३ सय १२ जनाले सुत्केरी पोषण र १ सय ९० परिवारले दाहसंस्कार खर्च पाए

इलाम । इलामको देउमाई नगरपालिकाबाट एक वर्षमा ३ सय १२ जना सुत्केरीले पोषण भत्ता र १ सय ९० मृतकका परिवारले दाहसंस्कार खर्च पाएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा देउमाई नगरभित्र स्थायी रूपमा बसोबास गरेका ३ सय १२ जना सुत्केरीले १५ लाख ६० हजार पोषण भत्ता पाएका हुन् ।

त्यसैगरी चालु आवको पहिलो त्रैमासिकमा १ सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन् । पहिलो त्रैमासिकमा ५ लाख ५० हजार पोषण भत्ता दिइएको लेखाअधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
देउमाई नगरपालिकाले सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमअन्तर्गत सुत्केरीलाई पाँच हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ ।

पोषण भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी रूपमा बसोबासी भएको नागरिक हुनुपर्ने साथै कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए । ‘सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागू गरिएको हो’, नगरप्रमुख पोख्रेलले भने ।

सुत्केरी पोषण भत्ता एक जना महिलालाई दुई वटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराउँदै आएको छ ।
देउमाई नगरपालिकाले चालु आवमा सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ ।

यसैगरी सो गत आर्थिक वर्ष २०७९/०८० मा नगरभित्रका १ सय ९० जना मृतकका परिवारले दाहसंस्कार खर्च प्राप्त गरेका छन् । दाहसंस्कार वापत गत वर्ष ९ लाख ५० हजार उपलब्ध गराइएको लेखा अधिकृत येक्तेनले जानकारी दिए ।

चालु आवको पहिलो त्रैमासिकमा ८९ जना मृतकका परिवारले दाहसंस्कार खर्च लिएका छन् । पहिलो त्रैमासिकमा ४ लाख ४५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।

देउमाई नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

दाहसंस्कार खर्च लिनका लागि मृतक देउमाई नगरपालिकाभित्र स्थायी बसोबासी भएको नागरिक हुनुपर्ने र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ । चालु आवमा दाहसंस्कार खर्चका लागि २० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया