सात महिनामा नौ खर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको आयात भएको छ । साउनदेखि माघसम्ममा उक्त आयात भएको हो । गत आर्थिक वर्ष २०७९–८० को तुलनामा यो वर्ष २.३१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको आयात व्यापार भएको थियो ।

तर यो अवधिमा निर्याता व्यापार भने ८६ अर्ब ८३ करोड रुपैयाँ मात्रै भएको छ । निर्यात व्यापार पनि ७.०७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा ९३ अर्ब ४३ करोड रूपैयाँको सामान निर्यात भएको थियो । आयात घटेको कारण व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा ८ खर्ब २५ अर्ब रूपैयाँको व्यापार घाटा भएकोमा अहिले ८ खर्ब ११ अर्ब रूपैयाँ मात्रै व्यापार घाटा देखिएको छ ।
तर पेट्रोलियम पदार्थको आयात माघमा उच्च रहेको तथ्यांकले देखाएको छ । माघ महिनामा मात्रै नेपालले २७ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको हो । यो आयात नेपालको कुल आयातको २० प्रतिशत बढी हो ।
नेपालले पछिल्लो ७ महिनामा गरेको कुल आयातमा पेट्रोलियम पदार्थले मात्रै २० प्रतिशत हिस्सा ओगटेको छ । लगातार बढिरहेको नेपालको व्यापार घाटामा पनि सबैभन्दा ठूलो हिस्सा यसैको छ । माघ मसान्तसम्मको व्यापार घाटामा पेट्रोेलियम पदार्थ एक्लैले १ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ बराबरको हिस्सा ओगटेको छ ।

यसरी नेपालले औसतमा प्रति महिना २५ देखि २८ अर्ब बराबरको पेट्रोलियम पदार्थ खपत गरेको देखिएको छ । सरकारले नेपालको उच्च व्यापारघाटा घटाउनकै लागि पछिल्लो समय बिजुलीको खपत बढाउने रणनीति अपनाए पनि प्रभावकारी हुन सकेको देखिदैन् । माघ मसान्तसम्ममा नेपालले ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख २९ हजार किलोलिटर डिजेल, ३८ अर्ब ८२ करोड बराबरको ३ लाख ९१ हजार किलोलिटर पेट्रोल र ३० अर्ब ३१ करोड रुपैयाँ बराबरको २९ करोड ८९ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको छ ।

सरकारले नेपालमा उत्पादिन विद्युत खपत बढाउने योजनाअघि सारे पनि घरायसी र औद्योगिक प्रयोजनका लागि आवश्यक बिजुली सम्बन्धित क्षेत्रमा पु¥याउन पूर्वाधार निर्माणमा ध्यान नदिँदा पेट्रोलियम पदार्थको आयात घटाउन नसकेको विज्ञहरुले बताउने गरेका छन् । घरायसी उपभोक्ताको घरमा गरिएको वायरिङले एउटा विद्युतीय चुलो बाल्न नसकिने अवस्था छ । अझ कतिपय स्थानमा बेलुकातिर सबैको घरमा हिटर बाल्दा पनि एकाएक टोलभरकै बत्ती जाने अवस्था आउँछ । यसरी पूर्वाधार नै निर्माण नगरी अर्थात पुरानो संरचनालाई नयाँपन नदिईकनै विद्युत खपत बढाउने र पेट्रोलियम खपत घटाउने योजनाले सार्थकता पाउन नसक्ने अवस्थाले इन्धन आयात घटाउन सकिएको छैन ।

प्रतिक्रिया