नेकपा एमाले निर्वाचनमा नेपालको पहिलो पार्टीका रूपमा देखियो । यस हिसाबले जनताको समर्थन एमालेमा रहेको छ र पार्टी र नेतृत्व सुध्रिने हो भने समर्थन बढ्ने नै देखिन्छ । हिजै पनि जनताले यस पार्टीलाई स्थानीय प्रदेश र संघमा कम समर्थन गरेको होइन तर कतिपय केन्द्र, प्रदेश र जिल्लाका नेताका गैरकम्युनिस्ट चरित्रका कारण हार भएको मैले आफ्नै जिल्ला र नगरबाट अनुभव गरेको छु ।
नेकपा एमाले देश र जनताका विरुद्ध लगातार काम गरिरहेको गठबन्धन सरकारका विरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा जुटेको छ । पातपतिंगर र फोहोरको डंगुर वा थुप्रो लागेपछि सफा गर्न कुचो र खरेटाले सम्भव हुन्न । यसका लागि आँधीबेहरी र हुरी हुन्डरीकै आवश्यकता पर्छ । देशव्यापी जनचेतनामूलक आन्दोलनबिना देशलाई सफासुग्घर पार्न सकिन्न । तर आफैँ भित्रका फोहोर फाल्न पनि ध्यान दिनुपर्छ । कमरेड केपी ओलीले नेपालमा पोलिटिकल कम्युनिस्ट धेरै छन् फिलोसोफिकल वा दार्शनिक कम्युनिस्ट कम छन् भन्नुभएको छ । उहाँका अनुसार कम्युनिस्टका नाममा सही कम्युनिस्ट कम छन् गैरकम्युनिस्ट बढी छन् । त्यसैले एमालेले एमाले भित्र नै गर्नुपर्ने शुद्धीकरण अभियानलाई तत्काल गम्भीर रूपमा ध्यान दिएन भने प्राप्त जनमतको फेरि पनि उपेक्षा गरेको ठहर्नेछ ।
सर्प बिच्छी र भ्यागुता मिलेर गठबन्धन गरे पनि नेकपा एमाले निर्वाचनमा नेपालको पहिलो पार्टीका रूपमा देखियो । यस हिसाबले जनताको समर्थन एमालेमा रहेको छ र पार्टी र नेतृत्व सुध्रिने हो भने समर्थन बढ्ने नै देखिन्छ । हिजै पनि जनताले यस पार्टीलाई स्थानीय प्रदेश र संघमा कम समर्थन गरेको होइन तर कतिपय केन्द्र, प्रदेश र जिल्लाका नेताका गैरकम्युनिस्ट चरित्रका कारण हार भएको मैले आफ्नै जिल्ला र नगरबाट अनुभव गरेको छु । यस्तो प्रवृत्ति अन्यत्र नहोलान् भन्न सकिन्न । यस प्रदेशमा एकल बहुमतको सरकार बनाउन कसैले रोक्ने थिएन र त्यसलाई रोक्ने र छेक्ने केही एमाले नै थिए र छन् र अझै हुनसक्ने देखिन्छ ।
निःश्वार्थ रूपमा काम गरौँ भन्ने नेता र कार्यकर्तालाई काम गर्नै नदिने चरम विकृत चरित्र र चिन्तन खेल देखिन्छ । निर्वाचनमा भिन्न पक्षका कार्यकर्ता र जनतालाई त आकर्षित गरिन्छ र गरिएको छ । तर इटहरी उपमहानगरको विगत नगर निर्वाचनका यस नगरका घरघरमा चिरपरिचित बहुआयामिक प्रभावशाली प्रदेशका संस्कृति विभाग प्रमुखमा समेत व्यक्तित्वले संस्थागत प्रचारप्रसार गर्नै पाएनन्, प्रतिबन्धित भए । यहाँको जनता बहुमुखी क्याम्पसमा कुशल शैक्षिक प्रशासन सञ्चालन गरेका व्यक्तित्वलाई एकाध ठूला भनिएका नेता र नेतीले कालो पर्दाले तिनलाई छेके । उल्टो बिचौलिया पो हावी भए । अन्तर्घाती हाबी भए । यस खालको खोटी, लोभ र लालची प्रवृत्ति घातक बन्यो । यो प्रवृत्ति घनीभूत रूपमा अझै विद्यमान छ । जिल्लामा संगठन भताभुंग छ ।
जात, भात, नाक, नश्ल, थर, गोत्र, नसनाता हाबी छ । आसेपासे मात्रले केन्द्र, प्रदेश र जिल्ला र नगरको राजनीति र राजकीय अवसर पाउँछन् । त्यसैले पहिले आफैँलाई परिवर्तन गरे मात्र समाज परिवर्तन गर्न सकिन्छ । घर नै सफा नगरी नगर सफा हुँदैन । इटहरीका एकाधबाहेक सबै नेता र कार्यकर्ता अनैतिक भन्ने आशयको बेनामे पर्चा काण्डमा केन्द्र र जिल्ला नेताको प्रायोजन र परिचालन भएको थाहा भयो । पर्चा काण्डमा गम्भीर रूपमा आरोपित एमाले महिलाले सुनसरी इन्चार्ज शेरधन राईलाई घेरेपछि उनकै दबाबमा छानबिन समिति बनाइयो ।
आफैँ धामी र झाँक्री भएर कानुन्ची एमाले नेता कमरेडले इटहरीबाट इनरुवाका इन्चार्ज भएका छन् । अदालतमा मुद्दा हाल्न लगाएर अलमल्याउन खोजे पनि फैसला फर्जी पर्चाकार र तिनका निर्देशकलाई दोषी करार गरेपछि मुखुण्डो उत्रियो । हुँदाहुँदा बोक्सीले छौडा खेलाएझैँ गरेर एकअर्कालाई अनर्गल कुरा लगाएर एकअर्कामा बाझो लगाएर हैरान छ । तर कमजोरी उल्लेख गर्दा आरोप लाग्छ र टोपबहादुर जन्मदा धुरु धुरु रुनुपर्छ । सियो चोर्नेले फाली चोर्छ अनि घर फोर्छ भन्ने अलिकति पनि चेत नेतामा नहुँदा जनताले धेरै दुःख पाएका छन् ।
मिथिला पोखरेल र मैले आफ्नो नितान्त व्यक्तिगत स्वार्थ सिद्ध गर्न गर्ने उपाय थाहा नभएर कोशी प्रदेश अधिवेशनमा धर्ना अभियान गरेका थिएनौँ । पार्टीलाई धोइपखाली गर्नुपर्छ, सफा सुग्घर बनाउनुपर्छ भन्ने गल्ती गरेका रहेछौँ । सच्चा सपूतले कमजोरी देखाउँछ चम्चा र चाकरले जय गान मात्र गर्छ र खाल्टो तयार गर्छ ।
मान्छे हुन नसकेका मानिसलाई मानिस बनाउनु आन्दोलनको सार हो । कम्युनिस्ट नामका गैरकम्युनिस्टलाई त्यसको आदर्श सिकाउनु आन्दोलन हो । समग्र पछौटे चिन्तनविरुद्ध आन्दोलन गर्नु अपरिहार्य छ । राजनीति जेठो नीति भएकाले यस आन्दोलन बहुआयामिक अर्थ रहन्छ । अग्रगामी पक्षधरहरू सबै क्षेत्रबाट आमजनतालाई सचेत बनाउने आन्दोलनरत हुन्छन् । प्रतिक्रियावादीहरू सकेसम्म आफ्ना देश र जनता विरोधी काम कदमलाई सकेसम्म ढाकाछोप गरेर आमजनतालाई भ्रमित पार्ने आन्दोलन र अभियानमा निरन्तर क्रियाशील हुन्छन् । नेकपा एमाले गर्ने आन्दोलन समग्रतामा सरकारको देश र जनता विरोधमा केन्द्रित हुन्छ र हुनुपर्छ । ओली सरकारलाई अवैधानिक रूपमा हटाई न्यायालयले सार्वभौम संसद्लाई पूरै उपेक्षा गरी टिके प्रधानमन्त्री र सरकार बनाएको जगजाहेर छ । एमाले बाहेकका अरू सरकार तुलनामा ओली सरकारले गरेका कैयौँ तत्कालीन, अल्पकालीन र दीर्घकालीन कामहरू गरेको जनसमक्ष स्पष्टै छ ।
एमालेको यो विरोध रचनात्मक विरोध हो । विरोधका लागि विरोध होइन । कष्टकर बनाउने सरकार र सत्तालाई झकझक्याउने, खबरदारी गर्ने र दण्डित गर्ने अभिप्राय राखेको हुन्छ । यसले मूलतः जनविरोधी शक्तिका तमाम खालका काला कर्तुतहरू जनसमक्ष उजागर गर्ने गर्छ । सरकारमा हुँदा नै पनि एमाले नेतृत्वको सरकार र पार्टी स्वयंलाई गोयबल्स शैलीको फरेबी प्रचारले एमाले नेता, कार्यकर्ता र जनमतलाई विभ्रमित पारेको थियो र अझै छ । एमाले प्रचार बहुआयामिक र प्रभावकारी र जनव्यापी नबनाउँदा यस्तो हुन्छ ।
