विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ मंसिर २६ गते कोसी प्रदेशमा प्रवेश गर्दै छ । कोसी नामकरणको विरोधमा आन्दोलनरत पहिचावादीले पनि त्यही दिनदेखि आमहड्तालसहित कार्यक्रमको घोषणा गरेका छन् ।
जागरण अभियान भनिएको संकल्पयात्रा नरोकिने एमालेले स्पष्ट गरेको छ । जागरण अभियान यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरिएको थियो ।
पाँच प्रदेश छिचोलेर १३औँ दिनमा कोसी प्रदेश टेक्ने अभियानअन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा खोटाङका खुर्कोट, हर्कपुर र हलेसीमा भेटघाट कार्यक्रम तय गरिएको छ । घुर्मी र हर्कपुरमा सभा पनि गरिनेछ । कोसीमा ४५० किमिभन्दा धेरै दूरीको यात्रा र सात दिनसम्म दर्जनौँ स्थानमा कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
तर, ठ्याक्कै जागरण अभियानसँग जुध्ने गरी पहिचानवादीले समेत बन्द–हड्ताल र अरू कार्यक्रम तय गरेका कारण एमाले र ‘कोसी नामविरोधी शक्ति’ आमनेसामने हुने देखिएको छ । यसबाट मुठभेडको अवस्था सिर्जना हुन सक्ने आकलन गर्न थालिएको छ ।
एमाले केन्द्रीय कमिटीको निर्णयानुसार पूर्वघोषित पुष्पलाल (मध्यपहाडी) लोकमार्गकेन्द्रित विशेष अभियान र पहिचावादीको नवघोषित कार्यक्रमका कारण मुठभेडको अवस्था सिर्जना हुन सक्ने देखिएको हो । सोही कारण एमालेले पहिचानवादीलाई आफ्ना कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी वार्षिक कार्ययोजनाअनुरूप अभियान आयोजना गरिएको जानकारी गराइयो । पार्टीका सचिव एवं कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले भने, ‘यो हाम्रो पूर्वनिर्धारित कार्यक्रम हो । तर, हामी कोसी प्रदेश प्रवेश गरेकै दिनदेखि पहिचानवादीले कार्यक्रम गर्नु सुनियोजितजस्तो देखिएको छ । त्यसैले हामी उहाँहरूलाई आफ्ना सबै कार्यक्रम स्थगन गर्न आग्रह गर्दछौँ ।’
आफूहरूले संघीय सरकारसँग समेत सुरक्षा माग गरेको भन्दै बाधा, अवरोध हटाउनुपर्नेमा उनले जोड दिए । ‘छलफलका माध्यमबाट केही असमझदारी भए त्यसलाई हटाउन सकिने तर संकल्पयात्रा रोकिँदैन,’ महासेठले भने, ‘पहिचानवादीभित्र पनि एकमत छैनन् । एकथरीले यस्ता काममा नफसौँ पनि भनिरहनुभएको छ । अब हामी छलफल गर्छौँ । एमालेलाई बाइपास गरेर पहिचानको मुद्दा सार्थक बन्न सक्दैन ।’
एमाले स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले आफूहरूको अभियान नरोकिने बताए । ‘यसो (बाधा) गर्ने नियत हो भने त्यो नक्कली पहिचानवादी हो, अभियान रोकिँदैन । यहीँबाट नक्कली र मुखुन्डोधारीको पर्दाफास हुनेछ,’ राईले भने, ‘हामी छलफल र वार्ताबाट नै समस्या समाधान हुनुपर्ने पक्षमा छौँ ।’
के छ पहिचानवादीको तयारी ?
प्रदेश नम्बर–१ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २५ गतेदेखि सुरु हुने गरी आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअन्तर्गत मध्यपहाडी लोकमार्गको घुर्मी–लेगुवा सडकखण्ड अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । शनिबार सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी घोषित कार्यक्रमबारे जानकारी गराइएको हो ।
पहिचानवादीले घुर्मी–लेगुवा सडक मंसिर २६ गतेदेखि नै ठप्प बनाउने घोषणा गरेका छन् । यद्यपि, यो आन्दोलन एमालेको केन्द्रीय बैठकले तय गरेको कार्यक्रमविरोधी नभएको प्रदेश नम्बर–१ पुनः नामकरण समितिका संयोजक डकेन्द्रसिंह थेगिमको भनाइ छ ।
‘हामीले एमाले अध्यक्ष केपी ओली, नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोसी नाममा हस्ताक्षर गर्ने प्रदेशसभाका ८२ सांसदविरुद्ध कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने ।
प्रतिक्रिया