चेतनाको आवाज

कृति समीक्षा

विमल भौकाजी

‘पृथ्वीलाई मानव अस्तित्व लोप भएको थलोमा परिणत हुनबाट जोगाऊँ भन्ने उद्देश्य…’ लिएर एउटा निश्चित विषयमा रचिएका कविताहरूको सङ्ग्रहको नाम हो– ‘पर्याप्रेमको गुञ्जन’ । यसमा सङ्गृहीत कवि कृष्ण बाउसेद्वारा रचना गरिएका ५२ थान कविताहरू जसले स्पष्टसँग प्रकृतिसँगको प्रेम झल्काउँछन् ।

प्रेम, शब्द नै यस्तो छ कि जसबाट अलग्गिएर बाँच्न कमसेकम यो दुनियाँमा सकिन्न । यसमा अर्को मत नै छैन कि एउटा मान्छेले अर्को मान्छेसँग प्रेम गर्नु स्वाभाविक छ । यति मात्रै होइन, आफूजस्तै प्राणी जो कुनै वर्गको जीवजन्तु होस्– तीसँग पनि मान्छेले प्रेम गरिरहेका हुन्छन् । होला, त्यो प्रेममित्र मान्छेको आफ्नै किसिमको स्वार्थ अवश्यै हुन्छ । गाई, भैँसी, गोरु, खसी, सुँगुर, कुखुरा, हाँस, घोडालाई मान्छेले विभिन्न व्यावहारिक प्रयोजनका लागि– दूध खान, खेत जोत्न, सवार गर्न, मासु खान र मृग, जरायो, बिरालो, कुकुर या विभिन्न प्रजातिका पक्षीहरूलाई सौखका लागि पालेका हुन्छन् । यसभित्र कति प्रेमको अंश होला, त्यसको मापन त ती जीवजन्तुलाई पाल्ने सम्बन्धितहरूलाई नै थाहा होला । यही प्रसङ्गमा तयार भएको छ– पर्यावरणसँगको प्रेम अर्थात् कवितासङ्ग्रह– ‘पर्याप्रेमको गुञ्जन’ ।

यही प्रेममा लिप्त भएर कवि बाउसेका आँखाले देखेको पृथ्वीको सन्त्रासयुक्त भविष्यप्रतिको सचेतता यस सङ्ग्रहमा भेटिन्छ । बडो प्रतीकात्मक पाराले उनी ‘पृथ्वीको चिन्ता’ शीर्षकको कवितामा भन्छन्–

‘उसले

जुवाको खालमा द्रौपदीलाई युधिष्ठरले हारे झैँ

जीवनको खेलमा हार्दै छ मलाई ।…

चिन्ता त के भने

अब कसरी सुन्नु

मैले नै

उसले उसैलाई यसरी भुटिरहँदा निस्कने

उसको पीडाको अन्तिम चित्कार !’

एक कवि, जसको संवेदनशील हृदयले रूखलाई मनपराउँछ, रूखका हाँगा–हाँगालाई मनपराउँछ, पात–पातलाई मनपराउँछ । र, त्यही कवि–दृष्टिले देखिरहेछ– यी सबका क्षय हुँदै गइरहेछ । कवि सोचिरहेछ– फूल नफुलेको दुनियाँ कस्तो होला ? फूलको बास्ना नमगमगाएको दुनियाँ कस्तो होला ?…एउटा सकसको लहराले बेह्रिरहेछ उसलाई, वेदनाको श्वासले निसासिरहेछ ऊ ।

हरियो वनजङ्गलका कारणले नै हो वातावरण सन्तुलित रहने । अराजक रूपले वनजङ्गल मास्ने कार्यलाई कुनै खेलजस्तो खेलिरहने हो भने मान्छेको उपलब्धि आफैँसँगको पराजयबाहेक अरू के हुन सक्छ ? र, यो असत्य हुन सक्दैन– त्यो पराजयले केवल पराजित मात्रै हात पर्दैन सम्पूर्ण मानवजगत्को सर्वनाश निम्त्याउनेछ । जब संसारमा रूख सकिने छन्, बोटबिरुवा सकिने छन्, पानी सकिनेछ; तिनको समाप्तिसँगै तिनमा आश्रित सबै प्रकारका जीवजन्तु–पशुपक्षीलगायतका प्राणीहरू सकिने छन् । त्यस्तोमा रित्तो पृथ्वीको के अर्थ ? पृथ्वी स्वभावतः लोप हुनेछ, नभए पनि निरस त्यस्तो पृथ्वीले सम्भवतः स्वयम् आत्महत्या गर्नेछ । ब्रह्माण्डमा सबैभन्दा राम्रो र सुन्दर पिण्ड शायद पृथ्वी नै हो । कदाचित् त्यो अनुपम सुन्दर आकर्षक पृथ्वी नरहने हो भने सिङ्गो ब्रह्माण्डकै के अस्तित्व ?

पर्यावरणलाई नराम्रो असर पु¥याउने धूलो, धूवाँ, प्लाष्टिक तथा अन्य प्रकारका फोहोरजन्य वस्तुहरूप्रति घृणा जनाउँछन् कवि । त्यस्ता वस्तुहरू प्रयोग गर्ने विकृतपूर्ण कार्यकलापप्रति अत्यन्तै असन्तुष्ट छन् कवि । त्यसैले, व्यङ्ग्यात्मक तवरले ‘हिउँदको स्वागतमा…’ शीर्षकको कवितामा भन्छन्–

‘बस अब मसँगै

नाकमा सिँगान बोकेर !

बस अब मसँगै स्याँस्याँ गर्दै

लगातार खोकेर !

बस अब

मसँगै दम, क्षय र अर्बुदका रोगीले

खाने गोली बोकेर ।’

दुवै विश्वयुद्धहरूमा विश्व कति तहसनहस भयो ? त्यसको सम्पूर्ण तथ्याङ्क अझै पनि समेटिइसकेको छैन । सबैभन्दा बढी जापानका हिरोसिमा–नागासाकीमा परमाणु बमको प्रहारले यति असर पु¥यायो कि दशकौँसम्म त्यो भूमि बाँझो मात्रै बनेन कि भविष्यमा समेत त्यहाँ केही उत्पादन नहुने भयो । तर, विज्ञानको विकासले यस्तो चमत्कार ग¥यो– अहिले हिरोसिमा सम्भवतः संसारकै सबैभन्दा हरियाली शहर भएको छ । ‘हरियो हिरोसिमा’ भनेर नाम नै प्रचलनमा आइसकेको छ ।

वास्तवमा पर्यावरणीय सन्तुलनका लागि मान्छेकै सोचले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । किनभने चेतनाको जब–जब प्रसङ्ग आउँछ तब मनुष्यजगत् नै अगाडि आउँछ । त्यसमा पनि कवि वर्गको सबैभन्दा पहिले नाम आउँछ । प्रस्तुत सङ्ग्रहमार्फत त्यो नामलाई कृष्ण बाउसेले झन् बढी उजागर गरिदिएका छन् । उनका बारेमा प्रा.डा. गोविन्दराज भट्टराई भन्छन्– ‘यतिखेर उनी अन्तर्राष्ट्रिय रङ्गमञ्चमा उठेको एउटा चेतनाको वैश्विक परिवृत्तीय साहित्यको धार पक्रेर कविता लेख्तै छन् ।… यस सङ्ग्रहको लक्ष्यार्थ स्वाथ्र्यान्ध मानवलाई आग्रह, अनुरोध, चेतावनी, धम्की सबै थोक हो; हाम्रो साझा बासस्थलको रक्षा गरौँ भन्ने एक निवेदन हो ।’

सङ्ग्रहका प्रत्येक कविता साँच्चिकै चेतनामूलक छन् । कविताहरू पढ्दै जाँदा धेरै हरफहरूले पाठकको मन जित्न सफल छन् ।

उदाहरणका लागि–

–प्रकृतिले दिएको उपहारमाथि रजगज गर्ने ‘कृतघ्न’ मान्छेलाई प्रकृति प्रश्न गर्छिन्– ‘दिएका हौ तिमीले मलाई कुन अपराधको सजाय ?’

–प्रकृतिसँगको सम्बन्धलाई भुल्नेहरूप्रति कवि आफ्नो प्रथम गुरुमार्फत सल्लाह दिन्छन्– ‘तैँले रूखसँग व्यवहार गर्दा मसँग व्यवहार गरे जस्तै गर्नू !’

–धुर्त मान्छेको कपटप्रति परिलक्षित यो वाक्य कति सटिक छ– ‘कृपया नायक बनाएर खेलाउँछु भन्दै जाल नथाप !’

–एउटा ढुङ्गाको अस्तित्वलाई पनि यतिसम्म स्वीकार्य भाषामा बताउँछन् कवि– ‘ढुङ्गै भए पनि गुडिँदा गुडिँदै बटुवाको सुस्केरासँगै टक्क अडिएर थपक्क एउटा चौतारी बन्न पाए !’

समग्रमा, विश्वभर पानीको सङ्कट चुलिँदै छ । मान्छेको आयु लम्ब्याउने योजनाको नाममा कृत्रिम जलवायु, रसायनिक पदार्थहरूको प्रयोगले मान्छेको जीवन रोगयुक्त र जोखिमपूर्ण बन्दै गइरहेको छ । सन्तुलित पर्यावरणलाई नकार्दै जानुले समाज असन्तुलित हुँदै गइरहेको छ वर्तमान । यसप्रति अत्यन्त चिन्तित भएर कवि कृष्ण बाउसेले आफ्ना कवितामार्फत दिएको यो सन्देशमूललक पुस्तक ‘पर्याप्रेमकेृ गुञ्जन’कोे जति तारिफ गरे पनि कम हुन्छ ।

अन्तमा, सङ्ग्रहभित्रैबाट–

“ए बुलडोजर !

ए दातृराष्ट्र !

ए साहूकार !

सम्बन्ध नै तोड बरु

तर, मेरो परिवेशलाई नधमिल्याऊ !

कृपया मलाई

तिम्रो कथित विकासको जहर नपिलाऊ !”

प्रतिक्रिया