इलाम । परम्परागत रुपमा हरेक माघे संक्रान्तीको असरमा इलामको माई र जोगमाई खोलाको संगमस्थलमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा लाग्दै आएको मेला यसवर्ष पनि धुमधामका साथ लागेको छ ।
मंलबारसम्म लाग्ने मेलाको रौनक सोमबार बिहानैदेखि सुरु भएको हो । नदीको पानी बगेको छेउछाउमा मकर नुहाउने र पूजाआजा गर्ने सयौं समूहहरू देखिएका छन् । माईबेनी मेला भर्न इलाम जिल्लाका विभिन्न ठाउँका आउँछन् नै, छिमेकी भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायतका स्थानबाट पनिसमेत भक्तजनहरू आएका छन् ।
भारतीय क्षेत्राबाट आउने भक्तजनहरू माईबेनीमा एक रात बास बसेर मकर नुहाई शिवालयको दर्शन गरेर फर्कने गर्छन् । माईबेनी मेलामा मकर नुहाएर शिवालय धाममा दर्शन गर्ने धर्मावलम्बीहरूका लागि विशेष व्यवस्था गरिएको छ ।
माघे संक्रान्तिको दिन आइपुगेका भक्तजनहरूले माई र जोगमाई खोलाको संगमस्थलमा मकर नुहाएर शिवालयको दर्शनसँगै पूजाआजा गर्ने चलन छ । माईबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ । नजिकै रहेको शिवालयमा सद्वीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ ।
कतिपयले घरको शुद्धिशान्तिका लागि, कतिपयले भाकल पूरा गर्न र कतिपयले चिताएको पूरा गरी माग्न पूजा गर्ने प्रचलन छ । माईखोलामा परेवा उडाउने र भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन् ।
मकर संक्रान्तीको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ । माघे संक्रान्तीका दिन जिल्लाका अन्य मुख्य सहरहरू नै सुनसान हुन्छन् । ती सहरका व्यापारी र ग्राहकहरू सबै माईबेनी मेला पुग्ने गर्दछन् ।
बालबालिकादेखि वृद्धवृद्धासम्म मेला भर्न माइबेनी पुग्ने गर्दछन् । सिजनअनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ । मेलामा सयौँ अस्थायी पसलहरू खोलिएका छन् । ती पसलहरूमा राडीपाखी, गलैँचा, लुगाफाटा, भाडावर्तन, शृंगारका सामग्री र तरुलको व्यापार हुने गर्दछ । त्यसबाहेक स्थानीय कृषिजन्य उत्पादनहरू समेत प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् ।
यो वर्ष माईबेनी मेलामा रमाइलो मेला अर्थात् केटाकेटी खेल्ने साधनहरू पनि राखिएको छ । फराकिलो खेत र खोलाको किनारमा लाग्ने मेला पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै गएको छ ।
तत्कालीन श्री ३ जंगबहादुर राणाका पालामा उनी पुस माघको समयमा इलाम आइपुगेका बेला मकर नुहाउन सो स्थान पुगेका र आफू गएका बेला त्यहाँ मानिसहरू भेला गराउन लगाएको र त्यही भेलादेखि माईबेनी मेला लाग्न थालेको किंवदन्ती छ ।
इलाम
प्रतिक्रिया