एकल पुरुष, अविवाहित महिला र तेस्रो लिंगीलाई मासिक भत्ता

इलाम । आफ्नो पतिको निधन भएपछि एकल महिलाले संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने केही व्यवस्था छैन ।
तर इलामको देउमाई नगरपालिकाले त्यस्ता पुरुषका लागि समेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित पुरुष, पत्नीसँग सम्बन्ध विच्छेद भई विवाह नगरेको ६० वर्ष उमेर पुगेको पुरुष र पत्नीको मृत्यु भई अर्को विवाह नगरेको ६० वर्ष उमेर पुगेको पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।

देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९÷०८० मा नगरभित्रका २ सय ७ जना एकल पुरुषलाई २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखाअधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।

चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको संख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा १ सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखाअधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा १ सय ९७ जना एकल पुरुषले ५ लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि २८ लाख विनियोजन गरेको छ ।
एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रलले बताए । ‘संघीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले एकल पुरुषलाई पनि भत्ता दिन थाल्यौँ’, नगरप्रमुख पोख्रेलले भने, ‘यसले एकल महिला र एकल पुरुष दुवैलाई जीवन सहज बनाउन थोरैभए पनि सहयोग मिलेको छ ।’

त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेश्रो लिंगीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रो लिंगीलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ ।
गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले १० लाख ५६ हजार पाएका छन् ।
चालु आवमा भने गत वर्षको तुलनामा दुई जना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले २ लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि १० लाख विनियोजन गरेको छ ।
तेस्रो लिंगीहरू भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तनले बताए ।

यसैगरी ‘ग’ श्रेणीका अपांगता भएका व्यक्तिलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा ८१ जना ‘ग’ श्रेणीका अपांगता भएका व्यक्तिले ४ लाख ४६ हजार पाएका छन् ।

चालु आवमा भने १० जना थप भएका छन् । चालु आवको पहिलो त्रैमासिकमा ९१ जना ‘ग’ श्रेणीका अपांगता भएका व्यक्तिले १ लाख ३६ हजार ५ सय भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ‘ग’ श्रेणीका अपांगता भएका व्यक्तिलाई भत्ताका लागि पाँच लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया