मोरङ–सुनसरी र पथलैया–वीरगञ्जका सयौं उद्योग बन्दतर्फ

औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दैनिक ८ घण्टा अघोषित लोडसेडिङ भइरहेको छ । सोही कारण उद्योगहरूले ५० प्रतिशत उत्पादन कटौती गरेका छन् । नेपालकै सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल १९९३ सालमा यही क्षेत्रमा खुलेको थियो । यो उद्योग हाल बन्द छ । विगतमा घोषित रुपमा १८ घण्टा लोडसेडिङको सामना गरेका यस क्षेत्रका उद्योगीहरूले पछिल्लो समय अघोषित लोडसेडिङको सामना गर्नुपरेको छ । बैंकको चर्को ब्याज, दक्ष जनशक्तिको अभाव, आर्थिक मन्दी, चोरीपैठारी भएर आउने सामान र सस्तो लागतमा उत्पादित भारतीय उत्पादनसँगको प्रतिस्पर्धालगायत समस्याले जेलिएका उद्योगीहरू अघोषित लोडसेडिङले समस्यामा परेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताएका छन् । अघोषित लोडसेडिङका कारण यस क्षेत्रका सबैजसो उद्योगले ५० प्रतिशत उत्पादन कटौती गरेका छन् ।

हरेक दिन बिहान बिहान ७ देखि ११ र साझ ५ देखि ९ बजेसम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती हुँदै आएको छ । यसले उद्योगलाई बढ्दो उत्पादन लागत थेग्न र श्रमिकको समय तालिका मिलाउन निकै कठिन परेको सुरानाको भनाइ छ ।

अघोषित लोडसेडिङले यस क्षेत्रका उद्योगीहरू हैरान हुनुको साथै ट्रिपिङ र भोल्टेजको ठूलो समस्या रहेको व्ययवसायीहरु बताउँछन् । उत्पादन प्रक्रियामा रहेको कच्चा पदार्थ पनि नोक्सान भइरहेको उनीहरुले बताएका छन् ।
उद्योगीहरू बैंकको किस्ता र ब्याज तिर्ने चिन्तामा छन् । आर्थिक मन्दीले बजारमा गएको सामानको पैसा उठ्ने अवस्था छैन । उद्योगीहरू मानसिक रुपमा धेरै नै चिन्तित छन् । प्राधिकरणले विद्युत कटौती हुने सूचना अनौपचारिक रुपमा उद्योगीहरूको सामाजिक सञ्जालमा सेयर गर्छ । यसबाट उद्योगले केकति श्रमिक व्यवस्थापन गर्ने भन्ने योजना नै बनाउन पाउँदैनन् । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाका अनुसार उद्योग २४ घण्टा सञ्चालन गर्दा श्रमिकको सिफ्ट मिलाइएको हुन्छ । त्यही अनुरुप श्रमिकको व्यवस्थापन गरिन्छ । तर, औद्योगिक क्षेत्रको लोडसेडिङले उत्पादन र आपूर्ति चक्र नै चौपट बनाएको सारडाको भनाइ छ । अघोषित लोडसेडिङ ६ महिनादेखि नियमित छ ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्र दुहबी, कटहरी र बूढीगंगा पर्छन् । ती क्षेत्रमा फरक–फरक फिडरबाट विद्युत वितरण हुन्छ । लोडसेडिङले सबैभन्दा बढी प्रभावित जस्तापाता, फलाम, सिमेन्ट, रिलायन्स, जुट र प्लाष्टिक उद्योग परेका छन् । लोडसेडिङका कारण उद्योगको पार्टपुर्जा बिग्रिनेदेखि कच्चा पदार्थ खेर जाने समस्या बढेको उद्योगीहरु बताउँछन् । सबै उद्योगहरू विद्युतमै आधारित छन् । जेनेरेटर सञ्चालन गर्दा प्रतियुनिट ३६ रुपैयासम्म खर्च हुन्छ । त्यसरी उद्योग सञ्चालन गर्न सक्ने स्थिति नरहेको उनीहरुको भनाइ छ । विद्युतबाट उत्पादित सामानले समेत भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको बेला महँगो डिजेल प्रयोग गरेर जेनेरेटरबाट उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।

यस क्षेत्रमा अरिहन्त, पशुपति, हुलास, मैनाबत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्स, अन्नपूर्ण, सप्तकोशीजस्ता विभिन्न प्रकृतिका ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यी उद्योगले फलाम, जस्तापाता, मैदा, तेल, जुट, सिमेन्ट, चाउचाउलगायत वस्तु उत्पादन गर्दै आएका छन् । यो क्षेत्रका उद्योगमा ८० हजारभन्दा बढी मजदुर कार्यरत छन् । अघोषित लोडसेडिङले मजदुरसमेत कटौती गर्नुपर्ने अवस्था आएको मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले बताए ।

विद्युत प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काले आपूर्तिमै समस्या आएपछि उद्योगीलाई अनुरोध गरेर बिहान– बेलुका विद्युत कटौती गरेको बताए । आपूर्तिमै आएको कमीका कारण औद्योगिक क्षेत्रलाई चाहिने बिजुली दिन नसकिएको प्राधिकरणले बताएको छ । दुहबी ग्रिडका अनुसार कोशीमा दैनिक माग २६० देखि २७० मेगावाट छ । तर, पिक आवरमा २७५ मेगावाट माग हुन्छ । दैनिक १८० मेगावाट जति बिजुली आउँछ । यसको स्रोत पश्चिमबाट भारतको मुजफ्फरपुर–ढल्केबर हो । पूर्व काबेली करिडोरबाट पनि आउँछ । यस क्षेत्रलाई ९० देखि १०० मेगावाट कमी भएको ग्रिडका प्रमुख खड्काले बताए ।

भारत र काबेलीबाट आएको बिजुली यतै मिसिन्छ । अहिले मिर्चैया–लहान–रुपनी–कुशाहा हुँदै सुनसरीको इनरुवाबाट पश्चिममा दुहबीतिर १६० मेगावाट र काबेलीबाट २५ मेगावाटमात्र आउँछ । काबेलीबाट दमकमा आउँछ । केही झापाको अनारमनी पठाइन्छ । बाँकी बिजुली दुहबी आउँछ र त्यहाँबाट विराटनगरतर्फ पठाइन्छ । सबै उद्योग एकै पटक नचल्ने भएकाले करिब १३० मेगावाट औद्योगिक क्षेत्रको माग छ ।
उद्योग संगठन मोरङले गरेको अध्ययनअनुसार औद्योगिक क्षेत्रमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ हुने गरेको छ । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुट मिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटकसम्म ट्रिपिङ भएको थियो ।

अघोषित लोडसेडिङका विषयमा ऊर्जा मन्त्रालय, विद्युत प्राधिकरणलगायत सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन् । उद्योगीहरूका दर्जनौं समस्या छन्, त्यसमाथि अहिले अघोषित लोडसेडिङ पनि थपिएको छ । यो देशमा उद्योग–व्यवसाय गर्नु भनेको पाप गर्नुजस्तै भएको उद्योगीहरुले बताएका छन् ।

दैनिक १० घण्टा विद्युत अवरुद्ध

वीरगंज औद्योगिक करिडोरका उद्योगहरूमा दैनिक १० घण्टा अघोषित लोडसेडिङ भैरहेको छ । बिना सूचना बिहान, बेलुका, रातीको सयम गरी बारम्बार लाइन काटिँदा दिनमा १० घण्टासम्म विद्युत अवरुद्ध हुने गरेको हो ।

नेपालका ठूला छड, स्टिल फलामदेखि बहुराष्ट्रियसहित साना–ठूला गरी एक हजार उद्योग सञ्चालित करिडोरमा बिना सूचना बत्ती जाँदा उद्योगीले ठूलो समस्या व्यहोर्नु परेको छ ।

भैरहवामा समेत पटक–पटक विद्युत ट्रिपिङ हुँदा उद्योगको उत्पादनमै असर पुगेपछि कच्चा पदार्थ, ठूला मेसिन बिग्रने समस्याले उद्योगीहरू थप पीडित बनेका छन् । बारा पर्सा औद्योगिक करिडोरका सभापति सञ्जयकुमार साहले आर्थिक मन्दीले थलिँदै गरेको उद्योगमा विद्युत सप्लाइको लापरबाहीले औद्योगिक वातावरण बिथोल्न सरकार नै लागि परेको बताए । ‘ट्रिपिङका कारण हामी उद्योगी आजित भइसकेका छौं,’ साहले भने,‘पुराना संरचनाका पोल र तारले हाई लोड थेग्न नसकेका कारण तारमा स्पार्किङ भएर पटक–पटक ट्रिपिङ हुन गरेको प्राधिकरणले बताउँदै आएको ५/७ वर्ष भयो तर अझसम्म फेरिएको छैन ।’

सरकारको उद्योग प्रतिको धारणा भाषणमा मात्र सीमित बनेको कारण व्यवहारमा लागु हुन सकेको छैन् । उद्योग मात्र नभइ देशले नै घाटा व्यहोर्नु परेको साह बताउँछन् । करिडोरमा २ सय मेगावाट विद्युत आवश्यक रहेकोमा करिब १ सय मेगावाट पनि नियमित आपूर्ति हुने गरेको छैन् । उद्योगी तथा उनीहरू सम्वद्ध संघ संस्थाका प्रतिनिधिहरूले पटक पटक प्रधानमन्त्रीदेखी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर मौखिकदेखि लिखित पत्राचार गर्दा समेत करिडोरको नियमित विद्युत समस्या समाधान हुन सकेको छैन् ।

उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिलकुमार अग्रवालले ९ देखि १० घण्टा करिडोरमा दैनिक बिहान देखी बेलुकासम्म पटक पटक गरेर बिना तालिका अघोषित लोडसेडिङ हुने गरेको बताए । उनले एकै समयमा तालिका बनाएर लाइन काट्न भन्दा पनि प्राधिकरणले आफूखुसी गर्दा त्यसको असर पुरै करिडोरका उद्योगहरूले खेप्नु परेको उनको भनाइ छ ।

समय तोकेर विद्युत लाइन काट्दा उद्योगीले सिफ्ट मिलाएर उत्पादन र श्रमिकको व्यवस्थापना गर्न सहज हुने हुँदा ‘सेड्यूल’ बनाएरै औपचारिक रूपमा बिजुली काट्न प्राधिकरणलाई संघले पत्राचार समेत गरेको छ । करिडोरमा २४ घण्टा सञ्चालन हुने उद्योगहरूले क्षमता अनुसार उत्पादन गर्न पाएका छैनन् । यसबाट फलाम, प्लास्टिकजन्य सामान र खाद्यान्न उत्पादन गर्दै आएका उद्योगमा बढी असर परेको संघले जनाएको छ ।

‘फलाम र प्लास्टिकजन्य कच्चा पदार्थ प्रशोधन गर्ने भट्टी तताउन लगातार १० देखी १२ घण्टा नियमित बिजुली चाहिन्छ’ संघका अध्यक्ष अग्रवालले भने,‘विद्युत सप्लाइ भएको समयमा पनि पटकपटक ट्रिपिङ हुँदा भट्टी राम्रोसँग तात्नै नसकी धेरै उद्योगको उत्पादनमा असर परेको छ ।’ विगतमा लोडसेडिङ तालीका निर्धारण हुँदा जेनरेटर चलाएर उत्पादन हुने गरे पनि हाल विद्युत सप्लाइ कति बेला बन्द हुने, कति बेला आउने ठेगान नै नभएपछि जेनरेटर चलाएर उद्योग सञ्चालन गर्न समेत तालमेल नमिल्ने अवस्था बनेको अग्रवाल बताउँछन् ।

नेपाल सेरामिक प्रालिका सञ्चालक मनोज रौनियारले आफ्नो टायल्स कारखानाले विद्युतकै कारण उत्पादनको मात्रा बढाउन नसकेकोले भारतीय टायल्सहरुको बजारमा माग बढेको बताए । उनले जेनरेटरमार्फत उत्पादन गर्दा भारतीय टायल्ससँग बिक्री मूल्य नै फरक पर्ने हुँदा आफ्नो उद्योगमा दैनिक विद्युत अवरुद्ध भएको समय लेखेरै समाधान गर्न संघ संस्थामा पत्राचार गरेको बताए ।

करिडोरको उद्योगहरूमा रक्सौल–परवानीपुर,ढल्केवर–मुजफ्फरपुर र केन्द्रीय प्रसारण गरी तीन प्रसारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको प्राधिकरणले जनाएको छ । भारतको रक्सौलबाट किनेर ल्याइएको ४ सय केभि विद्युत परबानीपुर ग्रिडमार्फत, ढल्केवर–मुजफ्फरपुर, बाराको पिलुवाबाट सिमरा, अमलेखगंज र वीरगंज गरी तीन केन्द्रीय प्रसारणबाट विद्युत सप्लाई हुने गरेको छ ।

करिडोरका बहुराष्ट्रियदेखि मुलुककै ठुला स्टिल छडसहित ५ सय ६८ उद्योगमा विद्युत सप्लाइ गर्ने सिमरा ग्रिडका प्रमुख रुमेश रुपाखेतीले करिडोरका उद्योगमा हुने अघोषित लोडसेडिङ र विद्युत ट्रिपिङबारे सबै काम ग्रिड महाशाखा हेटौडाले हेर्ने हुँदा आफूहरूलाई थाहा नहुने बताए ।

आपूर्तिमा आएको कमीका कारण औद्योगिक क्षेत्रलाई चाहिने बिजुली दिन नसकेको ग्रिड महाशाखा हेटौंडाले बताएको छ । करिडोरका उद्योगमा विद्युत सप्लाइ गर्ने सम्बन्धित ग्रिडलाई जानकारी गराएरै लाइन काट्ने गरेको महाशाखाले बताएको छ । पूर्व सूचना नदिइ उद्योगको लाइन काट्दा उद्योगका कतिपय ठूला मेसिन बिग्रने गरेको र प्राविधिक समयमै नआउँदा हप्तौँ उद्योगले उत्पादन बन्द गर्नु पर्ने समस्याबाट उद्योगीहरू पीडित बनेका छन् । गुणस्तरीय विद्युत आपूर्ति नहुँदा करिडोरका श्रमिकको रोजगारीमा समेत समस्या परेको संघले जनाएको छ ।

अघोषित लोडसेडिङको समय सार्वजनिक गर्न माग

भैरहवा । बिना जानकारी विद्युत कटौती भएको भन्दै लुम्बिनी प्रदेशअन्तर्गतका उद्योगहरुले लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका छन् । बिना जानकारी अघोषित तबरबाट विद्युत कटौती र अनावश्यक ट्रिपिङले उद्योगहरुमा समस्या भएको भन्दै उनीहरुले तालिका सार्वजनिक गर्न माग गरेका हुन् ।


लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अघोषित लोडसेडिङ भएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेमा रहेका ठूला उद्योगहरुमा बिना जानकारी विद्युत कटौतीले ठूलो समस्या पारेको शर्माले बताए ।


