गोर्खा वारियरको प्रिमियर

काठमाडौं । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ को बुधबार कमलपोखरीस्थित बिग मूभिजमा रेडकार्पेट प्रिमियर गरिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, सांसद ज्ञानेन्द्रबहादुर शाही, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत प्रिमियरमा सहभागी थिए ।

गोर्खा वारियरबारे एमाले अध्यक्ष ओलीले नेपालमा आफूले हेरेकामध्ये युद्धसम्बन्धी निकै राम्रो सिनेमा बनेको बताए । उनले भने, ‘यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरेँ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले आफ्ना बुबा र बाजेले पनि ब्रिटिस सेना भएर मलायसहित अन्य युद्ध लडेको सम्झिए । उनले भने, ‘यो चलचित्र हेर्दा मैले आफ्नो कथा जोडिएको पाएँ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका यो चलचित्रबाट पाउने छौँ ।’

चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभरमा फैलाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले अगाडि थपे, ‘हामो देश नेपाललाई सगरमाथाझैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको संख्या निकै कम हुनु भने दुःखद हो ।’

चलचित्रका निर्देशक मिलन चाम्सले वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरेको बताए । उनका अनुसार यो चलचित्र मुलुकका १२० भन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शन हुने छ । चाम्सले चलचित्रमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको बताए । यस चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतका कलाकारको मुख्य भूमिका छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

प्रतिक्रिया