कमान्डरसहित सिंगै युनिट हताहत भयो भने खोजीकार्य, सनाखत र रिपोर्टिङमा ढिलाइ हुँदा सम्बन्धित परिवारलाई सूचित गर्न विलम्ब भएको देखिन्छ । तसर्थ यसरी बुझ्दिनुहोला । लामो समयदेखि सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे जानकारी दिन सम्बन्धित इकाइमा रिपोर्टिङ गरेको छु । केहीको अवस्थाबारे कन्फर्म गरेर सूचित पनि गरिसकेको छु । के गर्नु, युद्ध निर्मम हुन्छ, सबै अवस्थाको सामना गर्नै पर्छ । तथापि कोही पनि निरास नहुनुहोला । मैले भ्याएसम्म सकेजति सहयोग गर्ने नै छु । तर कतिपय भगौडाहरूले फैलाएको तथ्यहीन र अतिरंजित हल्लाबाट प्रभावित–भ्रमित नहुनुहोला ।
हुन त आज रुसमा लेनिनले १९१७ को क्रान्तिपछि स्थापना गरेको समाजवादी सत्ता यथावत त छैन । यद्यपि समाजवादी सत्ताका केही स्थापित मान्यताहरू रुसी सेनाभित्र अभ्यासमै छ । जस्तो कि लेनिनले सुरु गरेको राजनीतिक कमिशारको व्यवस्था यथावत छ । कमरेड भनेर एकापसमा सम्बोधन गर्ने र मुठ्ठी कसेर लालसलाम गर्ने प्रचलनको अभ्यास कायमै छ । अन्य देशको सेनामा जस्तो कमान्डरले सिपाहीलाई विभेद, शोषण र तल्लो स्तरको व्यवहार गर्ने छुट यहाँ कसैलाई छैन । कमान्डर र सिपाहीबीच धेरै हदसम्म समानता छ । अन्य सेनामा जस्तो यहाँको सेनामा कमान्डरलाई दिनमा दर्जनौँपटक सलाम ठोक्न पर्दैन । कमान्डर–सदस्य जसले पहिले देख्छ उसैले अभिवादन गरे पुग्छ । भिन्न अफिसर मेसको व्यवस्था छैन । एउटै मेसमा लाइन बसेर खाना–नास्ता खाने व्यवस्था छ ।
सेनाको व्यवस्थापनको काम राजनीतिक ब्युरो प्रमुखले गर्छ । सैनिक कमान्डरले कुनै पनि शीर्षकमा आर्थिक कारोबार गर्न पाउँदैन । तलब–भत्ता, सेवा, सुविधाबारे स्वदेशी–विदेशी भन्ने ढंगले कुनै विभेद छैन । रुसी महासंघको सैन्य कानुनले निर्दिष्ट गरेको निर्देशिका अनुरूप रुसी सेनाको प्रत्येक सदस्यले समान सेवा–सुविधा पाउने व्यवस्था छ–पाइरहेको छ । अपवादको रूपमा कसै कसैको डकुमेन्ट र बैंक एकाउन्टमा केही विवरण तलमाथि हुँदा केही समय तलब–भत्ता रोकिन्छ । तर, रिपोर्टिङपछि करेक्सन भयो भने नियमित आउँछ । अन्य कुनै कारणले तलब–भत्ता रोकिँदैन, बरु कतिपयको ड्युटी लामोसमयसम्म फोन–नेट नचल्ने ठाउँमा प¥यो र अनलाइन बैंकिङ एप चलेन भने खातामा पैसा जम्मा भएर पनि अपडेट हुन पाउँदैन र तलब आएन भन्ने आशंका हुन्छ र अफवाह फैलिन्छ ।
यहाँको अवस्थाबारे नेपालमा अतिरञ्जित हल्ला फैलाइएको छ । तर, त्यस्तो छैन । सुरुमा मस्कोस्थित रुसी सेनाको केन्द्रीय भर्ती केन्द्रमा आवेदन फाराम भरिन्छ । बैंक खाता खोलिन्छ, साथमा पूर्ण मेडिकल चेकजाँच हुन्छ, त्यसपछि मस्को नजिकै एभनगार्ड र वालाशिख दुई वटा स्थानमा रहेको केन्द्रीय तालिम केन्द्रमा न्यूनतम दुई हप्ता बस्ने व्यवस्था हुन्छ । त्यसबीचमा फिजिकल, फाइरिङ पोजिसन, ब्याटल ड्रिल, ड्रोन एट्याक–डिफेन्स, मेडिकल–क्याजुल्टी रेस्क्युलगायत बेसिक अभ्यास हुन्छ, दुई हप्ता पछि क्रमशः एक प्लाटुन स्तरको संख्यामा पुनः केन्द्रीय भर्ती केन्द्रमा ल्याइन्छ र मेडिकल अनफिट भएकाबाहेक अन्यलाई रुसी सेनाको काम, कर्तव्य, अधिकार, नियम, कानुन, अनुशासन, तलब–भत्ता, सेवा–सुविधाबारे ब्रिफिङ हुन्छ ।
लिखित प्रस्ताव पढ्न दिइन्छ । त्यसपछि चित्त बुझेर सेनामा भर्ना हुन इच्छुक उम्मेद्वारले सम्झौता पत्रमा हस्ताक्षर गर्न सक्छ भने इच्छा नहुने त्यहीँबाट बाहिरिएर सहजै घर फर्किन सक्छ । सम्झौता पत्रमा हस्ताक्षर गरेर आधिकारिक रूपमा सैन्य सेवामा प्रवेश गरेकाहरू त्यहाँबाट तत्काल बस यात्रामा अर्को तालिम केन्द्रतिर रमाना हुन्छन् । सबैभन्दा नजिकको तालिम केन्द्रमा पर्ने चार घण्टा र सबैभन्दा टाढाको तालिम केन्द्रमा पर्ने १८ घण्टामा गन्तव्यमा पुग्छन् । त्यहाँ न्यूनतम दुईदेखि तीन हप्ता सबै खाले अत्याधुनिक हतियार आदिको तालिम हुन्छ । मूलतः फायरिङ अभ्यास हुन्छ । तालिमको अन्तिम रात नाइट फाइरिङ ड्रिल हुन्छ र अर्को दिन साँझ त्यहाँबाट आर्मी ट्रकमा चढेर रुसले कब्जा गरिसकेको युक्रेन भूमितिर रमाना हुन्छ ।
गन्तव्यमा पुगेपछि फेरी अर्को चरणको अन्तिम ट्रेनिङ सुरु हुन्छ । दुईदेखि तीन हप्ता तालिमको अन्तिम रात नाइट फाइरिङ ड्रिल हुन्छ र अर्को साँझ युद्ध क्षेत्रतिर प्रस्थान हुन्छ । युद्ध क्षेत्रमा कसैले आफ्नोे बंकर रक्षाको ड्युटी गर्नुपर्छ । कसैले एम्युनेसन सप्लाई गर्नुपर्छ । कसैले क्याजुल्टी रेस्क्यु गर्नुपर्छ । कोही, आर्टीलरी, डिफेन्ससँगै एसल्टमा युक्रेन पक्षको बंकर आक्रमण गर्दै थप भूगोल कब्जाको लागि अघि बढ्नुपर्छ । निश्चित इलाकामा चार–पाँच दिन नियमित युद्धरिट्रिट, एकहप्ता रिफ्रेस ट्रेनिङ फेरी चार–पाँच दिन युद्धरिट्रिट फेरी रिफ्रेस ट्रेनिङ, फेरी वार क्रमशः यस्तै चलिरहेको छ ।
अहिले रुसी सेना, रुसको नियन्त्रणमा रहेको अति युद्धग्रस्त क्षेत्र मारियोपोल, टकमक, वागमट, जाप्रोजिया, ओदिसा, खार्किभ, खेरसन, लुहान्स, दोनेट्स्क, क्राइमिया आदि क्षेत्रमा परिचालित छ । रुसी सेना अहिले कब्जा गरिएको भूमिको सुरक्षा र सानो स्केलमा थप भूगोल कब्जाको रणनीतिमा छ । युक्रेनी सेना भूमि फिर्ता गर्ने उद्देश्यसहित आक्रमणमा आउँछ । यताबाट प्रतिरोध–मुठभेड हुन्छ । दैनिकजसो दुवैपक्षका दर्जनौँ सैनिक हताहत हुन्छ । ब्याक हुुन्छ, फेरि अर्को दिन आक्रमण–प्रतिरोध हुन्छ । दुवैतिर हताहत हुन्छ । सानो स्केलको नियमित स्थलगत लडाइँ यसरी नै चलिरहेको छ । मुख्य इलाकाहरूमा ड्रोनमार्फत बमवार्ड, लडाकु विमानद्वारा मिसाइल प्रहार, रकेट हमला त दैनिक नै चलिरहन्छ । युद्ध कहिले अन्त्य हुन्छ निश्चित त छैन, तर नाटो गठबन्धनले जति छिटो दबाब सिर्जना गर्छ, त्यति नै छिटो ठूलो स्केलको हतियारद्वारा ध्वंसात्मक युद्ध लडेर लडाइँ सम्पन्न गरिन्छ भन्ने अफिसियल कमान्ड ब्रिफिङ छ ।
रुसी सेनामा आवद्ध भएर दुई–तीन महिनादेखि सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा बढी परिवारजनले आफ्नो मान्छेको अवस्थाबारे केही बुझ्दिनुप¥यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाइरहनुभएको छ । म आफैँ पनि एकहप्ता वार, फेरी रिट्रिट, रिफ्रेस ट्रेनिङ फेरी वार यस्तै व्यस्ततामा रहने हुँदा सबैलाई एक–एक जवाफ दिन सकिरहेको छैन । समग्रमा जानकारी के छ भने, वारमा जानेबाहेक कतिपय जंगल इलाकामा बंकरमा ड्युटी पर्नेहरू रिप्लेस नहुँदासम्म दुईदेखि तीन महिना फोन–इन्टरनेटको पहँुचमा हुँदैनन् । मोबाइल लान पाइन्न मोबाइल एलो जोनमा ड्रम गरेर जानुपर्छ । रिप्लेस भएर फर्केपछि मात्रै फेरि सम्पर्कमा जोडिने अवस्था हुन्छ । तसर्थ नआत्तिनु होला । वारमा जानेको हकमा चाहीँ बढीमा एक महिना सम्पर्कविहीन भयो भने घाइते–अपांग, हताहती वा दुष्मनको कब्जामा समेत पर्न सक्ने अवस्था हुन्छ । युद्धबाट अत्तालिएर भाग्न खोज्दा गिरफ्तार भएर केही समय सम्पर्कविहीन हुने अवस्था पनि छ ।
कहिलेकाहीँ माइन विस्फोट वा बमबार्डमा कमान्डरसहित सिँगै युनिट हताहत भयो भने खोजिकार्य, सनाखत र रिपोर्टिङमा ढिलाइ हुँदा सम्बन्धित परिवारलाई सूचित गर्न विलम्ब भएको देखिन्छ । तसर्थ यसरी बुझ्दिनुहोला । लामो समयदेखि सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे जानकारी दिन सम्बन्धित इकाइमा रिपोर्टिङ गरेको छु । केहीको अवस्थाबारे कन्फर्म गरेर सूचित पनि गरिसकेको छु । के गर्नु, युद्ध निर्मम हुन्छ, सबै अवस्थाको सामना गर्नै पर्छ । तथापि कोही पनि निरास नहुनु होला । मैले भ्याएसम्म सकेजति सहयोग गर्ने नै छु । तर कतिपय भगौडाहरूले फैलाएको तथ्यहीन र अतिरंजित हल्लाबाट प्रभावित–भ्रमित नहुनुहोला ।
वार पिरियडमा सबै कुरा नापे तौलेजस्तो त हँुदैन, वारको सिपाहीले कमान्ड कासनको पालना गर्नैपर्छ । तर, विनाकारण यहाँ कसैले कसैलाई कुटपिट गर्न पाउँदैन । कमान्डरले कुटपिट ग¥यो भने सम्बन्धित इकाइमा उजुरी दिन पाइन्छ । तत्काल कारबाहीको प्रक्रिया अगाडि बढ्छ । समयमै रोलकलमा उपस्थित नहुने, बजार गएर समयमै नफर्कने, तालिममा बिरामीको वहाना गरेर ठग्न खोज्ने, वारमा अघि बढभन्दा पछाडि भाग्न खोज्ने कतिपयले दुई–चार लात्ती खानु स्वभाविक हो । त्यसलाई अन्यथा लिनु हुन्न । वारमा नेपालीलाई मात्रै अगाडि धकेल्छ भन्ने विषय पनि यथार्थ होइन । दुई वर्षदेखि चलेको युद्धमा नेपाली सहभागी भएको भर्खर ६–सात महिना हुँदै छ ।
यो ६–सात महिनाको बीचमा ठूलो स्केलको लडाइँ भएको छैन । झण्डै २२ प्रतिशत भूगोल रुसी सेनाले मात्रै लडेर नियन्त्रणमा लिएको हो । यो ६–सात महिनामा सानो स्केलको लडाइँमा नेपालीहरू सहभागी छन् तथापि सुरुमा नेपाली–रुसीहरूको अलगअलग सेक्सन बनाएर एउटा अभ्यास गरेको थियो । भूगोल, भाषा, युद्ध अभ्यासको अनुभव नहँुदा नेपालीको सेक्सनमा बढी क्षति हुन थालेपछि अहिले रुसी–विदेशी मिक्स गरेर फर्मेसन निर्माण गरिएको छ । अगाडि बढे पनि सँगै, पछि हटे पनि सँगै हो । विविधता छैन । यद्यपि कतिपय युनिट र इलाकामा वेलारुस, ताजकिस्तान लगायतका देशबाट आएका आप्रवासी र रुसी जेलबाट छुटाएर वारमा खटाइएका खुंखार अपराधीहरूसँगै वारमा जाँदा तालमेल नमिल्ने र धकेलाधकेल हुने गरेको चाँही सत्य हो । त्यसको समीक्षा र रिपोर्टिङ वारबाट रिट्रिट भएपछि गर्न पाइन्छ, आवश्यक कारबाही अघि बढ्छ ।
रुसीहरूले बहादुर गोर्खाली भनेर नेपालीलाई निकै सम्मान गर्छन् । अहिले आफ्नो देशलाई युद्धमा सघाउन आएको भनेर निकै माया गर्छन् । जहाँ भेटे पनि अभिवादन गर्छन् । बोलाउँछन्, अँगालो मार्छन् । खानेकुराहरू किनेर दिन्छन् । दुनियाँभर असल मान्छेहरू पनि हुन्छन् र खराब मान्छेहरू पनि । यहाँ पनि एकाध खराब मान्छेले कसैलाई दुव्र्यवहार गर्न सक्छन् । त्यो एउटा विषय भयो, तर समग्रमा रुसी, अझ रसियन सेनाले नेपालीहरूलाई धेरै माया गर्छन् । मैले देखे–बुझेको यति नै ।
(रुसी सेनामा कार्यरत माओवादी पूर्वलडाकु म्याग्देलीको फेसबुकबाट)
प्रतिक्रिया