समस्याबाट पीडित उद्योगी व्यवसायीले दिनहुँ जानकारी गराउने र विद्युत प्राधिकरणबाट माथिबाटै कटौती भएको जवाफ आउने गरेको शर्मा बताउँछन् । ‘हामीहरुको माग सहज रुपमा विद्युत उपलब्ध हुनु प¥यो भन्ने नभइ घोषित रूपमा लोडसेडिङ तालिका दिनु प¥यो भन्ने छ’, शर्माले भने ।


लुम्बिनी प्रदेशमा पूर्वाधार विकास सम्बन्धी सिमेन्ट, छड,स्टिल, कर्कट पाता, टायल, फोम, प्लाइउड, प्लास्टिक, पेन्टलगायत मात्र नभई मैदा, चामल, चाउचाउ, चिउरा, रिफाइनरी आयल, हल्का पेय पदार्थ, मदिरा एवं बियर, कागज, जुत्ता, औषधी, सवारी साधनअन्तर्गत मोटरसाइकलको एसेम्बल प्लान्टलगायत दर्जनौं ठूला उद्योग छन् । मझौला तथा साना उद्योगहरु पनि प्रशस्तै रहेका छन् । सबै प्रकृतिका उद्योग व्यवसायमा अहिले विद्युत समस्या रहेको छ ।


आर्थिक मन्दी र माग नभएको कारण उद्योगहरु क्षमताको ३० प्रतिशतको हाराहारीमा सञ्चालनमा रहेका छन् । अनियमित विद्युत कटौतीले थप समस्या सिर्जना भएको उद्योगीहरुको भनाइ छ । भैरहवा वरपरका क्षेत्रमा साना ठूला गरी दर्जनौं उद्योगहरु विद्युत अनियमित हुँदा समस्यामा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । ‘उद्योगी व्यवसायीहरु दिनहँु समस्या लिएर आउँछन्, विद्युत प्राधिकरणले लोडसेडिङ होइन माथिबाटै कटेको भनेर जवाफ फर्काउँछ,’ अध्यक्ष श्रेष्ठले भने । यो क्षेत्रमा दैनिक ८ घण्टासम्म विद्युत जाने गरेको उनले बताए ।


‘हिउँद महिनामा विद्युत उत्पादन कम हुन्छ । हामी सबैलाई थाहा छ, तर अहिले डेडिकेटेड र ट्रंक लाइनको तत्कालिन समस्याको प्रतिशोध साध्न उद्योगमा बिना जानकारी लाइन कटौती गरेको महसुस भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा रहेको बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिका सञ्चालक रौनक अग्रवाल अनियमित विद्युतका कारण समस्या भएको बताउँछन् । ‘माग नहुँदा उद्योगको क्षमता निकै कममा चलेको छ, त्यसमा पनि विद्युत नियमित नहुँदा समस्या छ,’ अग्रवाल बताउँछन् । उनका अनुसार बिहान बेलुका गरी कम्तिमा ८ घण्टा विद्युत गइरहेको छ ।
विद्युत जाने कुनै तालिका नभएकाले उद्योग सञ्चालन कति बेला गर्ने, सिफ्ट कसरी बनाउने भन्ने समस्या रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको औद्योगिक करिडोरमा धेरै उद्योग स्थापना छन् । उक्त करिडोरमा विद्युत समस्या रहेको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले विद्युत अनियमित हुँदा यहाँ रहेका ठूला उद्योग मात्र नभइ मझौला एवं साना उद्योगहरुमा पनि समस्या रहेको बताए ।


‘विद्युत कति बेला जान्छ थाहा हुँदैन, लोडसेडिङ जस्तै गरी विद्युत गइरहेको छ’ अग्रहरीले भने । कुनै उद्योगमा विद्युत कटौती हुना साथ उत्पादन गर्दै गरेका सामग्रीहरु बिग्रने गर्छन, खासगरी खाद्य पेय पदार्थ डाइपर प्लास्टिकजन्य वस्तुलगायतमा यो समस्या रहेको उनको भनाइ छ ।


डाइपर उद्योगमा एक पटक विद्युत जादा कम्तिमा २० हजार रुपैयाँ नोक्सानी हुने गरेको छ । सोही कारण तालिका सार्वजनिक गरेर विद्युत काटियोस भन्ने माग रहेको अग्रहरीको भनाइ छ ।


‘उद्योगहरु नचलेर बन्दका अवस्थामा छन्, त्यसमाथि अघोषित लोडसेडिङले समस्या थपेको छ । विद्युत नियमित नहुँदा अतिरिक्त समस्या थपिएको छ,’ चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले भने । विद्युत कति बेला जान्छ थाहा हुँदैन । उद्योग चलिरहँदा उत्पादन भएका वस्तु बिग्रेर नोक्सानी हुने र कर्मचारी मजदुर कति बेला कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको पाण्डे बताउँछन् ।


कपिलवस्तुको चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा सिमेन्ट, छड, प्लाइउड, मैदा, चामललगायतका दर्जनांै उद्योगहरु विद्युत अनियमित हुँदा पीडित भएका छन् । भैरहवा बुटवल औद्योगिक करिडोरमा रहेको यशोधा फुड्का सञ्चालक श्रवण बेरीवाल विद्युत अघोषित लोडसेडिङले समस्या आएको बताउँछन् । चाउचाउ जस्तो तयारी खाद्य वस्तु उत्पादन गर्दै आएको उद्योगमा उत्पादन भइरहँदा एक्कासि विद्युत जाँदा उत्पादन भइरहेका खाद्य बस्तु बिग्रने गरेको उनको भनाइ छ ।


बिहान बेलुका गरी ८ घण्टा विद्युत कटौती भइरहेको पञ्चकन्या स्टिल उद्योगका महाप्रबन्धक देबेन्द्र शाहुले बताए । ‘हामीले नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुखलाई पनि भेट्यौं, हामीले होईन विद्युत भार बहन व्यवस्थापनका लागि माथिबाटै कटौती भएको जवाफ पाइयो,’ महाप्रबन्धक साहुले भने । अन्य समयमा पनि विद्युत गइरहन्छ, विशेष गरी स्टिल र प्लास्टिक उद्योगमा उत्पादन भइरहेको क्रममा विद्युत जादा उत्पादित वस्तुहरु बिग्रने भएकाले नोक्सानी बढ्ने गरेका र फेरि उद्योग सुचारु गर्न समय लाग्ने भएकाले समस्या आएको उनको भनाइ छ ।


विद्युतका लागी वैकल्पिक व्यवस्था गर्न पनि समस्या रहेको साहुले बताए । ‘२५ देखि ३० प्रतिशत क्षमतामा उद्योग चलेको छ, त्यसमाथि विद्युत समस्या अचाक्लि छ,’ उनले भने । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले विद्युतमा समस्या रहेको बताए । विद्युत अनियमित हुँदा थप समस्या सिर्जना भएको छ । उद्योगीहरुले विद्युतमा समस्या रहेको गुनासो बारम्बार गर्छन् । विद्युत अफिसले विद्युत लोड मिलाउन माथिबाटै काटिएको जवाफ दिन्छ । प्लास्टिक उद्योगहरुमा विद्युतका कारण समस्या बढी हुन्छन् । उत्पादन हुँदा हुँदै विद्युत जादा प्लास्टिकका सामान बिग्रने मात्र नभइ ती उपकरण तात्नलाई कम्तीमा १ घण्टा लाग्ने भएकाले समस्या रहेको छ ।


लुम्बिनी प्रदेशमा विद्युत समस्याका विषयमा जानकारी माग्दा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख इन्जिनियर हरि पाण्डेले विद्युत उत्पादन कमी भएकोले विद्युत भारत व्यवस्थापन मिलानका लागि विद्युत कटौती भएको बताए ।

प्रतिक्रिया