जब नेवार सक्किन्छन्, तब नेपाल सक्किन्छ

रोशन श्रेष्ठ

ज्ञानमाला भजन र राग गाउने नेवारहरु सक्किएपछि खास्ति भवान्द्यः परिसर अचेल पुरै परिवर्तन भएर बौद्धनाथ परिसर भइगयो, जहाँ ५० वर्ष अघिको असली नेपालको सुगन्ध मेटिइसकेको छ । थुप्रै ठाउँहरु छन् नेपालमा अचेल, जहाँ नेपाल सक्किदै गएको छ, नेपाल जस्तो नै लाग्दैन, किन कि, त्यहाँ नेवार छैनन् अब । नेवार सक्किदै गएपछि नेपाल सक्किदै गएका यी उदाहरणहरुले एक सभ्यता लोपोन्मुख हुँदै गएको संक्रमण देखाउँछ ।

नेपालको राजनीति, प्रशासन तथा न्यायप्रणालीलाइ विदेशी दलालहरुको चंगुलबाट मुक्त गरी नेपालको राष्ट्रिय स्वार्थ आगामी हज्जारौं बर्षसम्म कायम गरी राख्ने हो भने नेपालले वंशजका नागरीकहरुलाइ जोगाउनु पर्छ, संरक्षण गर्नु पर्छ, आरक्षण दिनु पर्छ । ‘यो देशमा जब नेवार सक्किन्छ, तब नेपाल सक्किन्छ ।’ हामीले यसो भन्न थालेको पनि ३०–३५ बर्ष भइसक्यो, र त्यो बिचार फगत फोकटिया फुर्ति थिएन, वास्तविकतामै परिणत हुने अचुक भविष्यवाणी थियो भन्ने मनग्य प्रमाणहरु अचेल हाजिर छ ।

जस्तो कि, रैथाने नेवारहरुको उपस्थिति सक्किएपछि कोटेश्वर–बानेश्वर जस्ता काँठका अधिकांश एरियाहरु अचेल गोरखपुर जस्तो बन्दै गयो । ग्वल बस्तिका रैथाने नेवारहरु ‘पशुपति विकास क्षेत्र विकास’ गर्ने निहुँमा निकाला गरीएपछि पशुपति मन्दिर परिसर अचेल बनारस जस्तो बन्दै गयो ।खला–मख्ला गर्ने रैथाने नेवार साहुहरु बिस्थापित भएपछि असन–इन्द्रचोक जस्ता कोर एरिया समेत अचेल कलकत्ता दिल्ली जस्तो बन्दै गयो ।

महाद्यःया चिकुल गनेय् द्यः या इकुल भन्दै खेल्ने नेवार बच्चाहरु देखिन छाडेपछि मखन, बसन्तपूर जस्तो केन्द्रमा रहेको महादेव मन्दिर परिसर पनि अचेल बोलबम बोलबम को अखाडा बनीगयो । ज्ञानमाला भजन र राग गाउने नेवारहरु सक्किएपछि खास्ति भवान्द्यः परिसर अचेल पुरै परिवर्तन भएर बौद्धनाथ परिसर भइगयो, जहाँ ५० वर्ष अघिको असली नेपालको सुगन्ध मेटिइसकेको छ । थुप्रै ठाउँहरु छन् नेपालमा अचेल, जहाँ नेपाल सक्किदै गएको छ, नेपाल जस्तो नै लाग्दैन, किन कि, त्यहाँ नेवार छैनन् अब । नेवार सक्किदै गएपछि नेपाल सक्किदै गएका यी उदाहरणहरुले एक सभ्यता लोपोन्मुख हुँदै गएको संक्रमण देखाउँछ ।

तर नेपालमा सभ्यता मात्र होइन, देशको अस्तित्व नै पनि अब लोपोन्मुख दिशामा गइरहेको छ । राजनीतिक प्रशासनिक रुपमै नेपालको अस्तित्त्व सक्किदै जाने खतरा आएको छ। त्यो खतरा महशुस गर्दै करीब १८ बर्ष अगाडि मैले लेखेको थिएँ –‘स्वदेशिएका बिदेशी तथा बिदेशिएका नेपालीको संख्या बढ्दै गयो, यो स्थीति आउनु देशको भविष्यको लागि राम्रो लक्षण होइन।’ करीब १० बर्ष अगाडि मैले लेखेको थिएँ –‘वंशजका नागरीकहरु जब सक्किन्छन्, वंशज नागरिकको हक–अधिकारको लागि बोल्ने तागत जब सक्किन्छ, तब नेपाल सक्किन्छ ।’किन कि, जब वंशजका नागरीकहरु सक्किदै सक्किदै जान्छन्, तब, नेपालको सबै सबै स्थान तथा पदहरु समेत नेपालको अहित चिताउनेहरुको हातमा जान्छ ।

लोपोन्मूख प्रजातिलाइ संरक्षण गरे जस्तै वंशजका नागरीकहरुलाइ संरक्षण यदि नगर्ने हो भने हामीले कराउँदा कराउँदै जसरी नेवार सभ्यता समूल नष्टको बाटोतिर लाग्यो, त्यसरी नै नेपालको अस्तित्व पनि समूल नष्टको बाटोतिर लाग्छ लाग्छ, लेखेरै राख्नुहोला । यदि वंशजको नागरिकहरुलाइ संरक्षण गर्नु छ भने, निम्न अनुसारको नागरीकता कानून ल्याउनु पर्छ ।

१. हाल वितरण भैसकेको वंशजको नागरिकता बाहेक बाँकि अरु नागरिकता (अंगिकृत, जन्मको आधार, बुवा वा आमा ठेगाना नभएको नागरिक, आदि नागरीकतालाइ कुनै पनि बहानामा वंशजको नागरिकता मा परिवर्तन नगर्ने ।

२. राज्यका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संवैधानिक निकाय, सेना, प्रहरी, संसद का सर्बोच्च पदहरु तथा प्रदेशका प्रमुख, उपप्रमूख पदहरुमा बसी सेवा गर्न वंशजको नागरिक नै हुन पर्ने नियम ल्याउने ।

२. वंशजको नागरिकता उक्त नागरीकले स्वयम् उपस्थित भइ यथोचित कारण देखाइ परित्याग नगरेसम्म वंशजको नागरिकता खारेज नहुने ।

३. वंशजको नागरिकता प्राप्त गर्नको लागि बुवा र आमा दुबै वंशजको नागरिकता रहेकै ब्यक्ति हुनु पर्ने । वंशज नागरिकले स्वदेशी गैरवंशज वा विदेशी नागरिकसित बिहेगरी जन्मिएका बालबच्चाहरुले वंशजको नागरिकता पाउने हक नरहने ।

४. स्वदेश वा विदेश बसोबास गर्ने वंशज नागरिकको अचल श्रीसम्पत्तिहरु राज्यले कुनै पनि बहानामा नष्ट गर्न नपाइने । निजको सहमति बिना विकास निर्माण वा अन्य कानूनी अर्घेल्याइ तेर्साइ अधिग्रहण, हरण, स्वामित्व बेदखल गर्न नपाइने ।

५. बाबु र आमा दुबै वंशजको नागरीक रहि बिदेश बसोबास गरी बिदेशमै जन्मे–हुर्केका सन्तानको हकमा निजले नेपालको वंशज नागरिकता लिन चाहे निजको नेपाली मातृभाषा बोल्न लेख्न जानेको हुनु पर्ने, निजको नेपाली मौलिक सँस्कृति नत्यागेको हुनु पर्ने ।
यसरी वंशजको नागरिकलाइ आरक्षण र संरक्षण गरिएन भने अब केहि समय पछि यस्तो कथा बालबालिकाहरुले पढ्ने संभावना छ ।

कथा

‘एकादेशमा नेपाल भन्ने देश थियो, त्यहाँ लोभी पापी चोर मतिभ्रष्ट नेताहरुले राज्य चलाउँथे, लहलहैमा लाग्ने जनताहरुको बानीले गर्दा एकपछि अर्को आत्मघाती निर्णयहरु गर्दै जाने नेताहरु सँधै चुनाव जितिरहन्थे । देशको भलाइ हुने कुरामा ती जनताहरुको ध्यान पटक्कै जाँदैनथ्यो ।सना लोग्ने स्वास्नीका झगडा, कलाकारका झगडा, हल्काफुल्का मनोरञ्जनमा नै दिन बिताउन मनपराउथे । किताबै नपढेपनि, विश्वविद्यालय नछिरे पनि आफुलाइ सर्वज्ञानी ठान्थे । पिएचडी गरेका विद्वानहरुलाई आठ फेल नेताहरुले वाहियात वाहियात उपदेश दिँदा पनि जनताहरु नेताको कुरामा थपडी बजाउने र पिएचडी विद्वानलाइ ‘धेरै पढेर पागल भएको मान्छे’ भन्थे ।
विद्वानहरु थरी थरीका उपाय अपनाइ देश छाडेर जान्थे । ‘छाडेर नजाउ, यतै बस, यतै आउ’ भनेर ती विद्वानहरुको विद्वताको कदर गर्नुको सट्टा तिनलाइ ‘देशद्रोही’, ‘राष्ट्रघाती’, ’गद्दार’ भन्दै गाली गर्थे, तिनको नागरीकता खारेज गरेर देश फर्किनलाई समेत भिसा आवेदन दिएर अनुमति लिएर आउनुपर्ने दुव्र्यवहार गर्थे । यस्तो हुनाले त्यो देशलाई बिश्वका सबैभन्दा कम बुद्धि भएको (सबभन्दा मूर्ख) मानिसको देश भनिन्थ्यो । बिस्तारै त्यो देश पतन हुँदै गयो र आज त्यो देशको ठाउँ जस्ता तस्तै छ, तर त्यो देशको मौलिकता र अस्तित्त्व अब इतिहासमा मात्र सिमित छ ।’

के यस्तो कथा पढ्ने पढाइने गरेको अवस्था स्वीकार गर्ने कि ? वंशजको नागरिकलाइ संरक्षण र आरक्षण गरी नेपालको गौरवशाली अस्तित्वलाई जिवित राख्ने ?
यो काल्पनिक कथा असंभव छ भनेर बहस नगर्नुहोला । ग्वल बस्ति माथि खतरा छ भनेर बोल्दा ‘यत्रो हज्जारौं बर्षको परम्परा र संस्कृति बोकेको ठाउँमाथि अतिक्रमण असंभव छ’ भनेर दाबी गर्नेहरुको कमि थिएन । तर जब त्यहाँबाट रैथाने बस्ति हटाइयो, ती दाबी गर्नेहरुका कुरा फेरिए । ‘बस्ति सारेपनि संस्कृति निरन्तरता दिन बाधा हुनेछैन, सरकारले सहयोग गर्नेछ’ आदि इत्यादि भनिए, तर अहिले त्यहाँको संस्कृतिहरु पुरा मासिएर गयो, अस्तित्व खोज्न समेत मुश्किल भयो र ती दाबिकर्ताहरुको सिंङ–पुच्छर सबै गायब भएर गयो । त्यो उदाहरणको कास्टिङ नै काफि छ, पूरा फिलिम कस्तो हुनेछ भनी आँकलन गर्नको लागि कुरा बुझौं मुसुमुसु हाँसौं ।

अनागरीकलाइ वंशजको नागरिकता हक रोक्ने जनताले नै हो । देश बिदेशमा छरिएका जायज वंशज नागरिकका हक अधिकार खोसिदैन भन्ने यदि ग्यारेन्टि भएको भए संसारका १९० देशमा छरिएका नेपाली वंशज नागरिकहरु यो विषयमा चनाखो हुन्थे, ‘खबरदार नावंशजलाइ वंशज नबनाउ’ भनेर कराइरहेको हुन्थे । तर अहिले त वंशज नागरिकता नै खारेज गर्ने कानून छ । एनआरएनहरुले हजार तरिकाले पाउ मोलेपछि बल्लतल्ल चौथो दर्जाको नागरिकता दिन्छु भनियो, तर ‘बहालवाला वंशज नागरिकतालाइ निरन्तरता नदिई नयाँ नागरिकता दिनु भनेको अन्याय हो’ भनेर नेपालमा कसैले पनि चुँइक्क बोलेन, बोलेको छैन, बोल्दैन ।

विदेश पसेका नेपालीले पनि यो विषयमा बो्ल्न चाहेका छैनन्, किन कि जो जो बिदेशमा स्थायी बसोबासको ब्यवस्था मिलाउन असफल छन् उनीहरुलाइ कसरी लामो समय बिदेश बस्ने भन्ने उपाय खोज्दै ब्यस्त छन् । बिदेशमा स्थायी बसोबासको चाँजो मिलाएका नेपाली वंशजहरुको मनमा नेपालको कानूनले गर्ने तिरस्कार गढेर बसेको छ। उनीहरु अधिकांशको दाऊ एउटै मात्र छ,‘नेपालको जायजेथा बेचेर पैसा बिदेश लग्ने ।’

किन यस्तो घटिया सोच ? किन कि, उनीहरुलाइ थाहा छ , नेपाली कानूनले उनीहरुलाइ नागरिकता बेदखल गरेको छ, तल्लो दर्जाको नागरिका खोस्टो कागज देखाएर लगानी–पैसा थुत्ने दाऊ लगाइ बसेका छन् नेपाली नेताहरु । जबसम्म यो अनिश्चितता र अविश्वासको वातावरण कायम रहन्छ, बिदशिएका वंशजले ‘नेपाललाइ माया गरेको’ ओँठे कुरा मात्रै गरीबस्छन् । नेपालका विकृति विसंगति हटाउन कुनै सार्थक लगानी गर्दैनन् ।

नागरिकता ऐन र नियमावली नै देशघाति छ । नागरिकता विधेयक अब ती ऐन÷नियम देशबेचुवा मुठो सावित हुनेछ । नागरिकता विधेयकका पक्षमा आँखा चिम्लेर समर्थन गर्नेहरू मूलवासी वंशजहरू पनि रहेछन् भन्ने त देखिहाल्नु भएकै छ । हो, हामी सबै नेपाली नागरिक पीडित छौं, झन् नेवाःलगायत मूलवासीजत्तिको राजनीतिक, आर्थिकरूपमा पीडित को होला यो देशमा ? तर यसको रोषमा आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका छन्, राजनीतिमा थोरबहुत पकड बनाएकाहरूले समेत । जनयुद्धनायकहरू र भर्खर राजनीतिमा पाइला राखेका ती होनहार र इमान्दार साथीभाइहरूको कुरा सुन्दा उनीहरूले ती ऐन/नियम/विधेयकका एक शब्द पनि पढेका छैनन् जस्तो लाग्छ । चाँडो चेत खुलोस् ।

प्रतिक्रिया