२०४६ सालपछि र अझ २०५१ सालदेखि पार्टीले पटकपटक देशव्यापी आन्दोलन गर्दा जनविरोधी सरकारका विरुद्ध जनमत एमाले पक्षमा आबद्ध भएको थियो । गाउँगाउँ र गल्ली गल्लीसम्म पुगेको जनजागरण आन्दोलनले एमालेले गरेका जनप्रिय कामहरू जनसमक्ष स्पष्ट पारेका थियो । पार्टी र नेता कार्यकर्तालाई सिद्धान्तअनुसार परिवर्तित गर्न सुदृढीकरण र शुद्धीकरण अभियान देशव्यापी सञ्चालन गर्दा केही मात्रामा भए पनि स्वस्थ्यता हासिल भएको थियो । अहिले पनि यो अभियान अपरिहार्य भएको छ र त्यो अभियान माथिल्लै तहबाट सुरु गर्नुपर्छ । तर खासै बिग्रेको भत्केको छ्रैन । स्थायी पोलिटब्युरो र धेरैजसो केन्द्रीय सदस्यहरूका कारण कहीँ कहीँ त विकृतिको पश्चिमा पत्रु भेलेन्टाइन वा प्रेम दिवसका अवरसमा फेसबुक र सामाजिक सञ्जाल भाइरल गर्ने नेता कार्यकर्ता लेखक कवि कलाकारहरू एकमुख भएर लाग्ने हो भने चाङ लागेको मैले थाहा पाएको छु । त्यसैले आन्तरिक समस्या हल गरियो र गर्न प्रयत्न गरियो भने स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउन सकिन्छ तर माथिल्लो र केन्द्रीय स्तरका नेता नै अनुशासित नभएसम्म जनताले अत्यधिक मत दिए पनि त्यसलाई समेट्न र सदुपयोग हुने देखिन्न ।
आमजनतालाई समग्रतामा आन्दोलित गर्न यसका बहुआयाममा ध्यान दिनै पर्छ । आवश्यकताअनुसार आक्रामक, संवेगात्मक, कला साहित्यिक आदि रहरलाग्दो, भरलाग्दो आशलाग्दो आकर्षक आन्दोलन तय गर्नुपर्छ । हेरुँ हेरुँ सुनूँ सुनूँ सहभागी हौँ जस्तो लाग्ने विचार केन्द्रित कलात्मक अभिव्यक्ति, अभिभाषण, एउटा प्रभावकारी चित्रकारिता जनविरोधी सरकार विराधी शक्ति हुन्छ । नेपाली र अन्य प्रमुख भाषाहरूका रोचक घोचक रचना आन्दोलनका प्राण हुनसक्छन् । ज्येष्ठ कम्युनिस्ट मञ्चका क्रान्तिकारी भजनहरूको आन्दोलनको अर्को रौनक हुनसक्छ । आन्दोलन सबै उमेर समूहका जनतालाई प्रभावित गर्ने हुनु जाती हुन्छ । आन्दोलनका सभाहरूमा गरिने सम्बोधन कलात्मक तथा प्रभावकारी हुनुपर्छ । मदनले भनेझैँ राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्ने सोच हुनुपर्छ ।
फेरि पनि यस खालको प्रवृत्ति दोहोरिने आशंका प्रबल छ । जात, भात, नाक र नश्लजस्ता विकृत चेत तथा नसनाता हस्हजुरजस्ता चरम विकृति कतिपय नेतामा कुटकुट भरिएको यस लेखकलाई थाहा छ । सबै खालका फरेबहरूलाई यस थुकी नदीझैँ भएर समाप्त पार्न सकिन्छ । अहिले पनि दुई–दुईपटक सदन विघटन गरेको विषयबारै घैँटामा घाम लाग्ने गरी सम्झाउन नसक्दा अधिकांश एमाले केन्द्र र जिल्लाकै अगुवा नेतृत्व अलमलमा परेको झापा, तेह्रथुम सुनसरीलगायत जिल्लाको अध्ययनबाट स्पष्ट हुन्छ । यस बारेको गुह्य अन्तर्य केलाएर भन्दा नेता र कार्यकर्ता यति कुरा पनि बुझाएर भनिदिने सम्झाउने नेता नभएको तिनले मैसित गुनासो गरे । रोग लुकायो अझ रोग बढ्छ र असाध्य बन्छ अनि पार्टी नै धराशायी बन्छ भन्ने कुरा नबुझ्नेहरू पार्टीलाई कमजोर बनाउन उद्यत छन् । पिलोलाई सुमसुम्याएर हुन्न निचोर्नैपर्छ र मात्र निको हुन्छ । यति कुरा नेता सुमन प्याकुरेल थरि नेतालाई थाहा होला ।
प्रतिक्रिया