इलाम । इलाममा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना लागू हुने भएको छ । दसैं, तिहार, छठ लगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
सुरक्षा योजनाअनुसार नेपाल प्रहरीका ५ सय २८ र सशस्त्र प्रहरीका २ सय ९७ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै दुवै प्रहरीका प्रहरी उपरीक्षक कमानडमा दुई वटा कमान्ड पोस्ट रहने, तत्काल परिचालन हुन सक्ने गरी ५० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्डबाइ रहने, मोबाइल गस्ती पाँच वटा, र पैदल गस्ती ४३ वटा रहने प्रजिअ पोख्रेलले जानकारी दिए । त्यसैगरी राजमार्गलगायत सीमा नाकाहरूमा १५ वटाभन्दा बढी चेक प्वाइन्ट सञ्चालन गरिने, राजमार्गमा तीन वटा स्कर्टिङ टोली परिचालन गरिने एवं सुरक्षा संवेदनशील भएका १६ स्थानमा पिकेट खडा गरिने प्रजिअ पोख्रेलले बताए ।
सुरक्षा समितिले सम्पूर्ण इलामेली नागरिकलाई ढुक्क भएर चाडबाडमा सम्मिलित हुन, रमाउन, मनोरञ्जन गर्न तथा प्रेम र सद्भाव साटासाट गर्नसमेत अनुरोध गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय इलामले क्युआर कोडमार्फत सेवाग्राहीको पृष्णपोषण लिने कार्य सुरु गरेको छ । सेवा प्रवाहका बारेमा नागरिकहरूको धारणा, सन्तुष्टिको स्तर र सुझाव सल्लाह प्रविधिमार्फत प्राप्त गर्ने गरी जिल्ला प्रशासनले क्युआर कोडको अभ्यास सुरु गरेको हो ।
सेवाग्राहीले आफ्नै मोबाइलबाट क्युआर कोड स्क्यान गरी प्रस्नावलीमा प्रवेश गरी प्रत्येक प्रश्नको सम्बन्धमा आफ्नो धारणा राख्न सक्नेछन् भने सहजताको लागि विकल्प पनि दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । क्युआरमार्फत कार्यालयबाट प्रवाह हुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको व्यवहार, अतिरिक्त रकम तिर्नु परे नपरेको अवस्थालाई प्रश्नावलीमा समेटिएको छ ।
क्युआरमा कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यसको कारण समेत जान्न पाए÷नपाएको सम्मको अनुभवको आधारमा जिल्ला प्रशासन कार्यालयको समेतको मुल्यांकन सेवाग्राही स्वयंले आफ्नै मोबाइलबाट गर्न सक्ने प्रजिअ पोख्रेलले बताए ।
इलाम
प्रतिक्रिया