सहज छैन एक्लो चुनाव

गगन थापा जो त्यतिबेला छात्र युवा नेता थिए, तत्कालीन परिस्थितिमा माओवादीको वाइसिएल र नेकपा एमालेको युवा संघलाई उसकै भाषामा जवाफ फर्काउन सकिरहेका थिए, सफल भइरहेका थिए । ‘विषस्य विषम औषधिकम’ भन्ने मान्यताले नेपाली कांग्रेसजस्तो नेपालको सबैभन्दा ठूलो एवं पुरानो पार्टीमा स्थान पाउन थाले । सैद्धान्तिक राजनीति बुझेका, विश्व राजनीतिलाई सम्झेका, अध्ययन गरेका नेपाली कांग्रेस र यसको जनाधारलाई सम्झेकाहरू ओझेलमा पर्दै गए । युवा नेतृत्वलाई अगाडि बढाउने नाममा अनुभवी, परिपक्व र योग्य नेताहरू असान्दर्भिक हुँदै गए ।

श्रीमन नारायण

सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा दुई वटा विषयले बढी चर्चा पाएको देखियो । पहिलो, पार्टीका महासचिव गगन थापाद्वारा अघि सारिएको २०८४ सालमा हुने आमनिर्वाचन र स्थानीय तहको निर्वाचन पार्टीले एक्लै लड्नुपर्ने तथा दोस्रोमा पार्टीका तीन दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरू र ५० प्रतिशत जति महासमिति सदस्यहरूले अघि सारेको नेपाललाई सनातन हिन्दू धर्मसापेक्ष राष्ट्र बनाउने प्रस्ताव रहेका छन् ।

जनआन्दोलन–२ को सफलता पश्चात् नेपाली कांग्रेससमा वामपन्थी चिन्तन हावी भएको छ । पार्टीका विचारक कहलिएका प्रदीप गिरिको ठाउँमा नरहरी आचार्यको विचारले महत्व पाउन थाल्यो । यसको परिणाम के भयो भने पार्टीको ६ दशक लामो प्रजातान्त्रिक समाजवाद र नरम राष्ट्रियताको सिद्धान्त ओझेलमा पर्दै गयो र नरहरी आचार्यको गणतन्त्रको प्रस्तावले बढी महत्व पाउन थाल्यो ।

गगन थापा जो त्यतिबेला छात्र युवा नेता थिए, तत्कालीन परिस्थितिमा माओवादीको वाइसिएल र नेकपा एमालेको युवा संघलाई उसकै भाषामा जवाफ फर्काउन सकिरहेका थिए, सफल भइरहेका थिए । ‘विषस्य विषम औषधिकम’ भन्ने मान्यताले नेपाली कांग्रेसजस्तो नेपालको सबैभन्दा ठूलो एवं पुरानो पार्टीमा स्थान पाउन थाले । सैद्धान्तिक राजनीति बुझेका, विश्व राजनीतिलाई सम्झेका, अध्ययन गरेका नेपाली कांग्रेस र यसको जनाधारलाई सम्झेकाहरू ओझेलमा पर्दै गए । युवा नेतृत्वलाई अगाडि बढाउने नाममा अनुभवी, परिपक्व र योग्य नेताहरू असान्दर्भिक हुँदै गए । गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माहरू निकै कम समयमा बढी लोकप्रिय भए ।

नेपाली कांग्रेसले आफ्नो परम्परागत सैद्धान्तिक चिन्तनको आधारमा चुनाव जित्न सकिँदैन भन्ने मान्यताले महत्व पाउन थाल्यो । कृष्णप्रसाद सिटौलाजस्ता कुटिल व्यक्तिको मार्गचित्रमा अगाडि बढ्न पार्टी बाध्य भयो । नेकपा माओवादीलाई जिस्क्याउनु हुँदैन भन्ने सोच पार्टीमा हावी हुँदै गयो भने अर्कोतर्फ तराई मधेसका जनता जो स्वभावतः माओवादी उत्पीडनका सिकार थिए आफ्नो सुरक्षाका लागि मधेसी दलहरूको संरक्षण आवश्यक ठाने । देशका उच्च र उच्च मध्यम वर्गीय परिवार चाहेर अथवा नचाहेर पनि नेपाली काग्रेसको पक्षमा मतदान गर्न बाध्य छन् । बढी पढेलेखेका उच्चपदस्थ कर्मचारी र सम्भ्रान्त परिवारको रोजाई नेपाली कांग्रेस नै हो यसमा कुनै नेताको योगदान छैन, पार्टीको यो परम्परागत मताधार हो ।
चार वर्षपछि नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने मानसिकता बनाउनु अथवा निर्णय गर्नु उसको अधिकार हो र यस्तो निर्णय उसले गर्नुु पनि पर्छ । नेपाली कांग्रेसले एक्लै चुनाव लड्न ५० प्रतिशत मतको जोहो गर्नुपर्छ । २०७४ सालको निर्वाचनमा पार्टीले प्राप्त गरेको मत २५ प्रतिशतभन्दा अलि बढी हो ।

आफ्नो जनाधारलाई दुई गुणाले बढाउन पार्टीले अख्तियार गर्न सक्ने नीति के हुन सक्दछ ? तराई–मधेस, पहाड र सहरी क्षेत्रको रूपमा चुनावी भूगोललाई परिभाषित गर्दा के पनि पाइन्छ भने, तराई मधेसमा नेपाली कांग्रेसको जनाधारमा अप्रत्याशित वृद्धि हुने सम्भावना देखिँदैन । अहिले पनि तराई मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा र जनमत पार्टीको जनाधारमा खासै कमी आएको छैन । तराई–मधेसका युवा नेपाली कांग्रेसतिर आकर्षित भइरहेका छैनन् । नयाँ मानिस पार्टीमा प्रवेश ग¥यो भने हामीले भविष्यमा अवसर लिनबाट वञ्चित हुने त होइन भन्ने भयले एक किसिमले ‘नो इन्ट्री’ को ब्यानर झुण्ड्याइएको छ । चुनावमा ंकांग्रेसीले नै कांग्रेस हराउने बानीमा सुधार आएको छैन । पार्टीले बिरुवा रोप्नु्को सट्टा पोलिथिनमा अथवा बोरामा आम नै किनेर ल्याउने मानसिकता बनाएको छ ।

तस्कर, ठेकेदार, इँट्टाभट्टा, चिमनी, क्रसरको मालिक तथा डन प्रवृत्तिका व्यक्तिलाई पार्टीमा ल्याएर पैसाको भरमा चुनाव जित्ने रणनीति बनाएको देखिन्छ । नयाँ व्यक्तिले पुरानोलाई नचिन्ने भएपछि पुरानोले चुनावमा असहयोग गर्नु अस्वभाविक भएन तर यसैलाई आधार मानेर कोतपर्व गरी पुरानालाई कारवाहीको दायरामा ल्याउने गरिन्छ । पैसाको भरमा मत खरिद गर्ने र भिड जुटाउने काम भइरहेको छ । एककिसिमले जनतालाई ज्यालादारीका मजदुर बनाउने काम भएको छ । मत खरिद गर्ने र भिड जुटाउने दलाललाई नै भरपर्दो कार्यकर्ता मान्ने चलन बढेको छ । त्यस्ता व्यक्तिहरू नै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत बनिरहेका छन् ।

ठेकेदारहरू जिल्लास्तरीय नेता भएका छन् । मेयर र विधायकमा चुनाव जितिरहेका छन् । निजी विद्यालय, क्याम्पस, बैंक र अस्पतालका मालिक सांसद बनिरहेका छन् । संसदको विभिन्न समितिका सदस्य बनिरहेका छन् र आफ्नो भ्रष्टाचारका फाइलको छानबिन आफैँ हेरिरहेका छन् । सहरी क्षेत्रमा रवि लामिछाने, बालेन्द्र्र साहको प्रभाव बढेको छ, राप्रपाप्रति पनि आकर्षण बढेको छ । नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा पदयात्रा गरेर आफ्नो जनसमर्थनलाई ‘इनट्याक्ट’ राख्ने प्रयास गरेको छ, तर तराई मधेसमा बढेको उसको जनाधार चलायमान प्रकृतिको हो । सम्भवतः एक वर्षसम्म अझ पार्टी सरकारमा पुग्न सकेन भने तिनका समर्थकहरू आ–आफ्नो मातृ पार्टीमा फर्किनेछन् ।

नेपाली कांग्रेसको मतमा अप्रत्याशित वृद्धि हुने कुनै कारण देखिँदैन । समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै एक दलले बहुमत ल्याउने अवस्था छैन । सैद्धान्तिक रूपमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको छ । राजनीतिक मुद्दालाई लिएर कसैले सडक आन्दोलन गर्नुपर्ने अवस्था रहेन । विगत १८ वर्षमा नेपाली कांंंग्रेसले पनि कम्युनिस्टहरूसँग मिलेर पटकपटक सरकारमा सहभागी भएकै हो । आर्थिक उदारवाद अथवा खुलापनलाई सबैले स्वीकार गरेकै हो । वैदेशिक लगानी भित्र्याउने सवालमा मतैक्य नै रहेको छ । लोकतन्त्रलाई यहाँ कम्युनिस्टले पनि मानेकै हुन् । निर्वाचन प्रणाली, सर्वोच्च अदालत र संविधानमाथि आस्था छँदै छ । सैद्धान्तिक रूपमा नेपाली कांग्रेस र नेपालका कम्युनिस्टहरूबीच कुनै अन्तर रहेको छैन तसर्थ कम्युनिस्ट किन खराब र कांग्रेस किन राम्रो अथवा कांग्रेस किन खराब र कम्युनिस्ट किन राम्रो ? भन्ने प्रश्नको जवाफ उपरोक्त दुई दलका नेताहरूसित हुनै सक्दैन ।

नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गर्नुको अर्थ कम्युनिस्ट एकीकरणको निम्तो दिनु हो । पार्टीले आफ्नो जनाधारमा बिस्तार ल्याउने कदमहरू चाल्नु पर्दछ । भ्रष्टाचार विरोधको लडाइँ नेपाली कांग्रेसले लड्न सक्दैन । नेपालका कुनै पनि ठूला राजनीतिक दल लड्न सक्दैनन् । परिवारलाई आफ्नो राजनीतिको अपरिहार्य तत्व बनाएकाहरूले प्रशासन र पारदर्शिताको कुरा गर्नु ठठ्ठा मात्रै हो । नेपाली कांग्रेसका मेयर, विधायक, सांसद र मन्त्रीहरूले अन्य दलभन्दा धेरै फरक होइन, केही सामान्य फरक काम पनि गरेर देखाउने साहस गर्लान् ? अवश्य पनि होइन ? यथास्थितिवादमा नै सबै समस्याको समाधान खोज्ने पार्टीको नीतिमा परिवर्तन आउने सम्भावना छैन ।

सनातन हिन्दू धर्म सापेक्षको राष्ट्रको रूपमा पुनः नेपाललाई स्थापित गरिनुपर्ने विषय पार्टीको महासमितिको बैठकमा चर्चामा आएको देखियो तर यति मात्रले समस्याको समाधान हुन सक्दैन । धर्म परिवर्तनमाथि रोक लगाउन तथा यसलाई दण्डनीय अपराधको श्रेणीमा परिभाषित गर्ने माग पार्टीले गरेको छैन । विदेशी आर्थिक सहयोग (अदृश्य)मा बन्ने गरेका धर्मस्थलहरूको छानबिनको माग पार्टीले गर्न सकेको छैन । केही अघि तराईका जिल्लाहरूमा मूर्ति विसर्जनमा अवरोध पु¥याउनेहरूमाथि कारबाहीको माग पार्टीले गर्न सकेन । हिन्दू आयोगको गठनसम्मको माग पार्टीले गर्न सक्नुपर्दथ्यो ।

भारतमा संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ, तर प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो धर्म संस्कृतिमाथि आस्था व्यक्त गर्न लाज मान्दैनन्, हिनताबोधको अनुभूति गर्दैनन् । त्यही भएर होला अहिले भारत र मोदीको नाम विश्वमै चर्चा छ । नेपालमा प्राविधिक रूपमा हिन्दूवादी कहलिने होड भएको छ । नेपाली कांग्रेससामु अनेकौँ चुनौती देखिन्छन् । पार्टीले प्रष्ट नीति लिनु आवश्यक छ । एक्लै चुनाव लड्न त्यस अनुसारको आवश्यक तयारी गर्नुपर्नेछ ।

प्रतिक्रिया