस् कस्तो छ’, उनले भने ।

नेपाल संगगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउँछन् । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायतका व्यक्तिहरुले गीत गाउन लगाएर उनलाई डिप्रेसनबाट छुटाएको कुरा विर्सन नहुने बताए । त्यो बेला उनलाई धेरैले विर्सिएको अनुभव उनले सुनाए ।

पुराना दिग्गज व्यक्तित्वहरुलाई विर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उनले सुनाए ।

शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा संगीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाए ।

उनले भने, ‘अउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाउँ, काम गर्न सकियो भने अम्बर गुरुङ जस्ता अग्रजहरुको सपना पुरा गर्न सकिन्छ ।’

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पुरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेश गरेको पनि सुनाए ।

गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुस्मा महरा, संगीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत संगीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पुरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याए ।

कार्यक्रममा गायक तथा संगीताकार विष्णु अधिकारी र तवला वादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ…’, वरिष्ठ संगीतकार एवं गायिका संगीता प्रधानले ‘कति सम्हालौँ चोटहरु…’ र गायिका कुन्ति मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला…’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरेका थिए ।

प्रतिक्रिया