कोशीमा सरकार गठनमा उतार–चढाव

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाउने देखेपछि शनिबार राजीनामा दिएसँगै अब अर्को सरकार कसरी बन्छ भन्ने चासो बढेको छ । कोशी प्रदेशमा राजनीतिक खिचातानीकै कारण एक वर्ष नपुग्दै सरकार निर्माणका सबै विकल्पको अभ्यास हुँदैछ । प्रदेश प्रमुखले शुक्रबारसम्मको समय दिएर सरकार बनाउनका लागि दाबी पेस गर्न भनिसकेका छन् ।

नौ महिनामा प्रदेशसभाले ४ वटा सरकार बनाइसकेको छ । शनिबारपछि अन्तिम विकल्पको अभ्यास हुँदैछ । यो विकल्प अर्थात संविधानको धारा १६८ को उपधारा ५ अनुसार बन्ने सरकारले पनि विश्वासको मत नपाए प्रदेश मध्यावधि चुनावमा जानुपर्ने वाध्यतामा पुग्नेछ ।

कार्कीका लागि यसपटक बहुमत पु¥याउने कसरतमा एमाले अध्यक्ष केपी शर्मा ओली नलागेको एमाले स्रोतले बतायो । ‘अन्य दल र केन्द्रसँग विश्वास हासिल गर्ने हाइट उहाँको भएन । केन्द्रबाट पहल भएन । उहाँ (कार्की) लाई त्यसै छोडिदिएको छ । सरकार बचाउने कुरामा केन्द्रबाट केही पहल भएन,’ एक एमाले पदाधिकारीले भने ।

शनिबार राजीनामा दिएका कार्कीको वर्तमान संसदमा दोस्रो कार्यकाल हो । यसअघि कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धब थापा पनि दुईपटक मुख्यमन्त्री बनेर र विश्वासको मत अवैधानिक तवरले लिएर सर्वोच्च अदालतको आदेशले बाहिरिन बाध्य भए ।

अहिले दलहरू कोशी प्रदेशलाई मध्यावधिमा लैजान चाहिरहेका छैनन् । उपधारा ५ अनुसार सरकार बनाउनुपर्ने र विश्वासको मत दिएर मध्यावधि रोक्नुपर्ने सबै दलले बताइरहेका छन् । ‘सेतो हात्ति’ भएको आरोप खेपिरहेका प्रदेशसभालाई मध्यावधिमा धकेल्दा परिणाम थप नकरात्मक हुनेमा दलहरू सचेत छन् । र मध्यावधि चुनावले पुरानो आकार तल पर्ने डरमा दलहरू देखिन्छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका उपसधामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना सांसद छन् ।

प्रतिक्रिया