सुनकोशीमा जिप खस्दा हराईरहेका सिटिभिटीका तीन कर्मचारीको अवस्था अझै अज्ञात

सिन्धुली । शुक्रबार भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको जिप सुनकोशीमा खसेको थियो । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको र तीन जना वेपत्ता भएकोमा उनीहरुको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।

जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताएका थिए । सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको गाडीमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय केसी‚ पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक पौडेल सवार थिए ।

नदीमा बेपत्ताहरुको खोजीका लागि शुक्रबार बाट नै जिल्लाबाट प्रहरी टोली पठाइएको थियो । घाइते चौधरीको खुर्कोट शुभजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भने हराईरहेका तीनै जनाको अवस्था अज्ञात रहेको बताइएको छ ।

प्रतिक्रिया