काठमाडाैं । कोसी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगु संयोजक रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्यसचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईका अनुसार पहिचान पक्षधरको मागबारे औपचारिक छलफल गर्न समिति गठन भएको हो ।
प्रदेशसभा बैठकले गत वर्षको फागुन १७ गते प्रदेशको नाम (कोसी) पारित गरेदेखि पहिचान पक्षधरले पुनः नामकरणको माग गर्दै आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बू (लाजेहाङ)को मृत्यु भएको थियो । वार्ता समिति संयोजक मन्त्री जवेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताए ।
प्रतिक्रिया