लमजुङ । बेसीशहर नगरपालिका– १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले आफ्नो पार्टीको समिति गठन गरेको छ । रास्वपाका नगर सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको भेलाले वडाको तदर्थ समिति भदौ ९ गते गठन गरेको हो ।
सोही वडाको बेसीभाचोकस्थित सामुदायिक भवनको सभाहलमा आयोजित सो भेलाको रास्वपाका निर्वाचन क्षेत्र समितिका सदस्य एवं बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाले सञ्चालन गरेको थिए । सो क्रममा उनले स्वागत मन्तव्यसहित भेलाको उद्देश्यबारे प्रकाश पार्दै वडा समिति गठन प्रक्रियाका बारेमा जानकारी दिएका थिए ।
भेलामा निर्वाचन क्षेत्र समितिका अर्का सदस्य एवं सो दलको लमजुङ– काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले आज गठन हुने वडा समितिले वडामा छायाँ सरकारको रुपमा काम गरी खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले रास्वपा देशका लागि केही गर्नका लागि जन्मिएको पार्टी भन्दै यसप्रति विश्वास गर्नुपर्ने उल्लेख गर्दै धोका नहुने बताए ।
रास्वपाका सदस्य पहाडीले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न रास्वपाको आवश्यकता छ भन्ने पुष्टि भइसकेको भन्ने उल्लेख गरे । उनले २०४६ सालमा लौहपुरुष गणेशमानसिंहले प्रधानमन्त्री पदसमेत त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई दिएको स्मरण गर्दै आजका नेताले प्रधानमन्त्री हुनका लागि कति मरिहत्ते गर्ने गरेका छन् ? भन्दै त्यसको कारण भ्रष्टाचारमा लिप्त हुनु हो भन्ने बताए ।
सो अवसरमा बेसीशहर नगरपालिका– ६ का वडासभापति चेतबहादुर भण्डारीले यसभन्दा अघि आफू आवद्ध रहेको पार्टीले कार्यकर्ताहरूलाई भरियामात्र बनाउने, हाम्रा कुरा केही नसुन्ने र नेताहरूको आदेश मात्र मान्न बाध्य गराएको कारणले आफूले स्वतन्त्र पार्टी रोजेको उल्लेख गरे ।
सोही वडा चनौटे निवासी होमबहादुर राउतले यसअघिको पार्टीमा हामीले राखेका मागहरूको पटक पटक वेवास्ता गर्दै हामीलाई तिरस्कार गरेको कारणले हामीले नयाँ बाटो रोज्दै स्वतन्त्र पार्टी अंगालेको पनि बताए । बेसीशहर नगरपालिका– ८ का सभापति ध्रुव ढकालले देशमा व्याप्त बेथितिको अन्त्य गर्नका लागि आफू यो पार्टीमा लागेर वडासभापति भएको उल्लेख गरे ।
त्यस्तै, पूर्णबहादुर पौडेलले आजसम्मका नेताहरूले आफू र आफ्नो घर परिवारमात्र सुधार गरे देश बिगारे, हामी गरिबको कुरा नसुनेको गुनासो गर्दै उनले भूकम्पका बेला गाउँमा नेताका नजिक हुनेले नभत्केको घरको पनि बनाउने खर्च पाएको तर हामी कोही नभएकाले घर पूरै ध्वस्त हुँदा पनि सरकारले दिने घर बनाउने खर्च पाउन नसकेको बताए ।
उक्त भेलाद्वारा ६ जना नगरसदस्य चयन गर्नुका साथै सुलजंग तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपसभापतिमा कृष्ण परियार, सचिव निवास घिमिरे, सदस्यहरूमा बलबहादुुर राना, चन्द्रबहादुर कार्की, प्रित्तम गुरुङ, विष्णुमाया न्यौपाने, कुलबहादुर तामाङ, डम्बरजंग गुरुङ, दुर्गाबहादुर बसौला र कृति खत्री चयन भएका छन् ।
लमजुङ
प्रतिक्रिया