लमजुङ । सदरमुकाम बेंसीसहरस्थित एक घरबाट करिब ११ तोला सुनका गरगहना चोरी भएको छ । दिउँसोको समयमा घरबाट उक्त गरगहना चोरी भएको पीडितको भनाइ छ । बेंसीसहर नगरपालिका ८ ठाडोलाइन नजिकै बालकुमारी घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको बताइएको छ ।
प्रहरीका अनुसार रानीहार ३ तोला ५० लाल बराबरको १ थान, औंठी र टप रानीहारकै सेट १ तोलाको २ थान, मिनीहार १ तोला १५ लाल बराबरको १ थान, सिख्री १ तोला ५० लालको १ थान, चुरीवाला बाला २ तोला ५० लालको १ थान, काकरविया औंठी ५० लालको १ थान, टप २५ लाल बराबरको २ थान, माइली तिलहरी ४० लाल बराबरको र चनद्रमा अन्दाजी १० लाल बराबरको १ थान चोरी भएको उजुरी परेको छ । पीडितले १२ लाख रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको पीडितको गुनासो छ।
बेंसीसहरको जनविकास माविमा शिक्षकसमेत रहेकी घिमिरे शिक्षक महासंघले आयोजना गरेको धर्ना कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइमा गएको र उनका श्रीमान शम्भूप्रसाद घिमिरे (अधिकृत) बेंसीसहर नगरपालिका कार्यालयमा रहेको अवस्थामा गरगहना चोरी भएको थियो । घरमा रहेका स–साना गरगहना चोरले छाडेको र ठूला गहनाहरु लिएर गएको पीडितले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरीमा उजुरी दिएको बालकुमारीले बताइन् ।
यस घटनाको विषयमा बजार भित्रका सुनचादी पसलहरुमा समेत पत्रचार गरिएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया