पाँचथर । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘देश बनाउने काम एमालेको एकल सरकारले पुरा गर्ने छ । देशको अर्थतन्त्र चौपट छ, युवाहरु विदेशीएका छन्, गाउँ खाली छन्, रोजगारी दिन यो सरकारले सकेको छैन, सरकार गठन हाडाचिन्डाले बनेको छ ठेगान छैन, त्यसैले देश यो सरकारले बनाउन सक्दैन् ।’
उनले आपसी असमझदारीलाई संवादबाट टुंग्याउनुपर्ने उल्लेख गरे । ‘नेपाली समाज विभिधतायुक्त छ,’ उनले भने ‘यस्तो समाजमा असमजदारी र बेमेलहरु धेरै हुन्छन् । असमझदारीलाई बिधि, प्रक्रिया र संवादबाट टुंगो लगाउनुपर्छ ।’
पहिचान पक्षधरले एमालेको कार्यक्रम असफल पार्न बन्द आव्हान गरेको थियो । धनुकटाको लेगुवामा ओलीमाथि अभद्र व्यवहार समेत भएको थियो । उक्त घटनालाई लिएर ओलीको कडा अभिव्यक्ति आउने अनुमान भईरहेका बेला फिदिममा ओलीले नरम भाषण गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै ओलीले देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको उल्लेख गरे । ‘देशको बिकास गर्न एमालेजस्तो राष्ट्रबादी पार्टीले एकल सरकार बनाउनुपर्छ,’ ओलीले भने ‘एकल बहुमत ल्याउन हामीले अर्को चुनाब पर्खिनुपरेको छ ।’ चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई उनले निर्देशनसमेत दिए । ‘गठबन्धनले देशलाई निकाश दिन सक्दैन,’ ओलीले भने ‘देशलाई निकाश दिन एमालेको एकल सरकार हुन जरुरी छ ।’
सम्बोधनको क्रममा उनले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लकमार्गको उद्गमबिन्दु पाँचथरको चिवाभञ्ज्याङलाई आर्थिक नाका बनाउन सकिने उल्लेख गरे । ‘भारतसँग जोडिएको चिवाभञ्ज्याङलाई नाका खोल्न सकिन्छ,’ ओलीले भने ‘त्यसको लागि एमालेले पहल गर्नेछ ।’
एमालेले बैतडीको झुलाघाटदेखि सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ फिदिम आईपुगेको हो । फिदिममा आयोजित बृहत सभामा ओलीको एकल सम्बोधन थियो । सोही क्रममा ओलीले एमाले पाँचथरको पार्टी कार्यालय समेत उद्घाटन् गरेका छन् । मंसिर १४ गते बैतडीको झुलाघाटदेखि सुरु भएको यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ ।
सभामा पाँचथर सहित ताप्लेजुङ, इलाम र झापाका एमाले नेता कार्यकर्ताहरु सहभागि थिए । बृहत सभामा १० हजार मानिसहरु सहभागी भएको एमालेको अनुमान छ । सभालाई एमाले केन्द्रीय सदस्य तथा मन्त्री वसन्तकुमार नेम्वाङले स्वागत मन्तव्य राखेका थिए । मञ्च को सुन्य समयमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, जातजाति कला संस्कृति प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया