सन्दीप लामिछाने जेलबाहिर बसेर मुद्दा लड्न पाउने उच्च अदालतको अनुमति

काठमाडौं । नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा तत्काल जेल जान नपर्ने भएको छ । किशोरी बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरे पनि लामिछाने तत्काल जेल जान नपर्ने भएको हो ।

बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको हो । उच्च अदालतले यो अनुमति दिएसँगै अब लामिछाने उच्च अदालतबाट फैसला नभएसम्मका लागि जेल नजाने निश्चित भएको उनका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले बताए ।

बलात्कार मुद्दामा आठ वर्ष कैदको फैसला बदर गर्न माग गर्दै सन्दीपले दिएको पुनरावेदन निवेदन पनि उच्च अदालतमा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै आठ वर्ष जेल, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको छ । लामिछानेले उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।

निवेदन लिएर आफ्ना कानुन व्यवसायीसहित सन्दीप उच्च अदालत पुगेका थिए । लामिछानेले पुर्पक्षका क्रममा उच्च अदालतबाट रिहा हुँदा २० लाख रुपैयाँ धरौटी राखेकाले उनलाई अदालतले उच्चको फैसला नहुन्जेल थुनाबाहिरै रहन पाउने अनुमति दिएको हो ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दा पीडितको आर्थिक अवस्थाको फाइदा उठाउँदै अनुचित प्रभावमा पारेर जबर्जस्ती करणी गरेको आधार देखाएको थियो । पुस २५ गते जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो।

प्रतिक्रिया